काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले हेटौँडा र मकवानपुरका सैन्य संरचनाहरूको दुई दिने निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ ।
नेपाली सेनाका अनुसार २०८२ भाद्र २० गते प्रधान सेनापति सिग्देलले हेटौँडा स्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले पृतनाको जिम्मेवारी क्षेत्र, त्यहाँको सुरक्षा व्यवस्थापन तथा सैनिक संरचनाबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो । साथै, पृतनामा खटिएका सकलदर्जालाई सम्बोधन गर्दै उहाँले सैनिक अनुशासन, पेशागत दक्षता, भौतिक तयारी र देशको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको रक्षा गर्न सदैव तत्पर रहन निर्देशन दिनुभयो ।
प्रधान सेनापतिले सकलदर्जासँगको सम्बोधनमा नेपाली सेनाको ऐतिहासिक परम्परा, कर्तव्य निष्ठा, जनताको विश्वास र आधुनिक सुरक्षा चुनौतीहरूको सन्तुलनबारे जोड दिँदै जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नहुने बताउनुभयो ।
त्यसैगरी, २०८२ भाद्र २१ गते उहाँले मकवानपुरको चनवन स्थित ७ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले बाहिनीको तयारी, गतिविधि र स्थानीय सुरक्षासम्बन्धी उपायहरूको जानकारी लिनुका साथै सैनिक दक्षता अभिवृद्धि गर्ने खालका प्रशिक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
प्रधान सेनापतिसँग निरीक्षण भ्रमणका क्रममा नेपाली सेनाका अन्य वरिष्ठ अधिकारीहरू समेत सहभागी रहेका थिए ।
नेपाली सेनाले यस किसिमका निरीक्षण भ्रमणहरूले फौजको मनोबल उच्च बनाउन, अनुशासन बलियो पार्न र समसामयिक सुरक्षा चुनौतीहरूको समीक्षासहित आवश्यक रणनीतिक तयारीलाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस