देश दशैं मनाउने तयारीमा थियो, तर गणतन्त्रको नाममा जनता शोक मनाइरहेका छन्। २०८२ भदाै २३ गते सोमबार मात्रै करिब दुई दर्जन नव युवा(स्कुले बच्चाकाे) ज्यान गएको छ, साढे तीन सयभन्दा बढी अस्पतालमा छट्पटाइरहेका छन्। यो नेपाली जनताकाे दुर्भाग्य मात्र होइन-यो सत्ता टिकाइराख्न जनताको छोराछोरीलाई चितामा चढाउने राजनीतिक अपराध हो।
नेपालगञ्जका नरेन्द्र श्रेष्ठका एक्ला छोरा सुलभ राज श्रेष्ठ पनि यही अपराधको सिकार बने। काठमाडौंमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका, भविष्यमा देश बनाउन सक्ने क्षमतावान नव युवा, गणतन्त्रको प्रहरी बन्दुकले मारिए। प्रश्न सोध्नैपर्छ-नव युवा सुलभहरूलाई कसले मार्यो ? विदेशी शत्रुले होइन, आफ्नै भनिएका काँग्रेस, एमाले र माओवादीकै सत्ता संरक्षकहरूले।
आज काठमाडाैं उपत्यका र पुरै देश शाेकमा डुबेकाे अवस्था छ । नेपालगञ्जकाे धम्बोझीको गल्ली शोकमा छ। तर, यो शोक केवल एउटा गाउँको होइन, सारा देशको हो। तर, सिंहदरबारकाे सत्ता मौन छ। काँग्रेस सत्ताको सूत्र कहाँ कसरी बलियो बनाउने भनेर व्यस्त छ। एमाले कसरी सरकार जाेगाउने भनेर खेलाइरहेको छ। माओवादी आफ्नै अस्तित्व बचाउने नाममा छटपटिएकाे छ। तर, सडकमा बगेको युवाको रगतबारे कुनै दललाई चासो रहेकाे महसुस हुन सकेकाे छैन ।
गणतन्त्रका नेता भनाउँदाहरूका छोराछोरी सुरक्षित विदेशमा छन् । उनीहरूको दशैं दुबई र अमेरिकामा रमाइरहेको हाेला। तर, सुलभहरूजस्ता मध्यमवर्गीय र निम्नवर्गीय परिवारका युवाहरू आफ्नै देशमा आफ्नै सरकारको बन्दुकको छर्रामा चितामा चढिरहेका छन्। यही हो त एमाले, काँग्रेसको गणतन्त्र ? यही हो माओवादीले ल्याएको “नयाँ नेपाल” र गणतन्त्र ?
यो केवल सुलभहरूको कथा मात्र होइन, यो पुस्ताको सामूहिक चित्कार हो । यो पुस्ताले बुझिसकेको छ- यस्तै बर्बरताले यो व्यवस्था जनताको लागि होइन, दलका केही नेताहरूको लागि मात्र हो। गणतन्त्र जनताको शासन होइन, काँग्रेस, एमाले र माओवादीको जागीर मात्र भएकाे महसुस जनताले गरेका छन् ।
यदि यी दलहरूले तुरुन्तै आत्मसमीक्षा गरेनन् भने, जेनजीहरूको रगतले तिनै दललाई उस्तै इतिहासको थुप्रोमा फ्याँक्नेछ। सडकमा गोली चलाउने प्रहरीभन्दा पनि बढी दोष काँग्रेस, एमाले र माओवादीको नेतृत्वले बोक्नुपर्छ।
आजको प्रश्न ठाडो छ-यो व्यवस्था जनताको हो कि केही नेताहरूको परिवार र तीन दलको जागीर ?
प्रतिकृया दिनुहोस