• सोमबार-भदौ-३०-२०८२

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी पक्राउ

 

गण्डकी, ३० भदौ । गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये आज साँझसम्म ३९९ कैदीबन्दी पक्राउ परेका छन् । 

 

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीका अनुसार अझै ७९६ कैदीबन्दी फरार छन् । कास्की कारागारबाट ७७३ कैदीबन्दी भागेकामा २२५ जना पक्राउ परेका छन् । तनहुँ कारागारबाट भागेका ३२७ कैदीबन्दीमध्ये ११५ जना, पर्वत कारागारबाट भागेका १९ जनामध्ये नौ जना र म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ५० जना पक्राउ परेका हुन् । 

 

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका ८३ थुनुवामध्ये एक जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताउनुभयो । पोखराको सराङकोटस्थित बाल सुधारगृहबाट भागेका १०६ जनामध्ये १८ जना पक्राउ परेका छन् । बाल सुधारगृहबाट भागेका ८८ जना अझै फरार छन् । 

 

फरार कैदीबन्दीमध्ये केही आफैँ फर्किएको र केहीलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले कारागारबाट भागेका कैदीबन्दीलाई आफैँ फर्कन आग्रह गरिएको बताउनुभयो । “टोल छिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा प्रहरीमा खबर गर्न भनेका छौँ”, उहाँले भन्नुभयो । कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफैँ कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर पक्राउ गर्ने योजना बनाएको छ । 
---

 

प्रतिकृया दिनुहोस