वीरगन्ज । वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।
तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट संक्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना हुने विरामीको संख्या तीन गुणाले वृद्धि भएको हो ।
गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका विरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त संख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार झाडा–पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी नागरिकले पालना नगरेको कारण पछिल्लो समय विरामीको संख्या बढ्दै गएको हो ।
अविरल वर्षाका कारण नालामा पानीको सतह बढ्नुका साथै लिक भएको पाइपलाइनमा दूषित पानी मिसिनु नै संक्रमित बढ्नुको कारण हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन् । उनले भने, ‘विरामीले आवश्यक सावधानी नअपनाउँदा नयाँ संक्रमित थपिँदै गएका छन् भने निको भई घर फर्किएका विरामी समेत फेरि संक्रमित भएर अस्पताल भर्ना हुनुपरेको छ ।’
एक साता अघि नारायणी अस्पतालमा उपचार गराई घर फर्किएकी वीरगन्ज–१२ मुर्लीकी ३५ वर्षीया महिला फेरि झाडा–पखालाबाटै संक्रमित भई अस्पताल भर्ना भएको पनि उनले जानकारी दिए । पुनः संक्रमित भएकी महिलालाई अस्पतालको मेडिकल वार्डमा राखी उपचार भइरहेको छ ।
डा. सिंहका अनुसार नयाँ विरामी बढ्दै जानु र निको भएका विरामी समेत पुनः संक्रमित भई भर्ना हुनु गम्भीर चिन्ताको विषय हो । युवा पुस्ताको आन्दोलनका कारण वीरगन्जका कतिपय सरकारी कार्यालय तोडफोड भई सेवा प्रवाह रोकिएको अवस्थामा झाडा–पखालाका विरामी बढ्नु झन् चिन्ताजनक भएको उनको भनाइ छ ।
वर्षा याममा नालाको सतह बढ्दा लिक भएका खानेपानी पाइपलाइनमा दूषित पानी मिसिने भएकाले झाडा–पखालाको प्रकोप बढ्ने गरेको पनि उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस