• मंगलबार-भदौ-३१-२०८२

सैनिक आवासीय महाविद्यालयमा विद्यार्थी जन्मोत्सव मनाइयो

पोखरा, २०८२ भदौ ३१ गते ।  सैनिक आवासीय महाविद्यालय पोखरामा भदौ महिनामा जन्मदिन मनाउने विद्यार्थीहरूको सम्मानमा विशेष जन्मोत्सव कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल डोलराज श्रेष्ठ तथा प्रमुख व्यवस्थापक अधिकृत प्र.से. महेन्द्र कुमार पुन मगरले संयुक्त रूपमा जन्मोत्सवको केक काटी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

 

कार्यक्रममा बोल्दै प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा उत्साही रहन प्रेरणा दिँदै जन्मदिनलाई जीवनमा नयाँ संकल्पसहित अघि बढ्ने अवसरको रूपमा लिन सुझाव दिए।

प्रमुख व्यवस्थापक अधिकृत पुन मगरले पनि विद्यार्थीहरूको शैक्षिक प्रगति र समग्र व्यक्तित्व विकासमा महाविद्यालय सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै शुभकामना प्रकट गरे।

जन्मोत्सव कार्यक्रमका अवसरमा विद्यार्थीहरूले आफ्ना अनुभव तथा संकल्पहरू पनि बाँडे। कार्यक्रमले विद्यार्थीहरूमा आपसी मित्रता, आत्मबल र शैक्षिक यात्राप्रति प्रेरणा जगाएको सहभागीहरूको भनाइ थियो।

महाविद्यालयले हरेक महिनामा जन्मदिन मनाउने परम्परालाई निरन्तरता दिँदै आएको छ। यसले विद्यार्थीहरूबीच आत्मीयता र सामूहिक संस्कृतिको प्रवर्द्धन हुने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस