• शनिबार-बैशाख-१५-२०८१

प्रचण्ड र ‘रअ’ प्रमुखबीच दुई घण्टा गोप्य 


काठमाडौं । २०७६ साउन ४ गते काठमाडौं उत्रिएर साउन ६ गते स्वदेश फर्किएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालेसिस विङ्ग (‘रअ’)का प्रमुखको काठमाडौं बसाई अत्यन्त व्यस्त र रहस्यपूर्णसमेत रहेको थियो । भारतको राजनीतिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने ‘रअ’ प्रमुख सामन्त गोयलको काठमाडौंको भ्रमणलाई रहस्यपूर्ण बनाउने काम नेपालकै राजनीतिक दलका नेताहरुले गरेका थिए ।

 

काठमाडौं उत्रिएको भोलिपल्ट सा“झ ‘रअ’ प्रमुख सामन्तले नेपालका लागि भारतीय रअ प्रमुख र आफ्ना दुई निर्देशकसहित प्रधानमन्त्री निवासमा नै पुगेर प्रधानमन्त्री ओलीसंग २ घण्टा भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीसंग प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको उपस्थिति रहेको थियो ।


 स्वदेश फर्किनु अगाडि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसंग खुमलटारस्थित उनको निवासमा ‘रअ’ प्रमुख सामन्तले गोप्य भेटवार्ता गरेका थिए । दुई घण्टासम्म चलेको उक्त गोप्य भेटवार्तामा ‘रअ’ प्रमुख सामन्तसंग ‘रअ’ का अन्य दुई जना निर्देशक पनि सहभागी थिए भने नेकपा अध्यक्ष दाहालले भने भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालेसिस विङ्ग ‘रअ’ को यो टोलीसंग एक्लैले दुई घण्टासम्म भेटवार्ता गरेका थिए । 


 नेकपा अध्यक्ष दाहालले ‘रअ’ प्रमुखसहितको तीन सदस्यीय टोलीस“ग एक्लैले तीनघण्टासम्म कुन विषयमा छलफल र वार्ता गरे भन्ने उत्सुकता अहिले उनको पार्टीका साथै काठमाडौंको राजनीतिक र कूटनीतिक क्षेत्रमा व्याप्त रहेको छ । यसैगरी नेकपा अध्यक्ष दाहालले भारतीय ‘रअ’ प्रमुखसंग भेटवार्ता गर्दा आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी र नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारीसमेत गराएका थिएनन् ।

 

यसकारणले गर्दा पनि नेकपा अध्यक्ष दाहालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालेसिस विङ्ग ‘रअ’ प्रमुख सामन्तसहितको टोलीसंगको दुई घण्टा लामो भेटवार्तालाई रहस्यपूर्ण बनाइदिएको र के खिचडी पाक्दैछ भन्ने जिज्ञासा पनि उत्पन्न गराई दिएको छ ।
(२०७६ साउन २० गतेको साँघु साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस