• शनिबार-बैशाख-१५-२०८१

हाकिमको कमाउधन्दाले कलैया नगरपालिका धरासायी : अनिश्चित बन्दै सुरक्षित आप्रवासन 

 

 

बारा । भ्रष्टाचार गर्न नपाएपछि कर्मचारीहरू सरकारका कार्यक्रम नै असफल पार्छन् भन्ने दृष्टान्त बारामा देख्न सकिन्छ । चार स्थानीय तहमा लागु गर्न लागिएको सुरक्षित आप्रवासन कार्यक्रम कलैया उपमहानगरपालिकाको कमिसनको चलखेलले अनिश्चित बनेको छ ।

 


सुरक्षित आप्रवासन कार्यक्रम संचालन गर्नका लागि चार महिना पहिला नै आशयपत्र पेश गरेका बिभिन्न संघ, संस्थाहरूसँग कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनाराण बेल्वासेले कमिसनको मोलमोलाई गर्दैआएका थिए । तर कमिसन असुलीमा कुरा नमिलेपछि उनी कार्यक्रम नै असफल पार्न लागेका छन् । जसका कारण सुरक्षित आप्रवासन कार्यक्रम अनिश्चित बनेको छ ।

 


सुरक्षित अप्रवासन कार्यक्रम संचालन गर्ने इच्छुक संघ, संस्थासँग १५ दिनभित्रमा आशयपत्र पेश गर्न २०७६ असार १९ गते नै कलैया उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको थियो ।

 


कार्यक्रम संचालन गर्नका लागि सातवटा संघ संस्थाले कलैया उपमहानगरपालिकामा आसयपत्र समयभित्र पेश गरेका थिए । आसयपत्र पेश भएका संस्थामध्ये चार महिना बित्न लाग्दा पनि कसैलाई पनि कार्यक्रम संचालन गर्नको लागि छनौट नगरी प्रमुख प्रशासकीय अघिकृत बेल्वासेले कमिसनको खेल शुरु गरेका आशयपत्र पेश गरेका एक संस्थाका अध्यक्षले नाम नबताउने सर्तमा बताए ।

 


बैदेशिक रोजगारमा जानेहरूलाई बिभिन्न खाले सहयोग दिने उद्देश्यले नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच भएको सम्झौता पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलैया, जितपुर–सिमरा गरी दुई उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका र बारागढी गाउँपालिका गरी बाराका चार स्थानीय तहका यो कार्यक्रम लागु गरेका थिए ।

 


 चार स्थानीय तहमा यो कार्यक्रम लागु गरिए पनि कार्यक्रम संचालन गर्नका लागि जिल्लाको सदरमुकाम समेत रहेको कलैया उपमहानगरपालिकालाई संस्था छनौट गर्न जिम्मेवारी दिदा प्रशासकीय अधिकृत बेल्वासेले संस्थालाई छनौट गर्नको लागि शुरुमै २० देखि २५ लाख सम्म कमिसन माग्दा कार्यक्रम अनिश्चित बनेको एक स्थानीय तहका प्रमुखले दुखेसो प्रकट गरेका छन् ।

 


बैदेशिक रोजगारमा जानेहरूलाई छनौट भएको संस्थाले सचेतीकरण, मनोसामाजिक परामर्श र बित्तीय साक्षरता लगाएय विभिन्न खाले सहयोग पुु¥याउनु पर्ने र त्यसको लागि सरकार र दातृ निकायबाट ती संस्थालाई बार्षिक एक करोडदेखि एक करोड ५० लाख रुपैयाँसम्म रकम उपल्बध गराउनेछ ।

 


सुरक्षित अप्रवासन कार्यक्रम गर्दा छनौट भएको संस्थालाई आधा भन्दा बढी रकम बचत हुने भएकोले गर्दा छनौट हुने संस्थाका पदाधिकारीहरूले पनि कमिसन दिने प्रलोभन दिदै आएको कलैया उपमहानगरपालिकाका एक कर्मचारीले बताए । प्रमुख प्रशासकीय हरिनारायण बेल्वासेले कलैया उपमहानगरपालिकामा ३० प्रतिशतसम्म कमिसन असुली गरेर धमाधम कोटेसनमा निर्माण व्यवसायीहरूलाई काम समेत दिने गरेको खबर छ ।

 


त्यसैगरी कलैया उपमहानगरपालिकाले निकाल्ने सूचनाहरूमा पनि बेल्वासेले ३० प्रतिशत कमिशन लिएर बिज्ञापन एजेन्सीहरूलाई ती सूचना राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित गराउने गरेका छन् । तत्कालीन वाणिज्य तथा आपूर्ति विभागमा हुँदा बेल्बासे सुनप्रकरणमा पनि मुछिएका थिए । विभागका निरीक्षण अधिकृतहरूले  बजार अनुगमनको क्रममा व्यवसायीहरूसँग लिएको १०० तोला भन्दा बढी सुन गायब गर्दा बेल्वासेको समेत नाम मुछिएको थियो  ।

 


कलैया उपमहानगरपालिकाकामा सरुवा हुनु भन्दा पहिला बेल्वासे तत्कालीन वाणिज्य तथा आपूर्ति विभागका निरीक्षण अधिकृतको रुपमा कार्यरत रहेको अवस्थामा बजार अनुगमनको क्रममा लिएको सुन व्यवसायीहरूलाई फिर्ता नगरेको आरोप बेल्वासेमाथि समेत लागेको थियो । परीक्षणको नाममा संकलन गरिएको करोडौं रुपैयाँको सुन गायब भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन कमिटी गठन गरेको छ ।

 


विभागका उपसचिव भगवान श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समेत गरिरहेको छ ।

प्रतिकृया दिनुहोस