• शनिबार-बैशाख-१५-२०८१

पशुपति क्षेत्रमा शतबीज उठाउन शुरु

 

काठमाडौं, मङ्सिर १० । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको शतवीज उठाउन शुरु गरेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशीका अवसरमा सोमबार बिहान पशुपति क्षेत्रका मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, वनकालीलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छरिएको थियो । 

 

 हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा धानको सय गेडा छर्ने विधि भए पनि हाल मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छरिन्छ । पहिले जङ्गल हुने पशुपति क्षेत्रमा हाल पक्की संरचना बनेपछि शतबीज उम्रन पाउँदैन ।
 


पक्की संरचनामा शतबीजले नराम्रो देखिने भएकाले उठाउनु परेको कोषले जनाएको छ । पशुपति क्षेत्रमा निरन्तर आन्तरिक एवं बाह्य पर्यटक आउने भएकाले मुख्य मुख्य ठाउँमा छरिएको शतबीज उठाउन शुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।


  
आज मध्याह्नसम्म रुद्रगाडेश्वरसहित मूलमन्दिर क्षेत्रको शतबीज उठाइसकिएको छ । आजसम्ममा मुख्य मुख्य स्थानको उठाइसकिने कोषले जनाएको छ । पशुपति क्षेत्रभर छरिएका शतबीज उठाउन तीन दिन लाग्ने उहाँले सुनाउनुभयो । 

 

 शतबीज उठाउन कोषको नेतृत्वमा नेपाली सेनाको कालीदल गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गणलगायत सामाजिक संस्थाको सहभागिता छ ।
 

प्रतिकृया दिनुहोस