• शुक्रबार-चैत-१६-२०८०

गलेश्वरमा एकैदिन रु पाँच लाख २६ हजार भेटी संकलन 


बेनी, १२ मङ्सिर : म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीका दिनमा मात्रै रु पाँच लाख २६ हजार बढी भेटी सङ्कलन भएको छ । 

 

 पर्वका अवसरमा गलेश्वरको दर्शन, पूजापाठ र शत्बीज छर्न आएका भक्तजनले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका कक्षको शुल्कसमेत गरी रु पाँच लाख २६ हजार १२३ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । 

 

भक्तजनले चढाएको भेटिलाई सुरक्षाकर्मीको रोहोबरमा गणना गरी बैँकमा जम्मा गरिँदै आएको छ । यस वर्षको बालाचर्तुदशीमा गलेश्वरमा अहिलेसम्मकै बढी भक्तजन भित्रिएका कारण भेटी रकम समेत बढी सङ्कलन भएको कोषाध्यक्ष पुनले बताउनुभयो । 

 

कालीगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा सोमबार शत्बीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको थियो । यसवर्षको बालाचर्तुदशीमा आएका भक्तजनको सङ्ख्या अहिलेसम्मकै धेरै रहेको र सङ्कलन हुने भेटी रकमसमेत बढेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

 

 सोमबार बालाचर्तुदशीको अवसरमा गलेश्वरमा ५० हजार बढीले दर्शन तथा पूजापाठ गरेका कोषले जनाएको छ । बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शत्बीज छर्ने चलन छ । शत्बीज छर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की,काठमाडौँ, चितवन, नवलपरासी लगायतका ठाउँबाटसमेत ठूलो सङ्ख्यामा भक्तजन गलेश्वर आएका कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थमा उल्लेख छ । 
–––

प्रतिकृया दिनुहोस