• शनिबार-श्रावण-१७-२०८२

अर्थात जेमन्त : शरदराज गौतम

जनयुद्ध शुरु गर्नु अघि जुन ‘युटोपिया’ बाँचेका थिए, प्रचण्ड 
र, बहुमत आउनु अघि जुन ‘युफोरिया’ पालेका थिए, के पी ओली ।
दुबै बिचमा एउटा महान समानता थियो ।
ती दुबैको लगाब कुनै गहिरो विचारसित जोडिएको थिएन ।
 न त कुनै प्रमाणिक पद्धतिसित नै ।
दुबैसित कुनै गहिरो सोच र अनुसन्धान पछिको निष्कर्ष पनि थिएन ।
दुबै भुँईफुट्टा आकस्मिकतालाई आफ्नो राजनैतिक आर्जन मान्दथे ।
र, बल मिच्याईलाई आदर्श ।
जातजातिलाई राज्य मिल्ने भड्कावा दिएर प्रचण्ड पित्कोमा उँधो लागे ।
वामपन्थको वर्र्गीय टकरावमा पार्टी पंक्तिलाई झुक्याएर फुत्किएको माछो भए, के पी ।
दुबैको यै महान समानताको उत्सर्ग हो, आजको नेपालको राजनैतिक नियति ।
मुलुकको अर्थतन्त्र र राजनीति दुबैसित अब दिने सामथ्र्य कतै क्यै छैन ।
केबल बकबास र हतासाको उत्सर्जन बाहेक ।
यतिखेर, सरकार प्रमुख र पार्टी प्रमुख दुबैको बकबास र हतासपन छोप्न
सूचना प्रविधि, मिडिया र गोपनियता विधेयकहरूबाट विभाजन खोजिंदैछ ।
मुलुकका पहाडि शहर बजारहरू त्यसै पनि हिउँदमा
दक्षिण भिरालोमा लामबद्ध ओरालो बत्तिन्छन् ।
त्यसमा यतिखेर थपिएको छ, आर्थिक उदासी ।
अनिकाल शुरु हुनु अघिको जस्तो सन्नाटा छ, पहाडभरि जताततै ।
जम्बो जेट उडानका संयुक्त पाइलट भएकाहरूसित
न त पार्टी संभालिएको छ, न त सरकार नै ।
यसकै घानमा छ, मुलुकको संविधान ।
विचारघात र विवेक शून्य ।
राजनीतिको घेरामा रहेकाहरू सबैजना टुंगोमा पुग्न खोज्दैछन् ।
यो संविधानले निष्कर्ष दिन सक्तैन भनेर ।
मुलुकको गाउँ भनाउँदो कुनै एउटा बस्तीमा आफूलाई लगेर राखि मात्रै हेर्नुस्
धरोधर्म, तपाईलाई मुलुकको राजधर्म पतित लाग्नेछ ।
र, नेपाली हुनुप्रतिको वितृष्णा ।
दुई वर्षको संघीयताको प्रयोगले स्थानीय सरकारको बेथिती
म अरु त भन्दिन कम्तीमा यो पुस्तासम्मलाई अघाउञ्जेल अभिलेख राख्न पुग्दो छ । 
घर घर र घाट घाटमा गन्हाएको छ, स्थानीय सरकार ।
त्यो पनि सिंहदरबारका व्यभिचारीहरूबाट प्रशिक्षित आफैले चुनेका प्रतिनिधिहरूबाट ।
एउटा भुँई मान्छे जतिखेर पनि गहिरो चोटको बेहोसीबाट बिउँझिदो झै भएको छ ।
पक्का बाँचेकै हो त भनेर ।
पहिलो विश्व युद्धबाट बाँचेर फर्केका भरुवा सिपाहीहरूले
एकपटक क्षतविक्षत बनाएका थिए पहाडको संस्कृतिलाई ।
पहिलो पल्ट तास र रक्सी चौतारी र भट्टीको आदर्श बन्न पुगेको थियो ।
यतिखेर त, टुक्राटुक्रामा विश्रृंरुलित पारेको छ, संघीयताले ।
साराका सारा गाउँको सामाजिक तथा आर्थिक जीवन
बाउको पहिचान नभएको बच्चो जस्तो भएको छ ।
जो देख्यो, त्यै बाउ जस्तो लाग्ने ।
‘बतासे’ ।
बतासे जमातभित्र रहेर हाम्रा दुवै नेताहरू जब मुख चपाउँछन्
भन्न मन लाग्छ,
हन, बतासेको श्रोत कतै तपाईहरू नै त होइन ?
म चाहन्छु त्यस्तो नहोस् ।
तर, मुलुकभित्र धरोधर्म मौसम पनि आफ्नो छैन, यतिखेर ।
अब कता न्यून चापीय प्रभाव पस्छ
सारा अर्थतन्त्र धरासायी ।
लाग्छ, मुलुक अरुले बोकेर ल्याई दिने काल कुरिराख्या छ ।

 

प्रतिकृया दिनुहोस