• बुधबार-बैशाख-१२-२०८१

लकडाउन अवधिको शुल्क लिने निर्णयबाट पछि हट्यो बूढानीलकण्ठ स्कुल 

 

काठमाडौं । सरकारको निर्देशनविपरीत लकडाउन अवधिको शुल्क तिर्न विद्यार्थी र अभिभावकलाई दबाब दिएको राजधानीको चर्चित बूढानीलकण्ठ स्कुल निर्णयबाट पछि हटेको छ । 

 

लकडाउन अवधिमा पनि सामान्य अवस्थामा झै शुल्क लिने नर्णयको चौतर्फी विरोध भएपछि बुधबार विद्यालयले एक सूचना जारी गरेर शुल्कसम्बन्धी पूर्वनिर्णय तत्कालका लागि स्थगित भएकोजनाएको छ । 

 

विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यद्वारा जारी सूचनामा अध्ययनरत विद्यार्थीहरूको शुल्क पेस्कीस्वरूप बुझाउन पठाइएको बिल अर्को निर्णय नभएसम्म स्थगन गरिएको उल्लेख छ । रकम बुझाइसकेको हकमा भने यसबारे निर्णय भएअनुसार हिसाब मिलान गरिने विद्यालयले प्रस्ट पारेको छ । 

 

विद्यालयले लकडाउन अवधिको शुल्क लिने निर्णय स्थगित गरेपछि अभिभावकहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् । 


 

 

 

 

 

 

 

 

युवराज गिरीले फेसबुकमा आलोकाचो निर्णय गरेर विद्यालयले आफ्नो गरिमा घटाएको टिप्पणी गरेका छन् । ‘ देशकै अब्बलमध्येको नामी स्कूलले पनि यस्तो संकटको समयमा विवेक पुर्याएन। साह्रै कच्चा निर्णय गरेर गरिमा घटाउने काम भयो। प्रस्तावका अनेक बिकल्प हुँदाहुँदै अभिभावक केही होइनन् जे भने पनि मान्छन् जस्तो गरी अवमुल्यन गरियो।

 

कम्तीमा एकपटक अनलाइनबाटै भए पनि अभिभावकहरुको विचार बुझ्ने कोसिस गरेको भए आज यो अप्रिय दोश्रो निर्णय सायद गर्नुपर्ने थिएन। गम्भीर बनौ, त्याग सबैबाट हुन सकोस। यो सामान्य अवस्था होइन, बिश्वब्यापी संकटकाल हो।’ 

 

लक्ष्मण घिमिरेले अभिभावक लुट्ने काम गरिएको भन्दै नाजायज बिल नतिर्ने चेतावनी विद्यालयलाई दिएका छन् । ‘ट्युसन फीमा केही छूट गरी खाना बस्न लिने गरेको रकम पूर्ण छूट भए तिरिन्छ नत्र तिरिन्न । ५० प्रतिशतसम्म मनासिव त्योभन्दा हुँदैन । लकडाउनमा शैक्षिक गतिविधि छैन ।

होस्टेल बसेका छैनन् अनि कसरी त्यत्रो पैसा तिर्ने ? भर्नामा लिएको त्यत्रो पैसा को प्रयोग गरी संकट समाधान गरौं अभिभावक लाई लुट्ने काम नगरौं,’ उनले फेसबुकमा लेखेका छन् । 

प्रतिकृया दिनुहोस