• बुधबार-बैशाख-१२-२०८१

कोरोना र बाढीले देश ग्रस्त, कर्मचारी मदिरा पार्टीमा मस्त (भिडियोसहित)

काठमाडौं । एउटा ठूलो हल छ । हलको दुवैतर्फका टेबलका गिलासमा भरी बियर, ह्विस्की र प्लेटमा अन्य परिकार राखिएको छ । उपस्थित डेढ दर्जन बढीले हँसिमजाकका साथ मदिरापान गर्छन् । त्यसपछि हलमा गुन्जिन्छ, पूर्व–पश्चिम रेल...।

 

गीत गुन्जिएपछि नसामा लठ्एिकाहरू हलको खाली ठाउँमा कम्मर मर्काइमकाई नृत्य गर्छन् । वरिपरि बस्नेको काम भने उनीहरूलाई हौस्याउने हुन्छ । यो क्रम केहीबेर जारी रहन्छ ।  

 

ललितपुरको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सभाहलको शनिबार दिउँसोको दृश्य हो यो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपपछि सरकारले फजुल खर्च कटौती र सतर्कता अपनाउन भनिरहेको छ । तर भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका कर्मचारी नै त्यसको उल्लंघन गर्दै मदिरा पार्टीमा मस्तराम बनेको भेटिएको छ ।  

 

असार मसान्तको समापन अवसरमा उक्त कार्यालयका प्रमुख डा. नारायणबहादुर श्रेष्ठले भोज आयोजना गरेका हुन् ।  जसमा अन्य कार्यालयका कर्मचारीलाई समेत आमन्त्रण गरिएको थियो ।

 

बूढानीलकण्ठ नगरपालिकाका पशु सेवा शाखाका काजीबहादुर श्रेष्ठ ,कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. अर्जुन पण्डितलगायतलाई भोजमा निम्त्याइएको सो कार्यालयका एक कर्मचारीले जानकारी दिए । कार्यालयकै डा. रामप्रसाद प्रधानलगायत १ दर्जन कर्मचारी पनि भोजमा सहभागी थिए । 

 

मदिरा पार्टीमा मस्ती गरेको भिडियो कर्मचारीले सामाजिक सञ्जालमा समेत पोस्ट गरेका छन् । जसमा अधिकांशले कर्मचारीको हर्कतप्रति आक्रोस पोखेका छन् ।  यसबारे जानकारी लिन कार्यालयका प्रमुखसँग सम्पर्कको प्रयास गर्दा स्थापित हुन सकेन । 

 

 

प्रतिकृया दिनुहोस