• शुक्रबार-चैत-१६-२०८०

मेरो थोत्रो ज्याकेट देखेर प्रचण्ड–बाबुरामले खिसिट्युरी गरे : लोकेन्द्र बिष्ट

 

काठमाडौं । १० वर्षसम्म सर्वहारा जनताका नाममा क्रान्ति गरेका प्रचण्ड र बाबुराम भट्टराईले आफ्नो पहिरनलाई लिएर मानमर्दन गरेको गुनासो पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले गरेका छन् । 

 

शान्ति प्रक्रियामा आएको ३ वर्षपछि पोखरा एयरपोर्टमा प्रचण्ड र बाबुरामलाई भेट्न जाँदा आफूले थोत्रो ज्याकेट लगाएको र त्यो देखेर दुवैले लज्जावोध गरेको मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् । 

 

आर्थिक अभावका कारण पुरानो ज्याकेट लगाउन बाध्य आफूलाई लगाउन, खान र चल्न नजान्ने भन्दै हुर्मत काडिएको पूर्वमन्त्री मगरको भनाइ छ । 

 

‘एक दिन पोखरा एयरपोर्टमा क. प्रचण्ड र क. बाबुरामसँग थिएँ । भीआईपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरूलाई लज्जाबोध भएछ क्यारे मुन्टो निहु¥याएर कुरा गर्नुभयो,’ मगरले पुरानो स्मृतिको पाना पल्टाउँदै फेसबुकमा लेखेका छन्, ‘मैले नसुनेझैं सुनिरहेँ कान थापेर । मलाई नमिठो लाग्यो ।’

 

आफ्ना आदर्श नेताले नै आदर्शको खिलाफमा खिसीटियुरी गरेको सुनेर आफूलाई चक्कर लागेको उनले उल्लेख गरेका छन् । प्रचण्ड–बाबुरामको यस्तै गतिछाडा हर्कतका कारण विरक्त भएर आफूले सक्रिय राजनीतिबाट बिदा लिएको उनले प्रष्ट पारेका छन् । 



‘आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार कडा परिश्रम... हाम्रा आदर्श थिए । पार्टी आदर्श र नीतिभन्दा बाहिर जानु मर्नुजस्तो थियो । आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफमा खिसिट्युरी गरेको सुनेर भोगेर भन न न न ... चक्कर आयो ।

 तर,  सम्हालिएर बसेँ र अडिएँ,’ बिष्टले फेसबुकमा लेखेका छन्, ‘यस्ता चक्कर र घनचक्करहरू दर्जनौं भोगियो । अनि लाग्यो मेरो पार्टी आदर्श त उहिल्यै सकिएछ । म उल्लु रहेछु । धत् मोरा भनेर आफैंलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो ।’


 

प्रतिकृया दिनुहोस