• शनिबार-बैशाख-१५-२०८१

छिमेकी दुई देशको चलखेल बढ्दा नेपाल कहाँ पुग्ला ? 

 

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले गर्दा अहिले नेपाली राजनीतिले कुन मोड लिन्छ भन्नेमा अन्योल छ । भारी बहुमतसहित सरकारमा रहेको नेकपामा कुर्सीको विवादले गर्दा स्थायी कमिटी बैठक पटक पटक सर्दै आएको छ । बैठक २०७७ साउन २ गतेसम्मका लागि फेरि सरेको छ । नेकपा स्थायी समितिको बैठकमा केही सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार र पार्टीको नेतृत्व छाड्न दिएको दवावले नयाँ मोड लिएको छ । त्यसबीचमा चीन पनि नेपाली राजनीतिमा छिरेको छ । चिनियाँ राजदूतको सक्रियताले कतै पछिसम्म अप्ठेरो पार्ने त हैन भन्ने आशंका पनि बढेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीचको एकताका लागि भूमिका खेलेको भनिएको चीनले पार्टी अप्ठेरोमा पर्दा पनि सक्रियता देखाएको चर्चा कूटनीतिक र राजनीतिक क्षेत्रमा चल्ने गरेको छ । यिनै सन्दर्भमा रहेर नेपालको परराष्ट्र नीतिमा केन्द्रित रही राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसंग कुराकानी गरेका छौं–सम्पादक)


० नेपाली राजनीति कसरी अगाडि बढेको पाउनु भएको छ ?
–नेपालको राष्ट्रवाद नयाँ दिल्ली र बेइजिङमा गएर अड्न थालेको छ । एकथरी प्रधानमन्त्री हुनुुहुन्छ मलाई भारतले हटाउन खोज्यो भन्नुहुन्छ । चिनियाँ राजदूत अहिले नेताहरूका घरघर पुग्नुभएको छ । उहाँ वर्तमान सरकारलाई टिकाउनका लागि आइराख्नुभएको छ भन्ने छ । भनेपछि दुई वटा छिमेकी मित्रराष्ट्रहरूको क्रिडास्थलको रुपमा, उनीहरूको स्वार्थको अन्तरसंघर्ष छ । त्यसको क्रिडास्थलको रुपमा नेपाल विकसित भएर गएको छ । 


० नेपालको राजनीति  नेपालीको हातमा छैन र ?
–वास्तवमा अहिले नेपाल नेपालीको हातमा छ कि दुई विदेशी छिमेकी राष्ट्रहरूको हातमा छ भन्ने कुरा शंका लाग्ने भइसक्यो । यही हो त नेपालको राष्ट्रियता भनेको ? नेपालको राष्ट्रियतामा नेपाली नै हराउने अवस्था आइसक्यो । नेपाल खोज्न नेपालभित्रै कहाँ जाने भन्ने अवस्था आइसक्यो ।  यत्रो बहुमतको सरकार पनि कसले टिकाएको छ भन्ने प्रश्न खडा भइसक्यो । हाम्रो सरकार नयाँ दिल्लीले टिकाएको हो कि बेइजिङले टिकाएको हो कि । अथवा कसले हटाउन खोजेको छ । नेपाललाई आज राष्ट्रवादी भन्नेहरूले यस्तो स्थितिमा पु¥याएका छन् । यही अवस्था  नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण हो । 


० प्रधानमन्त्री ओलीले दिल्लीले उहाँलाई हटाउन खोजेको भन्ने भनाइमा सत्यता देख्नुहुन्छ ?
–त्यही त प्रधानमन्त्रीले त्यो भन्नुभएको छ । तर जब लिम्पियाधुराको नक्साको कुरा आयो सबै नेपालीहरूले त साथ दिएकै हो नि त । त्यो बेलामा दिल्लीको कुरा पनि कसैले सुनेन होला । बेइजिङको कुरा पनि कसैले सुनेन । सारा नेपालीले, नेपाली दलहरूले, प्रमुख प्रतिपक्षीले, हामीले र मधेशी दलहरूले पनि ठीक कुरालाई साथ दिएको हो नि । ठीक कुरालाई साथ दिएको चाहिं ठीक । तर आन्तरिक झगडालाई मिलाउन नसकेपछि मलाई दिल्लीले हटाउन खोज्या छ भनेर प्रधानमन्त्रीले भन्ने अनि त्यसपछि उहाँलाई बचाउनको निम्ति अर्को देशको राजदूत लाग्ने, घरघर पुग्ने, यस्तो स्थिति आइसकेपछि नेपालको राष्ट्रियतालाई नै उहाँले एउटा सानो सत्ता खेलका लागि हतियारको रुपमा प्रयोग गर्न थाल्नुभयो । नेपालको सार्वभौमिकता र नेपालको परराष्ट्र नीतिलाई नै आफू सत्तामा अड्नका लागि नेकपाका सबै नेताहरूले हतियारको रुपमा प्रयोग गर्न थाल्नुभयो । 


० हाम्रो परराष्ट्र नीति नै यस्तै, हैन ?
–एउटा यस्तो अवस्था पनि थियो, जुन बेलामा शीत युद्ध थियो राष्ट्रमा । नेपालले चीन, भारत, रुस, अमेरिकासित पनि सहयोग लिएको थियो । सबै राष्ट्रसित विश्वास लिएर एउटा रणनीतिक सन्तुलन कायम राखेर नेपालको परराष्ट्र नीति  अडेको थियो । अहिले नेपालको परराष्ट्र नीति भनेको एउटा पार्टीको एउटा फ्रयाक्सनलाई एउटा देशले समातेको भनेर आरोप आउँछ । अर्को फ्रयाक्सनलाई अर्को पार्टीले समात्यो भनेर आरोप आउँछ । र, प्रधानमन्त्री जस्तो पदको मान्छेले मलाई फलानो देशले हटाउन खोज्यो भनेर आरोपका आरोप लगाउने अनि खुलेआम आलोचना गरेर हिँड्दाखेरि नेपालको परराष्ट्र नीति कहाँ पुग्या छ त अहिले । कसको हितको लागि यो ?


० चिनियाँ राजदूतको भूमिकालाई के भन्नुहुन्छ ?
–एउटा महाशक्ति राष्ट्र केपी शर्मा ओलीलाई बचाउन भनेर हिँड्ने । अर्को महाशक्ति राष्ट्रले हटाउने भनेर भन्ने । नेपालको सरकारलाई बचाउने र अडाउने भन्ने नेपाली जनताको हातमा त रहेन नि अब त । नेपालको संसदले पनि भएन । दुईटा देशको स्वार्थ, भागबण्डाको स्थितिमा नेपाललाई पु¥याउनु भनेको चाहिं यो नेपालको राष्ट्रियता र अस्तित्वलाई नै संकटमा पार्ने कुरा हो । उहाँहरूले नेपाललाई ठूलो संकटमा लैजान थाल्नु भएको छ । आफ्नो स्वार्थको लागि नेपाल र नेपालीको स्वार्थलाई तिलाञ्जली दिएर उहाँहरू लाग्नुभएको छ । यो राष्ट्रलाई दुई वटा शक्ति राष्ट्रहरूको खेलको अखडा बनाइरहनु भएको छ । यस्तै भएको हुनाले पहिले संसारमा अफगानिस्तान भएको हो । त्यहाँको सन्तुलन कायम गर्न नसक्दाखेरि देश बिग्रेको हो । हाम्रो देशलाई नेकपाका नेताहरूले त्यही थितिमा पु¥याउँदै हुनुहुन्छ । 


० चिनियाँ चलखेल बढ्नुको दोषी को ?
–चलखेल बढाउने जब वातावरण तपाई बनाउनु हुन्छ, एकले अर्कालाई चलखेलकै लागि गाली गर्न थाल्नुहुन्छ, एकले अर्काको सहयोग लिन थाल्नुहुन्छ र एउटा पक्षले एउटाको सहयोग लिएर अर्को पक्षलाई गाली गर्न थाल्नुहुन्छ त्यसो गर्दा सत्तामा अड्नका लागि उहाँहरूलाई जनता चाहिएन । विदेशीहरू भए पुग्यो । एउटालाई एउटा विदेशी र अर्कोलाई अर्को विदेशी । एउटा विदेशी राष्ट्रले अडाउन खोज्ने र अर्को विदेशी राष्ट्रले हटाउन खोज्ने । यदि यही यथार्थ हो भने यो सरकारलाई नेपाली जनताको मतलबै भएन अब । त्यो स्थितिमा नेपाललाई पु¥याउन खोज्दै हुनुहुन्छ उहाँहरूले । 


० अब के होला त ?
–नेपालमा दलहरूको सिद्धान्त नै छैन । नेपाल कम्युनिष्ट पार्टीको त झन् कुरै नगरौं । उहाँहरूको त झन् केही पनि छैन । सर्वहारा वर्गको पार्टी भन्नुभएको छ । देशमा देखिहाल्नु भएको छ जनताको कुन स्थिति छ भनेर । दलहरूको एउटै सिद्धान्त भनेको सत्ता हो । सत्ताको लागि जे पनि गर्ने र सत्तामा गएर राष्ट्रलाई दोहन गर्ने प्रवृत्ति बढेको छ । जब यस्तो खालको राजनीति बढेर जान्छ त्यो बेलामा देशमा अराजकता र अशान्ति मौलाएर जान्छ । सत्तामा रहे पनि नरहे पनि जनता सडकमा उत्रने दिन आउँछ कुनै दिन । जनता कुनै पनि बेला ठूलो समूहमा रहेर उठ्ने दिन आउँदैछ । त्यो बेलामा अशान्ति र अराजकताका साथै दुई वटा देशहरूको स्वार्थ पनि छर्लङ्गै हुनेछ । दुई देशबीच चलखेल बढ्दा नेपाल कहाँ पुग्ने ? त्यही स्थिति छ अहिले । 


० जनताले नै रोजेको सरकार हो । फेरि जनता सडकमा आउलान् र ?
–सडकमा त उत्रिनै राखेका छन् । हजारौं युवाहरू सडकमा उत्रेका छन् । अहिलेको स्थिति हेर्दा कहाँ छ सरकार ? यत्रो संकट चलिराखेको छ । कोभिडको संकट छ । आर्थिक संकट छ । मानिस खान नपाएर भोकभोकै मर्ने स्थिति छ । उहाँहरू सत्तामा को बस्छ र को बस्दैन, कुन देशबाट सहायता लिने र कुन देशलाई गाली गर्ने भनेर लागिरहनु भएको छ । उहाँहरूको दृष्टिकोण अहिले नेपाली जनताप्रति छ छैन । उहाँहरूका लागि त नेपाली जनता त अहिले पिक्चरमै छैन । नेपालका गरीब, दुःखी कोही पनि छैनन् उहाँहरूको पिक्चरमा । उहाँहरू त अहिले सत्तामा मात्र हुनुहुन्छ । यस्तो अवस्थामा जनता सडकमा त आइसकेका छन् अब अलि ठूलो भीड जम्मा गर्नेवाला छन् । 


० प्रधानमन्त्रीको बचाउ गर्न सडकमा आएका हैनन् र जनता ?
–उहाँले पनि सडकमा जनता ल्याउनु होला । उहाँ आफै प्रधानमन्त्री भएर बस्नुभा’छ । त्यत्रो सत्तामा बस्नुभा’छ । त्यत्रा मन्त्री लिएर बस्नुभा’छ । दुई चारसय जनता त उहाँले पनि सडकमा ल्याउनु होला । 


० सडकमै दुईथरि जनता ?
–यही स्थितिले भोलि भिडन्त नहोला भन्न सकिन्न । भोलि भिडन्त हुने नै यसरी हो । सबैभन्दा खतरनाक कुरा के हो भने नेपालको परराष्ट्र नीति स्वतन्त्रता र सार्वभौम रक्षा गर्ने एउटा ठूलो अस्त्र हो । त्यो परराष्ट्र नीतिले भारत, चीन र अमेरिकाले नेतृत्व गरेको पाश्चात्य मुलुकसंग रणनीति कायम गरेर जान सक्नुपर्ने हो । उहाँहरूले त्यो गर्न सक्नु भएको छैन । 


० परराष्ट्र मन्त्रीको भूमिका पनि कमजोर भयो भन्न खोज्नुभएको ?
–परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भूमिका भन्दा पनि प्रदीप ज्ञवाली के हो भन्ने भइसक्यो । कहाँ हराउनु भयो उहाँ त ? हराएको जस्तो लाग्छ मलाई । अहिले अब त को मन्त्रीको के अस्तिव छ र । 


० नेकपाको विवाद मिल्ने देख्नुहुन्छ ?
–त्यसको लागि दुईवटा ठूल्ठूला राष्ट्रहरूमध्ये कसको दवाव कहाँ पर्छ त्यसैअनुसार भर पर्छ । नेपाली जनता र पार्टीको बीचमा पनि छैन अब । 


० नेकपाको राजनीति भारत र चीनको हातमा गएकै हो ?
–हो । अप्रत्यक्ष रुपमा गएको छ । किनकि सिद्धान्तविहीन पार्टी भयो । नेपाली जनताप्रति चासो नै छैन । नेकपा त सत्ताकै छिनाझप्टी र दौडमा छ । अहिलेको प्राथमिकता त सत्ता र सम्पत्तिमात्र भएको छ । त्यसकारण हाम्रो राजनीति विदेशीको हातमा जाने स्थिति देखा पर्दैछ । 
 

प्रतिकृया दिनुहोस