• शुक्रबार-चैत-१६-२०८०

काठमाडौंको खुला आकाशमा बेसाहराकाे विचल्ली, न गाँस छ, न बास 

दर्जन बढी दिनहीन जीवन बिताइरहे पनि सरोकारवाला बेखबर 

काठमाडौं । गत चैत ११ गते अघि नै सागर कार्कीले कोरोना भाइरसबारे सुनेका थिए । विश्वव्यापी महाव्याधिबारे सुने पनि होटलमा काम गरेर गुजारा चलाइरहेका उनले सोचेका थिएनन् कि रगत र पसिना बगाएर काम गरिरहेको होटलले नै संकटको बेला निकालिदिने छ ।

तर भइदियो नसोचेको । हिजोसम्म भगवानजस्ता लाग्ने साहुजी एकाएक बदलिए । संकटको बेला साहरा दिनुपर्नेमा उल्टै रित्तोहात होटलबाट निकालिदिए ।

‘काम गर्दा त साहुजी विवेकशील लागेको थियो,’ निन्याउरो र थकित अनुहारमा केही ऊर्जा भरेर उनी बोले, ‘तर म भ्रममा रहेछु । संकटका बेला सामान्य मानवीय समवेदना पनि देखाएनन् ।’

टेक्ने खलबाट निकालिएपछि धर्मसंकटमा परे, सागर । घर जाऊँ सवारी साधन चलेका छैनन् । नजिकै भए पैदलै सकस गर्थे होला । तर उति टाढा कसरी जानु ?

भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्की आउने हो कि होइन केही थाहा छैन...


स्वरसम्राट नारायण गोपालले कसलाई हेरेर यो गीत गाए, थाहा छैन । सायद सागरलाई देखेको भए नारायण गोपालले गाउने थिए होला– आज उठी कहाँ जाने केही थाहा छैन ।

उनी निकै भौतारिए वरिपरि । कुनै उपाय चलेन । हरेस खाएर बसपार्कमा मुन्टो लुकाउने ठाउँको खोजीमा लागे । त्यही क्रममा बसपार्क पछाडि आश्रय लिन पुगे । 

लकडाउनपछि ‘घर न घाट’ हुने सागर एक्ला व्यक्ति होइनन् । उनीजस्ता कैयन लकडाउनदेखि विष्णुमतिको खोलाको तिरमा रहेको आपतकालीन टहरामा दिनहीन जीवन बिताउन अभिशप्त छन् । अलपत्र अवस्थामा बसपार्क पछाडि रहनेमा विभिन्न किसिमका श्रम गर्नेहरू छन् । यीमध्ये कतिपयको बाबुआमाको समेत अत्तोपत्तो छैन । 

‘पालैपालो सुतेर निद्रा पु¥याउँछौं’

आइतबार हाम्रा प्रतिनिधि त्यहाँ पुग्दा ५ जना थिए । च्यातिएको पालमुनि लकडाउनदेखि नै कष्टकर जीवन बिताइरहेको विक्रमले बताए । 

‘पालमा हामीसँग सुत्ने त सामग्री त परको कुरा कहिलेकाहीँ खुट्टा राख्ने ठाउँसमेत हुँदैन,’ विक्रम भन्छन्, ‘दर्जन बढीका लागि पुरानो च्यातिएको २ थान फर्म, २ थान तन्ना र त्यतिकै संख्यामा ओढ्ने छन् ।’ स्थान अभावका कारण रातभर एकै ठाउँमा गुडुल्किएर बस्ने उनीहरू पालैपालो सुत्ने गरेका छन् । 

पीडितलाई फाउन्डेसनको मल्हम |

पालमा बेसहारा जीवन बिताइरहेकाहरू सुरुमा भोकै रहे । तर उनीहरूको दुःखमा कसैले साथ दिएन । अहिले भने अभिमानसिंह फाउन्डेसनले उनीहरूलाई खाद्यान्न सहयोग गरिरहेको छ । केही समयदेखि खाद्यान्न सहयोग गरे पनि बसोबासको उचित प्रबन्ध गर्न भने नसकेको फाउन्डेसनका अध्यक्ष सुदीपमान सिंहले बताए । सरोकारवालाहरूसँग उनीहरूको व्यवस्थापनका लागि आग्रह गरे पनि कतैबाट सहयोग प्राप्त नभएको सिंहले गुनासो गरे । ‘समस्यामा परेका उनीहरूलाई खाद्यान त सहयोग गर्न सक्यौ, तर व्यवस्थित बासको व्यवस्था गर्न भने सकेका छैनौं,’ सिंहले भने, ‘सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि उनीहरूले निराश बनाउँदै आएका छन् । 

जीपी प्रतिष्ठानका अध्यक्ष तथा अभियानसिंह फाउण्डेशनका सल्लाहाकार रामप्रसाद अधिकारी बेसहारा जीवन ज्युन बाध्य उनीहरूको व्यवस्थापनका लागि सांसद भीमसेनदास प्रधानलगायतका जनप्रतिनिधिलाई भेटेर आफूले पहल गरिरहेको बताउँछन् । 
 

प्रतिकृया दिनुहोस