• शनिबार-बैशाख-८-२०८१

वेलकाकी उपमेयर भन्छिन्– कम्प्युटर चलाउनुपर्नेले नगरपालिका चलाइरहेका छन् 

 

काठमाडौं । मुलुक संघीयतामा गएपछि घर–घरमा सिंहदरबार पुग्ने विश्वास थियो । त्यसैले जनता उत्साहित बनेका थिए । तर, गाउँमा पुगेका सिंहदरबारहरू विस्तारै भ्रष्टाचार र अनियमितताका अखडा बनेका छन् । महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७५÷७६ को प्रतिवेदनले पनि स्थानीय तहको बेथितिप्रति चिन्ता जायर गरेको छ । यसले जनतामा आशाभन्दा बढी निराशाको प्रसार गरिरहेको छ । 

 

स्थानीय तहले जनताको विश्वास उकास्न नसकिरहेका बेला उदयपुरको वेलका नगरपालिकी उपमेयर राजकुमारी चौधरीको राजीनामा घोषणा चर्चामा आएको छ । नगरपालिका अनियमितता र भ्रष्टाचारको आहालमा डुबेको भन्दै उनले राजीनामा घोषणा गरेकी छन् । 

 

चौधरीसँग साँघुले गरेको सवाल र उनको जवाफः 
 

तपाईंले उप-मेयरबाट राजीनामा दिनु भएको हो ? 


राजीनामा दिइसकेको छैन । घोषणाचाहिँ गरेको हुँ । 

 

यस्तो घोषणा गर्नुपर्ने निष्कर्षमा कसरी पुग्नुभयो ? 


नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढिरहेको छ । त्यस्ता व्यक्तिमाथि कारबाही गर्नुपर्ने मेरो माग थियो÷छ । तर मेयर सा’बलगायतले सुनुवाइ गर्नु भएन । यस्तो ठाउँमा के बसिराख्नु भन्ने लागेर राजीनामा घोषणा गरेको हुँ । 

 

त्यो अनियमिततामा संलग्न को–को हुन् ? अलि प्रष्ट पारिदिनु न ? 

 

नगरपालिकामा सन्तोष पौडेल नाम गरेका कर्मचारी छन् । उनी चौथो तहका सहायक कम्प्युटर अपरेटर हुन् । जिविसका अनेक कागजपत्र चोरेर बदनाम भई वेलकामा सरुवा भई आएका । उनको काम कम्प्युटर चलाउनु थियो, तर नगरपालिका नै चलाउन थाले । उनकै संलग्नतामा अनेक भ्रष्टाचार र अनियमितता भए । मैले भनेँ– उहाँका कारण हाम्रो बद्नाम भयो । सरुवा गरौं । 

 

गाउँ कार्यपालिका, सचिवालय सबैले मेरो प्रस्तावमा स्वीकृति जनाए । तर कतैबाट सुनुवाइ भएन । बरु, मेयर सा’ब उल्टै उहाँलाई जोगाउन लाग्नु भयो । यसरी त के पदमा टाँसिरहनु भनेर राजीनामा घोषणा गरेकी हुँ । 

 

एउटा मामुली कर्मचारी सरुवाजस्तो विषयलाई लिएर राजीनामा नै दिनुपर्ने त थिएन होला नि ? 

 

व्यक्तिभन्दा पनि प्रवृत्तिका कारण राजीनामा दिएको हुँ । सानो, ठूलो जसले गरे पनि भ्रष्टाचार त गलत हो नि ? 

 

त्यहीँभित्र बसेर यसविरुद्ध लड्न सकिन्थ्यो होला नि त ? 


सुरुदेखि नै लडेको हुँ । तर केही लागेन त अनि के गरू ? 

 

तपाईं संबद्ध दललाई यसरबो जानकारी गराउनु भएन त ? 


गराएँ । तर त्यताबाट पनि केही भएन । 

 

उपमेयर बनाउने दल नेकपासँगको आबद्धताचाहिँ अब के हुन्छ त ? 


विद्यार्थी कालदेखि नै एमालेमा मैले लगानी गर्दै आइरहेको छु । पार्टी त छाड्ने कुरै भएन नि । 

 

अनि दुई तिहाइको सरकारलाई नै धिक्कार छ भनेर भन्नु भएछ त ? 


जनताको अथाह विश्वास पाएर पनि केही गर्न नसकेपछि के भन्नु त ? 

 

प्रतिकृया दिनुहोस