• शुक्रबार-चैत-१६-२०८०

महांकालका २६ घर जोखिममा

ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका २६ घर जोखिममा परेका छन् । यही साउन ५ र ६ गते आएको अविरल वर्षातका कारण यहाँका यी घरहरु जोखिममा परेका हुन् ।

 महाङ्कालको रातोमाटे–बतासे –काभ्रे हुँदै जाने सडक खण्डमा आएको भिषण पहिरोले वडा नं २ मानिखेल रातोमाटेका पाँचदेखि छ घर विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए । 

“करिब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पहिरो खसेको छ,” उनले भने । 

 यसैगरी वडा नं ३ गोटिखेल धामीखोला वस्तीका अन्य थप २१ घर पनि पहिरोका कारण जोखिम र विस्थापित हुने अवस्थामा पुगेका दाहालले जानकारी गराए । “गोटिखेलको २१ घर मध्येका १२ देखि १५ परिवार अन्यत्र वा आफन्तको शरण लिन बाध्य भएका छन्”, दाहालले थपे, “यसमा बाँकी रहेका केही परिवार भने आफ्नै घरमा बसिरहेका छन् । दिनानुदिन थपिँदै गएको पहिरोका कारण लेले–चन्दनपुर हुँदै जाने सडकखण्ड खोल्न भने सकेका छैनौँ ।” रातोमाटेमा व्यापक पहिरो जाँदा लगभग ५० वटा जाली भर्नुपर्ने अवस्था सिर्जना भएको दाहाले बताए ।  

केन्द्र सरकारले रातोमाटे क्षेत्रमा समयमै ध्यानाकर्षण गरी सडकमा भएको समस्या अन्त्य नगरेमा गाउँवासीले अझ धेरै जोखिम मोल्न बाध्य हुने दाहालको भनाइ छ । अर्कोतर्फ कोञ्ज्योसोम गाउँपालिकामा दुई दिनअघि आएको वर्षातले निकै क्षति गरेको छ । पहिराले कोञ्ज्योसोम नल्लु हुँदै र कोञ्ज्योसोम मध्यमार्गी चौघरे–नल्लु हुँदै चापागाउँ आउने मुख्य सडक नै अवरुद्ध भइरहेको गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले बताए । 
“यसै वडामा घरमुनी र माथिबाट आएको पहिराले तीन घर जोखिममा परेको छ”, उनले थपे, “शङ्खु सोचे ठूलो पहिरो भन्ने स्थानमा भीषण पहिरो जाँदा यहाँका लगभग १० घर जोखिममा परेका छन् ।” 

यसैगरी वडा नं ३ दलचोकी खत्रीडाडाँमा दुई घर पहिराले भासिएको छ भने ठोस्नेखोलाकोे पुलसमेत पानीले बगाएको वडाध्यक्ष तीलकबहादुर बोम्जनले बताए।  उनले भने, “खोलाले जमीन कटान गर्दा लगभग ५० देखि ६० रोपनी खेतीबारीमा नोक्सान भएको छ । यसै वडाका अन्य थप चार देखि पाँच घरको भित्ताबाट पहिरो आएर घरनै चकाएको छ ।” ती घर पहिराले असर गरेका केही परिवार कटेज त केही परिवार उक्त घरमा नै बस्न बाध्य भएका छन् । 

दलचोकी क्षेत्रको जमीन अन्य वडाभन्दा केही भिरालो स्थानमा रहँदा बढीनै भासिन पुगेको बोम्जनले जानकारी गराए । 

प्रतिकृया दिनुहोस