• शुक्रबार-चैत-१६-२०८०

सके ओलीलाई मनाउने, नसके पार्टीबाटै हटाउने !

 

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गल्तीहरूको चार्ज सिट बनाउने । त्यसलाई पार्टी केन्द्रीय समिति बैठकमा पेस गर्ने र साधारण सदस्यसमेत नरहने गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने । 

 

झट्ट सुन्दा धेरैलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनाल समूहले केपी ओलीविरुद्ध यति कठोर कदम उठाउलान् भन्ने विश्वास लाग्दैन । तर नेकपाभित्रको विवाद तन्किँदै जाँदा पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल समूह हदसम्म अघि बढेरै भए पनि केपी ओलीलाई तह लगाउनु पर्ने मनस्थितिमा पुगेको खबर छ । यद्यपि, यस्तो निर्मम निर्णयमा पुग्नुअघि भने यो समूहले पार्टी विवाद समाधानका लागि विविध विकल्प दिएर छलफल गर्ने बताइएको छ ।


 
‘केपी ओलीलाई सहमतिमा ल्याउन हदैसम्म लचक हुने र त्यसरी लचक हुँदा पनि ओलीले हठ यथावत् राखे भने उनलाई पार्टी केन्द्रीय समिति बैठकबाटै कारबाही गरेर निष्काषन गर्ने गरी पुष्पकमल दाहाल समूहबीच छलफल चलिरहेको छ,’ स्रोत भन्यो, ‘ तर यस्तो निर्मम निर्णयमा पुग्नुअघि पार्टी विवाद मिलाउन यो पक्ष अधिक लचक हुनेछ ।’ 

 

आत्मालोचना गर्नुपर्ने 

 

प्रचण्ड समूहमा गोलबद्ध भएका नेकपाका नेताको लामो समयदेखिको गुनासो छ– प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी पार्टी र सरकार चलाए । राजदूतको नियुक्तिदेखि फिर्ता बोलाउनेसम्मका ओली नेतृत्वको सरकारको निर्णयप्रति पनि यो समूहको चित्त दुखाइ छ । सकारले गरेका नियुक्तिप्रति त नेकपाका नेताले बेला बेला मुखै फोरेर सार्वजनिक रूपमै असन्तोष जनाउँदै आइरहेकै छन् ।

 

 स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आफ्ना कर्मीकमजोरीप्रति आत्मालोचना गर्नुपर्ने विषयलाई प्रचण्ड समूहले सघन ढंगले उठाउने तयारी गरिरहेको छ ।  अबका दिनमा सरकार सञ्चालन पनि पार्टीको छलफल र परामर्शमा गर्ने प्रतिबद्धता पनि यो समूहले प्रधानमन्त्रीबाट खोजेको छ ।

 

नेकपा उपाध्यक्ष वामदेव गौतमले हालै पार्टी विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव पेस गरेका छन् । ती ६ मध्ये १ बुँदामा केपी ओलीले सम्पूर्ण कार्यकारी अधिकार पुष्पकमल दाहाललाई सुम्पने विषय पनि छ । प्रचण्ड समूहले नाटकीय ढंगले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ ढल्किएका वामदेवको यो प्रस्तावलाई पनि बटमलाइनका रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । 



यी विषयमा छलफल गरेर पार्टीलाई निकास दिन प्रचण्ड समूह यतिबेला गृहकार्यमा जुटिरहेको छ ।  कथंकदाचित यसमा प्रधानमन्त्री ओली तयार नभएमा भने वारपार हुने गरी अघि बढ्ने मनस्थितिमा प्रचण्ड माधव समूह रहेको बताइन्छ । 

 

‘पार्टी एकताका लागि अधिक लचक हुने र त्यस्तो लचकतालाई प्रधानमन्त्री ओलीले कमजोरी ठाने केन्द्रीय समिति बैठकमार्फत पार्टी निर्णय नमानेको कारण देखाउँदै पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नेसम्मका विकल्पमा यतिबेला छलफल भइरहेको छ,’ स्रोतले भन्यो । 

 

ओली पक्षको रणनीति 



वामदेव गौतमले लाइन बदलेपछि नेकपाको सचिवालयमा केपी ओलीको पल्ला पुष्पकमल पक्षको तुलनामा गह्रौं भएको छ । यसले ओलीलाई ठूलो राहत मिलेको छ । 

 

नेकपामा केन्द्रीय समिति बैठक बोलाउन सुरुमा सचिवालयले एजेण्डा पास गर्नुपर्छ । स्थायी समितिले पनि यसबारे निर्णय गर्नुपर्छ । तर ओली समूह सचिवालयमा आफ्नो बहुमत रहेकाले केन्द्रीय समिति बैठक नै असम्भव रहेको निष्कर्षमा छ । 

 

एकताकै क्रममा दुई अध्यक्षको सहमतिमा मात्रै पार्टी निर्णय कार्यान्वयन हुने उल्लेख छ । त्यसैले दाहाल समूह सहमतिविपरीत अघि बढ्न नसक्ने यो समूहको बुझाइ छ । 

 

दुवै पक्ष एकले अर्कोलाई गलाउने रणनीतिमा रहेकाले नेकपाको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ । 

प्रतिकृया दिनुहोस