• शुक्रबार-बैशाख-१४-२०८१

साप्ताहिक, ‘शुक्रवार’  र ‘सम्पूर्ण’ बन्द : पत्रकारहरु राजीनामा दिन बाध्य

 


काठमाडौं । कारोना महामारीको आर्थिक संकटलाई कारण देखाएर कान्तिपुर पब्लिकेसन्स्ले दुईवटा आउटलेट बन्द गरेको एक महिनापछि अन्नपूर्ण मिडिया नेटवर्कले पनि आफ्नो एक आउटलेट बन्द गरेको छ । कान्तिपुर पब्लिकेसन्सले  मनोरञ्जन  क्षेत्रको साप्ताहिक पत्रिका साप्ताहिक बन्द गरेपछि अन्नपूर्ण मिडिया नेटवर्कको  मनोरञ्जनात्मक  क्षेत्रको ‘सम्पूर्ण साप्ताहिक’ एकमात्र पत्रिका बाँकी थियो । कोरानाभन्दा अघि नै रिपब्लिक मिडियाको यस्तै पत्रिका ‘शुक्रवार साप्ताहिक’ बन्द भएको थियो । 


 बजारमा एकछत्र हुने बेलामा अन्नपूर्णले आफ्नो साप्ताहिक पत्रिका बन्द गरेको छ । तर, बन्द गर्नुको कारण भने व्यवस्थापनले खुलाएको छैन । पत्रिका बन्दसंगै ८ जना पत्रकारले राजीनामा दिएका छन् ।

 

राजीनामा दिनेमा सम्पादक राजन नेपालसहित विनोदविक्रम केसी, सामीप्यराज तिमिल्सिना, संगीता श्रेष्ठ, सृजना खड्का, कुबेर डंगोल, सुमित सुवेदी र अस्मिता खड्का रहेका छन् ।

 

स्रोतका अनुसार, सम्पादक नेपाल र विनोदविक्रम केसीबाहेक अन्यले भने पहिला नै राजीनामा दिइसकेका थिए । ‘सम्पूर्ण साप्ताहिक’मा कार्यरत पत्रकारले लामो समय तलब नपाएका कारण समस्या भइरहेको थियो । त्यही समस्यालाई देखाएर पत्रकारले राजीनामा दिइसकेका थिए ।

 

र, पत्रिका बन्द गर्न आग्रह गर्दै सम्पादक नेपालसहितको टोलीले व्यवस्थापनलाई पटकपटक भनिसकेको थियो । संकट ब्यहोरेर पत्रिका चलाउन नसक्ने उनीहरुको तर्क थियो । तर, व्यवस्थापनले पत्रिका बन्द नगर्ने बताएको थियो । 


अन्नपूर्णले नेपालमा लकडाउन सुरु भएलगत्तै पत्रकारलाई आधा तलब दिने निर्णय गरेको थियो । त्यही आधा तलब पनि दुई महिना ढिला गरिरहेको छ । सम्पूर्ण साप्ताहिक छोडेका पत्रकारहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेसम्म प्रष्ट छैन ।

 

धेरैले कान्तिपुरको मोडल अपनाउन आग्रह गरिरहेको खबर छ । कान्तिपुरले स्थायीलाई ६ महिना र करारलाई ३ महिनाको खाईपाई आएको तलब सुविधा दिएको थियो ।

 

सम्पूर्णका सम्पादक नेपाल र विनोदविक्रम केसी कान्तिपुरको साप्ताहिक बन्दपछि राजीनामा दिएका संगीत स्राेतासहितको एक टोलीले नयाँ पुस्तक प्रकाशन गृह चलाउने तयारी गरिरहेका छन् ।

 

कान्तिपुर साप्ताहिकको टोली कला अनुरागी, विमल नेपाल, श्रृति श्रेष्ठ, सिर्जना दुवाल, राधिका अधिकारीसहितको टोलीले नेपाल पब्लिक अनलाइन सुरु गरेका छन् । नयाँ पत्रिका दैनिकको कार्यालय रहेको स्टार मलमा नेपाल पब्लिकको कार्यालय रहेको छ ।


यता, कान्तिपुरको नेपाल म्याग्जिनका सम्पादक बसन्त बस्नेत पनि नयाँ अनलाइनको तयारीमा जुटेका छन् । बस्नेतको टोलीमा नेपाल म्याग्जिनबाट को को संलग्न हुने हुन त्यो चाहिं प्रष्ट भइसकेको छैन । बस्नेतले नेतृत्व गर्ने अनलाइनको कार्यालय ललितपुरतिर हुने चर्चा पनि गरिएको छ ।

 

त्यसैगरी, नागरिक दैनिकले भने कोरोना संकटको बेलामा पनि तलब दिएको छैन । चैतदेखि तलब नदिएको नागरिकले तलब दिने सुरु सार नै गरेको छैन । अहिले नागरिकले सरकारी विज्ञापनबाटमात्रै मासिक करिब १ करोड आम्दानी गरिरहेको स्रोत बताउछ । 


 उता, पत्रकारहरुको विरोधकै कारण नेपाल लाइभका सम्पादक केपी ढुंगानाले पनि राजीनामा दिएका छन् । ढुंगाना लकडाउनको सुरुकै चरणबाट बेतलबी विदामा परेका थिए । 


आर्थिक वीटका संयोजक सविन मिश्रको टोलीसंग कुरा नमिलेपछि ढुंगाना बाहिरिन बाध्य भएका हुन । त्यसैगरी, नयाँ पत्रिकाले सञ्चालन गर्ने भनिएको नयाँ अनलाइनका लागि सम्पादक भएर गएका सीताराम बरालले पनि नयाँ पत्रिका छोडेका छन् । नयाँ अनलाइन नआउने भएपछि पत्रिकाकै अनलाइनको सम्पादक नियुक्त भएका बराललाई पछिल्ला दिनमा पत्रिकाको डेस्कमा तानिएको थियो । बरालले नयाँ पत्रिका छोडेर सूत्रन्यूज डटकम अनलाइनको नेतृत्व सम्हालेका छन् । 

प्रतिकृया दिनुहोस