• शुक्रबार-चैत-१६-२०८०

प्रचण्ड पनि माधवसँग रुष्ट 

काठमाडौं ।  नेकपाका अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ट बनेका छन् । 


कार्यदल प्रतिवेदनलाई लिएर नेता नेपालले भित्रभित्रै असन्तुष्टि पोख्न थालेपछि प्रचण्ड उनीसँग रुष्ट बनेको नेकपा स्रोत बताउँछ ।
 
‘माधव नेपालले प्रचण्डबाट धोका भएको गुनासो गरेपछि प्रचण्ड पनि माधवसँग रुष्ट हुनु भएको छ,’ खुमलटार स्रोतले भन्यो ।  

विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले गत शनिबार दिएको प्रतिवेदन र प्रचण्डको पछिल्लो भूमिकाले माधव असन्तुष्ट बनेको बताइन्छ । यद्यपि, माधव नेपालले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यसबारे नेपालले सचिवालयमै धारणा राख्ने उनको सचिवालयले प्रष्ट पारेको छ । 


हुन त ६ सदस्यीय कार्यदलमा माधव समूहकै हस्ती भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए । उनीहरूको सहमतिमै कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो । तर केपी ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडानमा रहेका नेपाललाई अध्यक्षद्वयलाई नै थप अधिकार दिन सिफारिस गरेर प्रतिवेदन दिएको मन परेको छैन । सरकार सञ्चालनसम्बन्धी संयन्त्र निर्माण गर्ने आफ्नो प्रस्तवलाई कार्यदलले छलफलको विषयसमेत नबनाएकोप्रति त उनको ठूलो गुनासो रहेको छ । 


स्रोतका अनुसार, पछिल्लो समय नेता नेपालले आफूसँग भेट्न पुगेका सबैजसो नेतासँग प्रचण्डको भूमिकालाई लिएर आलोचना गर्ने गरेका छन् । आफूलाई उपयोग गरेर स्वार्थ पूरा भएपछि केपीसँग नजिक बनेको बुझाइ माधव र उनीनिकट नेताको छ । 


आफूनिकटका नेता सम्मिलित कार्यदलले दिएको प्रतिवेदनमा आफूलाई जोडेर माधव नेपालले गरेकोे गुनासोप्रति प्रति प्रचण्ड रुष्ट बनेका छन् । ‘कार्यदलमा उहाँको समूहबाट परेका सदस्यको नोट अफ डिसेन्ट पनि छैन । सर्वसम्मत आएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि प्रतिवेदन मन नपरेको भए त्यहाँ किन नोट अफ डिसेन्ट नलेखेको ?'


सचिवालय र स्थायी समितिले के गर्लान् ? 

नेकपाको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनबारे अब सचिवालय र स्थायी समितिमा छलफल हुनेछन् ।


 शनिबार प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बैठक आह्वान गरिए पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले १८ भदौसम्मका लागि स्थगित गरिएको छ । 


कार्यदलले दिएको प्रतिवेदनमा नेताहरूको असन्तुष्टि रहेकाले त्यसमा केही संशोधन हुने अनुमान गरिएको छ । 


 सार्वजनिक रूपमा कुनै प्रतिक्रिया नदिएर सचिवालय बैठक कुरेर बसेका नेता नेपाल कसरी प्रस्तुत होलान् ? प्रतीक्षाको विषय बनेको छ । पार्टी समस्या समाधानका लागि दिएको ६ बुँदे प्रस्तावकै वरिपरि रहेर कार्यदलले दिएको प्रतिवेदनबारे उपाध्यक्ष वामदेव गौतमको धारणालाई पनि चासोका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस