• शुक्रबार-बैशाख-१४-२०८१

पूर्वस्वास्थ्यमन्त्री भन्छन्– कोरोना नियन्त्रण रणनीति अब बदल्नु पर्छ 


पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेकपाका नेता खगराज अधिकारीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि रणनीति बदल्नुपर्ने बताएका छन् । कोरोना समुदायस्तरमा फैलिसकेकाले अब नयाँ रणनीति अपनाउनु पर्ने उनको भनाइ छ । 

कोरोना नियन्त्रणलाई लिएर सरकारको आलोचना भइरहेका बेला उनले त्यस्ता टिप्पणी नाजायज भएको तर्कसमेत गरे । संकटका बेला सबै मिलेर लड्नुपर्नेमा विरोधका लागि विरोध गरिएको उनले बताए । 

कोरोनाविरुद्ध लड्नुपर्नेमा नेकपा आन्तरिक किचलोमा अल्झिएको र यसले समस्या सिर्जना गरेको उनले स्वीकारे । यद्यपि, अब यस्ता समस्या नआउने दाबी उनले गरे । 
कोरोना नियन्त्रण र नेकपामा देखापरेको विवादबारे अधिकारीसँग गरिएको संवादको सारसंक्षेपः 


०  कोरोना भाइरसको विश्वव्यापी महामारीलाई पूर्वस्वास्थ्यमन्त्रीको दृष्टिबाट कस्तो देखिरहनु भएको छ ? 

– यतिबेला विश्व नै युद्धमा छ । विश्वलाई नै कोरोना भाइरस (कोभिड–१९) ले चुनौती दिइरहेको छ । चिकित्सा विज्ञानलाई नै हम्मेहम्मे परिरहेका बेला नेपाल यस चुनौतीको ठूलो खाडलमा फसेको छ । 


o कोरोना नियन्त्रणमा सरकार र तपाईंको दल नेकपाले खेलेको भूमिकालाई कसरी लिनुभएको छ ? 

-कोरोना महामारीको जटिल परिस्थितिमा नेकपाले आफ्नो भूमिकालाई सशक्त पार्नुपर्ने आवश्यकता थियो । उसले महामारी नियन्त्रणका लागि कार्यकर्ता परिचालन गर्न सक्थ्यो । तर त्यसो हुन सकेन । बरु उल्टै दलभित्रको कचिंगलले सरकारको काम प्रभावित हुन पुग्यो । सरकार आलोचित बन्यो । विगतमा नेकपा चुके पनि अब त्यो गल्ती हामी दोहोर्याउने छैनौं । 

० नेकपाभित्रको विवादचाहिँ अब मिलेको हो ?

पार्टीभित्रको विवाद त हामीले ६ महिना, १ वर्षपछि हल गरे पनि हुन्छ । तर महामारी नियन्त्रणका लागि त्यस्तो सुविधा उपलब्ध छैन । यो जतिसक्दो छिटो गर्नुपर्छ । पार्टीको विवादभन्दा जनताको स्वास्थ्य महत्त्वपूर्ण भएकाले हामीले आफ्नो प्राथमिकता बेलैमा निक्र्योल गर्नुपर्छ । 

० स्वास्थ्यमन्त्रीको भूमिका जति प्रभावकारी हुनुपथ्र्यो त्योचाहिँ नभएको हो ? 

- देश संकटमा परेका बेला आलोचना गर्ने होइन, हौसला, प्रेरणा र सहयोग गर्ने हो । विरोधका लागि विरोध गर्ने बेला यो होइन । र, यसरी कहीँ पनि पुगिँदैन । 

सरकारको भूमिका ठीक छ  । सरकारले लेभल १, लेभल २ र लेभल ३ गरी १६ देखि १७ वटा विशेष अस्पतालहरू निर्माण गरिरहेको छ । अहिले सरुवा रोग निवारण ऐन, २०२० मा टेकेर काम भइरहेको छ । यो कानूनले पुग्दैन । अध्यादेशमार्फत स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने हुनसक्छ । सरकारले अहिलेसम्म सम्पादन गरेको कार्यलाई धन्यवाद दिनुपर्छ । 

० कोरोना समुदायस्तरमा फैलिसक्यो । विज्ञहरू थप भयावह अवस्था आउने चेतावनी दिइरहेका छन् । सरकारले काम गरेको थियो भने यस्तो अवस्था आउथ्यो ? 

- सरकारले आवश्यक सबै तयारी गरेको थियो । यद्यपि, कोरोना समुदायस्तरमा फैलियो । अब नियन्त्रणका लागि रणनीति बदल्नु पर्छ । खाली सरकारको आलोचना गरिरहने समय होइन । विश्वलाई आफ्नो छायामा राख्ने विशाल राष्ट्रको तयारीले त नियन्त्रणमा आउन सकेन भने हाम्रो सरकारले जादु गर्न सक्दैन । 

० तपाईंले भन्नुभएको तयारी सरकारले समुदायस्तरमा फैलनुअघि नै गर्नुपर्ने होइन ? 

- यसमा सरकारलाई मात्र दोष दिनु राम्रो कुरा होइन । महामारी नियन्त्रणको प्रमुख कार्यभार संघीय सरकारको हो । तर पनि प्रदेश सरकार, स्थानीय  सरकारको पनि जिम्मा हुन्छ । त्यसैले यसमा संघीय सरकार मात्र नभएर सबै जिम्मेवार छन् । यसलाई फैलन नदिन आमनागरिक सचेत हुन जरुरी छ । अरू व्यवस्थापनका लागि सरकार लागिरहेको छ र लागिरहने छ ।

० तपाईं सरकारले काम गरिरहेको छ भन्नुहुन्छ । तर औषधि खरीदमा अनियमितता भएका विषय आइरहेका छन् ? 
-

प्रधानमन्त्रीले अनियमितता भएको प्रमाणित भए कसैलाई छाड्दिन भन्नुभएको छ । यसबारे छानबिन पनि भइरहेको छ । ओम्नीले भर्खर मात्र मुद्दा हालेको छ । उसले एक पैसा पनि पाएको छैन, उल्टै उसको पैसा सरकारले मासेको छ । आफू पनि काम नगर्ने, अरूलाई पनि काम गर्न नदिने प्रचलनको परिणति हो यो ।  यहाँनिर सबैले के बुझ्न जरुरी छ भने यो सरकार महामारी होला र खल्ती भरांैला भनेर बस्ने खालको होइन ।  सरकारको कामप्रति डे वानदेखि नै विरोध मात्रै गरिरहनेहरुको टिप्पणीप्रति मेरो कुनै जवाफ छैन ।

० हालका स्वास्थ्यमन्त्री तपाईंको सहयात्री हुनुहुन्छ । केही सुझाव पनि छन् कि ? 

- मभन्दा बुझेका विज्ञहरूसँग परामर्श लिएर उहाँले काम गरिरहनुभएको छ भन्ने त तथ्यले नै देखाइरहेको छ नि होइन र ? 

० गुटगत राजनीतिमा रमाउने नेता भनेर तपाईंको आलोचना हुने गर्छ । के भन्नुहुन्छ ? 

- यो भाम्रक कुरा हो । काम नगर्ने र गुटको खेती गर्नेको कुरा हो यो । ०३८ मा अनेरास्ववियु विभाजन हुन लाग्दा दुवै पक्षको मन जितेर फुट्नबाट जोगाएर म अन्तर्राष्ट्रिय समिति बनेको मेरो इतिहास भुलेर प्रश्न गर्नुभयो । यस्ता सतहि कुराको मसंग कुनै जवाफ छैन ।

० पार्टी विवाद समाधानमा तपाईंको भूमिका कस्तो रह्यो  ?

- तपाईंको प्रश्नको जवाफ दिनुअघि म एउटा पुरानो घटना स्मरण गराउन चाहन्छु । त्यतिबेला माधव नेपाल पार्टी महासचिव हुनुहुन्थ्यो । वरिष्ठ नेता झलनाथ खनालले महासचिव परिवर्तनको प्रस्ताव गर्नु भएको थियो । त्यतिबेला कमरेड केपी शर्मा ओलीले महासचिव परिवर्तन तन्ना फेरेजस्तो कुरा नभएकाले विधि,विधान र प्रद्धतिअनुसार गर्नुपर्ने विषय राख्नु भएको थियो । त्यो कुरा अहिले पनि प्रासंगिक छ । विधि र प्रक्रियाअनुसार हामी अघि बढ्नुपर्छ । पद्धति र विधिअनुसार पार्टी सञ्चालन हुनुपर्छ भन्नेमा मेरो पनि भूमिका रह्यो ।  

० मन्त्रीमण्डल हेरफेरको विषय चर्चामा छ । तपाईं मन्त्री बन्ने सम्भावना छ कि छैन ? 
 

- म सरकारमा जाने भन्ने कुराको बारेमा मलाई थाहा छैन, अहिले पार्टीको एकता प्रमुख कुरा हो । तपाईंले इतिहास हेर्न सक्नुहुन्छ, पार्टीको आठौं महाधिवेशनमा १२ बुँदे आन्तरिक एकता प्रस्ताव निर्माणको जगमा बसेर काम गरेको व्यक्ति हुँ । पदप्रति मलाई मोह छैन । 
 

प्रतिकृया दिनुहोस