• बिहीबार-बैशाख-१३-२०८१

घरेलु उपचारमा असुराे-बाेझाेकाे महिमा थाहा पाउनुस् 

 


आयुर्वेदिक औषधिहरूमा प्रशस्त प्रयोग गरिने बोझोको उपयोगिताबारेमा सबै समुदायमा पर्याप्त जानकारी नभए पनि कुनै–कुनै समुदायमा परम्परागतरुपमा प्रयोग गर्ने गरिन्छ । मैले केही वर्षअघि कैलालीको एक समुदायमा घाँटी दुखाइको उपचार गर्न बोझोलाई निकै महत्व दिने गरेको पाएको थिएँ । त्यहाँकी एक महिलाले दिएको जानकारीअनुसार पहिला त बच्चाहरूलाई घाँटीमा बोझोको टुक्राको माला नै लगाइदिने चलन थियो रे । तर अहिले आधुनिक औषधिहरुको व्यापक प्रचलनले यसको महत्व घट्दै गएको छ ।


बोझो : याे सहजैसँग उम्रिने, कुनै स्याहार नचाहिने वनस्पति हो । गमलामा वा सानो टुक्रा जमिनमा पनि बोझो उमार्न र हुर्काउन सकिन्छ । वर्षातमा एकचोटी रोपेपछि आफैं बिस्तारै फैलिँदै जान्छ । यसको जरा बढ्दै जान्छ र यही जरा औषधिको रुपमा उपयोग हुन्छ ।



बोझो प्रयोग  : घाँटीको समस्याको लागि बोझो प्रयोग निकै लाभदायक हुन्छ । म पनि यसको प्रयोग गर्छु । यस्तो कुरा गर्दा मलाई कतिपय साथीले ‘पुरातनवादी’ पनि भन्छन् । तर बोझोको औषधीय गुणको बारेमा जब अंग्रेजीमा लेखिएको वेबसाइटमा देखाएपछि चाहिँ धेरैले विश्वास गर्छन् । अंग्रेजीमा लेखेपछि मात्र वैज्ञानिक सत्य मान्ने सोच अझै पनि धेरैमा छ ।


तर विचार गर्नुपर्ने कुरा के छ भने, कसै–कसैलाई यो धेरै प्रयोग गर्दा सुख्खा भएर नाकबाट रगत आउन सक्छ । त्यसैले एकैचोटी धेरै प्रयोग गर्नुहुन्न । 


अब  असुरोको महिमा पढ्नुस् 


असुरोको पात पकाएर कुल्ला गर्नाले दाँत तथा गिजाका रोगीलाई फाइदा हुन्छ भनेर गाउँघरमा पहिले सुन्थेँ, तर त्यति वास्ता गरिएको थिएन । असुरोको औषधीय महत्वको बारेमा केही वैद्यहरुसँग छलफल गरेपछि यसबारेमा थप ज्ञान भयो । यसमा रहेको केही विशेष तत्वले विभिन्न संक्रमण कम मर्न मद्दत गर्छ । असुरोको सुकेको पात पुस्तकका पानाहरूमा राख्दा कीरा लाग्दैन । असुरोको पात पानीमा उमालेर खाँदा कफ सजिलै बाहिर निस्कन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा खोकी निको हुने अनुभव छ ।


चरिअमिलो : विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरिअमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरिअमिलोलाई सलादमा हालेर पनि खान्छन् ।


गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ । भिटामिन सी पाइन्छ  । 


अमला : यसै गरी अमला बहुउपयोगी फल हो । अमलाको तितौरा बनाएर वा त्यसै पनि खाने गरिन्छ । यसलाई सुकाएर विभिन्न औषधि बनाउने गरिन्छ । धार्मिक दृष्टिकोणले अमला पवित्र मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला विष्णुको पूजामा नैवेद्यको रूपमा चढाइन्छ ।

 

शायद यसको औषधीय महत्व भएर होला । कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला पनि हुन्छ तर त्रिफलाको विज्ञापन राम्रा–राम्रा हिरो–हिरोइनले गर्दैनन् । त्यसैले त्रिफलाको महत्व धेरैले बुझ्दैनन् । कब्जियत हटाउन महँगा औषधिहरूको प्रयोग गरेर खुशी हुने हाम्रो चलन छ । नजिकको तीर्थ हेला भनेको यही होला ।

प्रतिकृया दिनुहोस