• बिहीबार-बैशाख-१३-२०८१

जापान : योशीहिदे सुगाले लिए प्रधानमन्त्रीको शपथ


टोकियो । जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन् । उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । 


अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ । 


मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषदका सदस्य हुन् । 


 नयाँ मन्त्रिपरिषदमा न्यायमन्त्री योको कामिकावा र ओलम्पिक र प्यारा ओलम्पिक मन्त्री सेको हाशिमोतो दुई महिला मात्र छन् । 


जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ । जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुबैको भूमिका खेल्दछन् ।


यसैबीच, पूर्व प्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उप विदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । 


पूर्व प्रधानमन्त्री आबेको मन्त्रिपरिषदका सबै सदस्यले बुधबार बिहान सामूहिक राजीनामा दिएका थिए । आबेले पछिल्लो महिना स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामाको घोषणा गर्नु भएको थियो । 
 

प्रतिकृया दिनुहोस