• शुक्रबार-बैशाख-१४-२०८१

लोकलाई ढाँट छल गरे, पलपल त्यो अपराधले पोल्ने छ

 

(सपना रोका मगर  उमेरले १७ वर्ष पुगिन् । अहिले १८ वर्षमा हिँड्दै छिन् । तर उनको कर्म भने उमेरभन्दा निक्कै परिपक्व छ । विकट जिल्ला म्याग्दीमा जन्मिएकी उनी आफ्ना व्यक्तिगत इच्छा र आकांक्षाहरूलाई एउटा कुनामा थान्कोमुन्को लगाएर समाज सेवामा होमिएकी छिन् । कहिले बेवारिसे शवको अन्त्येष्टि गर्न उनी समाजसेवी विनय जंग बस्नेतसँगै पशुपति पुगिरहेकी हुन्छिन् भने कहिले अन्नपानी नपाएर तड्पिरहेकाहरूलाई गाँसको जोहो गरिरहेकी हुन्छिन् । राज्यले गर्नुपर्ने काम गरेर दुःखी र असहायहरूको मुहारमा खुसीको रेखा कोरिरहेकी सपना भन्छिन्– यो धर्तीमा अस्तित्वमा रहेसम्म दुःखी र असहायहरूको सहारा बनिरहने छु । पछिल्लो पुस्ताकी एक प्रेरक पात्र सपनासँग उनको समाजसेवाप्रतिको लगाव, भोगाइ, भावी योजनालगायत विषयमा केन्द्रित रहेर साँघु प्रतिनिधि सुयोग शर्माले भलाकुसारी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः सम्पादक) 


० करिअर बनाउने, हाँसखेल गर्ने उमेरमा समाज सेवामा लाग्नु भएको छ । आफ्नै बारेमा बताइदिनुहोस् न ? 


– मेरो घर म्याग्दी जिल्लाको मंगला गाउँपालिकास्थित बरम्चा बुकेनी हो । १८ वर्षअघि एउटा सामान्य परिवारमा जन्मेको हुँ । विद्यालय तहको पठनपाठन गाउँकै विद्यालयबाट गरेकी हुँ । एसएलसीपछि पोखरा झरेँ, उच्च शिक्षा हासिल गर्न । ११ कक्षा चाहिं रमणीय नगरी पोखरामै बसेर पढेँ । १२ चाहिँ काठमाडौंमा । 


० बेवारिसे व्यक्तिहरूको खानपानदेखि मृत्यु संस्कारसम्म गरिरहनु भएको छ । यो पुण्य काममा चाहिँ तपाईं कसरी जोडिनु भयो ?


–हाम्रो बुवा विनयजंग बस्नेत र पवित्रा दिदीले पहिल्यैदेखि बेवारिसे शव व्यवस्थापन गरिरहनु भएको थियो । यी काम बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र (एक्सन फर सोसल चेन्ज) नामक संस्थामार्फत हुँदै आएको छ । बुवाले गरेको काम फेसबुक, युट्युबमा हेरिरहन्थेँ ।  संस्थामा त पहिल्यैदेखि जोडिएकी हुँ । तर फ्रन्टलाइनमै आएर काम गरेको चाहिँ १ वर्ष भयो । 


० विनय जंग बस्नेतसँग चाहिँ तपाईंको चिनजान र सम्पर्क कसरी भयो नि ? 


–विनज जंग बस्नेत, उहाँलाई म बुवा भन्छु । उहाँकी छोरी मेरो दिदी सलिना अहिले अस्ट्रेलियामा हुनुहुन्छ । अस्ट्रेलिया जानुपूर्व उहाँ जापान हुनुहुन्थ्यो । अन्य विद्यार्थीको जस्तै मेरो पनि कुनै बेला विदेश जाने सपना थियो । यही सोचअनुरूप जापान जान प्रयास गरेकी थिएँ । तर मेरो एप्लिकेसन रिजेक्ट भइदियो । त्यहीँ क्रममा मेरो एक जना बाबु–छोरीसँग भेट भएको थियो । त्यसरी भेट हुने पात्र हुनुहुन्थ्यो– विनय जंग बस्नेत र सलिना बस्नेत । दिदीसँग मेरो अनुहार ठ्याक्कै मिल्ने । उमेर पनि करिब उस्तै । त्यसपछि हामीले फ्रेन्डसिप ग¥यौं । यही फ्रेन्डसिपले बुवासँग चिनजान भयो । र, त्यही चिनजानले मलाई समाज सेवामा ल्याइदियो । 

No description available.
 

० मृत शरीर देखेपछि धेरैजसो मानिसहरू डराउँछन् । तपाईंको उमेर समूहका मानिस त अझै धेरै डराउँछन् । तपाईं त बेवारिसे शव सम्बन्धित स्थानबाट ल्याएर आफैं जलाउनेसम्मका काम गर्नु हुन्छ । डर लाग्दैन ? 


–डर लाग्छ कि लाग्दैन भन्ने जवाफ दिनुअघि म एउटा घटनातर्फ तपाईंलाई लैजान्छु । एक वर्षअघि बुवाले मलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को शव गृहमा लिएर जानु भएको थियो । त्यहाँ थुप्रै लासहरू थिए । हाम्रो घरमा विभिन्न थरीका भाँडाकुँडा भएजस्तै । जीवनमै पहिलोपटक यसरी शवहरू देखेको थिएँ । यो देखेर निक्कै डराएँ । त्यहाँ बस्न पनि सकिनँ । बाहिर नस्किएर निक्कै बेर रोएँ । ‘कमजोर भएर हुँदैन, दह्रो हुनुपर्छ’ भनेर बुवाले सम्झाउनु भयो । तिमी मेरो छोरा हौं भनेर हौसला दिनुभयो । सुरु–सुरुमा डर लागे पनि अहिले सामान्य लाग्छ । 


० बेवारिसे शव व्यवस्थापन गर्दा कत्तिको भावुक बनाउँछ त्यसले ? 


–एकदमै धेरै छन् सम्झनाहरू ।  पहिलोपटक मैले १७ वर्षको किशोरीको शव व्यवस्थापन गरेको थिएँ । १७ वर्षे किशोरीको शव देखेर म निकै भावविह्वल बनेकी थिएँ । आफ्नै विगतलाई सम्झिएँ । सानो सर्करलमा रमाएर बसेको भए मेरो पनि यही हविगत हुन्थ्यो कि भनेर झसंग भएँ । 


अवैध सम्बन्धबाट जन्मिएका शिशुहरूले यो संसार देख्न नपाउँदै सदाका लागि आँखा चिम्लिनु परिरहेको छ । यो क्रम बढिरहेको छ । जसले कुनै बिगार गरेका थिएनन्, तिनीहरू महाअपराधीजस्तो आफ्नै आमाबाट निमोठिरहेका छन् । यसले मलाई निकै चिमोट्छ । मन भक्कानिन्छ । रुन्छ । तर के गर्नु नवजात शिशुहरूको शव आउने क्रम रोकिएकै छैन । म तपाईंमार्फत भन्न चाहन्छु– परिवार नियोजनका कैयन साधन छन् । नवजात शिशुको हत्या गर्नु निन्दनीय कर्म हो । यस्तो पाप नगर्नुस् । भोलि गिनिज बुकमै नाम लेखाए पनि त्यो कलंकको दाग कहिल्यै मेटिने छैन । ती हत्यारा नै हुनेछन् । लोकलाई ढाँट, छल गरे पनि तिनलाई पलपल त्यो अपराधले पोल्ने छ ।

No description available.
० तपाईं र तपाईंको संस्थाले अहिले के–के गरिरहनु भएको छ ? 


–हाम्रो संस्थाको अध्यक्ष बुवा विनयजंग बस्नेत हुनुहुन्छ । २४ जिल्लामा यसको शाखा छ । संस्था चाहिन्छ भनेर खोलेका हौं  । अहिले बुवा र हामीले व्यक्तिगत बेवारिसे र असहायहरूलाई खाना खुवाइरहेका छौं । ६ वर्षदेखि बुवाले बेवारिसेहरूको शव व्यवस्थापन गर्दै आइरहनु भएको छ । यो कामलाई पनि निरन्तरता दिइरहेका छौं । 


० कतिवटा शव व्यवस्थापन गर्नु भयो अहिलेसम्म ? 


–६ वर्षको दौरानमा हामीले २ सय ८१ शव व्यवस्थापन गरे छौं । मैलेचाहिँ २०७७ भदौ २५ गतेसम्म ५७ वटाको अन्त्येष्टि गरेँछु । 


० बेवारिसे शवको सूचनाचाहिँ तपाईंहरूसम्म कसरी आइपुग्छ ? 


–सुरुमा नेपाल प्रहरीका सरहरूले बुवालाई फोन गर्नुहुन्छ । पोस्टमास्टर्म गरेपछि उहाँहरूले पहिचान खोज्नु हुन्छ । पहिचान नभेटेपछि पत्र लेख्नुहुन्छ । त्यहीँ पत्रका आधारमा हामी शव लिएर जान्छौं । प्रहरी प्रशासनबाट हामीलाई पूर्ण सहयोग छ । 


० धार्मिक कर्म पनि गर्नुहुन्छ कि शव व्यवस्थापनपछि ? 


–मृत आत्माले शान्ति पाऊन् भनेर सुरुमा बुवा आफैं किरिया बस्नुहुन्थ्यो । तर यो व्यवहारिक भएन । १३ दिन किरिया गरेर बाहिर निस्किँदा फेरि अर्को शव लिएर पशुपति जानुपर्ने भयो । एकातिर बाहिर सक्रिय हुनुपर्ने आवश्यकता, अर्कातिर मृत्यु संस्कार पनि पूरा गर्नुपर्ने । वर्ष दिन नै किरिया बस्नुपर्ने अवस्था आएपछि बुवाले आफैं मृत्यु संस्कार गर्न छाडिदिनु भयो । अहिले हामीले मृत्यु संस्कार गर्न एक जना ब्राम्हणको व्यवस्था गरेका छौं । उहाँले अन्तिम संस्कार गरेका शवहरूको काजक्रिया गर्नुहुन्छ । केही महिना बिराएर श्राद्ध गर्छौं । आत्म शान्तिका लागि २–३ महिनाको बीचमा रुद्री पनि लगाउँछौं । 


० शव व्यवस्थापन गर्नुको भित्री ध्येयचाहिँ के हो तपाईंहरूको ? 


–उपभोग गर्न पाए पनि नपाए पनि मान्छेको आफ्नै मानव अधिकार हुन्छ । उपभोग गर्न नसकेको अवस्थामा पनि हरेक मान्छेले आफ्नो अधिकार खोज्छ । मरेपछि पनि हरेक मान्छेको शव सम्मानजनक ढंगले व्यवस्थापन हुनुपर्छ, मृत आत्माले शान्ति पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । अर्को कुरा, बेवारिसे शव कौवाले लुछेर खाने, खोलातिर फयाँक्ने कामले प्रदूषण पनि हुन्छ । धार्मिक र पर्यावरणीय दृष्टिले त्यस्ता शवहरू बेवारिसे छाड्नु उपयुक्त नहुने भएकाले हामीले यी सबै पक्षको ख्याल गर्दै बेवारिसे शव व्यवस्थापनको काम गरेका हौं । 


० शवहरू व्यवस्थापनमा खर्च पनि होला । स्रोतचाहिँ कसरी जुटिरहेको छ ? 


–खर्च त धेरै हुन्छ नि । स्रोत नभएपछि बेवारिसे  शव जलाउन बुवाले आफ्नो जग्गा नै सहकारीमा बन्दकी राख्नु भएको छ । बुवाले यो काम थाल्नु भएको ६ वर्ष भयो । यो अवधिमा उहाँले १५ लाख त ऋण नै लिइसक्नु भएको छ । ब्याजसमेत गरेर हाम्रो ऋण अहिले २० लाख पुगेको छ । पछिल्लो समय भने हाम्रो काम देखेर विभिन्न महानुभावहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ । ‘राज्यले गर्ने काम हामीले गरेका हौं । सहयोग नगर्नूस्, पर्दैन’ पनि भन्छौं हामी त । धेरैले त हामीलाई ‘पुण्यचाहिँ तपाईंहरू मात्रै कमाउने । हामीलाई नदिने भनेर’ गाली गर्दै  सहयोग गर्नुहुन्छ । विदेशमा रहनेहरूले अलि बढी सहयोग गरिरहनु भएको छ । 


० शव व्यवस्थापनको झन्झटिलो काममा प्रशासनबाट के कस्तो सहयोग पाइरहनु भएको छ ?

 
–प्रहरीबाट हामीले निक्कै धेरै सहयोग पाइरहेका छौं । उहाँहरूले शव व्यवस्थापनका लागि प्रति शव ३–४ हजार दिनुहुन्छ । प्रहरीको सहयोगप्रति हामी कृतज्ञ छौं । उहाँहरूको सम्मान गर्छौं । 


० पशुपति क्षेत्र विकास कोषबाट चाहिँ कत्तिको सहयोग पाउनु भएको छ नि ? 


–बेवारिसे शव व्यवस्थापन हाम्रो व्यवसाय होइन । धार्मिक, सांस्कृतिक, पर्यावरणीय पक्षलाई विचार गरेर हामीले यो काम गरेका हौं । तर पशुपति क्षेत्र विकास कोषले कहिल्यै यो कुरा बुझ्न चाहनु भएन । एउटा शवको अन्त्येटि गर्न कम्तीमा १०–१२ हजार रूपैयाँ लाग्छ । तर हामीले कुनै सहुलियत पाएका छैनौं । उहाँहरूले पाइला–पाइलाको हिसाब गर्नुहुन्छ । १ रूपैयाँ पनि छाड्नु हुन्न । कोषबाट हामीलाई लपेट्ने, दपेट्ने काम मात्र भइरहेको छ । कतिसम्म भने शव दर्ता नगरी हामीलाई टेकाउनसम्म दिइँदैन । कोषको यस्तो रवैयाबाट निकै चित्त दुख्छ । 

No description available.
० यसबारे पशुपति क्षेत्र विकास कोषको नेतृत्वसँग कुरा गर्नु भएन त ? 


–यसबारे बुवाले कोषमा प्रपोजल नै पेस गर्नु भएको थियो । हुन्छ–हुन्छ, हामी गरौंला भन्ने आश्वासन कोषका जिम्मेवार पदाधिकारीबाट पायौं । तर कामचाहिँ भएन ।


० बेवारिसे शवकै बारेमा कुरा गरौं । खासगरी कस्ता प्रकृतिका शवहरू बढी फेला पर्छन् ? 


–एउटै किसिमका भन्दा पनि फरक फरक प्रकृतिका बेवारिसे शवहरू भेटिन्छन् । धेरैजसो त अवैध सम्बन्धबाट जन्मिएका शिशुहरूको शव नै हुन्छ । अहिले पनि हामीसँग ४ वटा बच्चाका शव छन् । केही दिनमा जन्मिएर पनि आफ्नै बाबुआमाका कारण यो संसार देख्न नपाएका ती शिशुको शव व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं । 

वर्षौंदेखि आफन्तबाट टाढिएर सडकमा भौतारिँदा भौतारिँदै परलोक भएका, बाढीले बगाएर ल्याएका शव पनि उत्तिकै हुन्छन् । 


० मानिसको मृत्यु त निश्चित छ । यसलाई रोक्ने ल्याकत हामीसँग छैन । मरेर पनि बेवारिसे हुने क्रम त रोक्न सकिन्छ नि होइन ? 


–सडकमा अहिले पनि धेरै बेवारिसेहरू छन् । तिनको व्यवस्थापनका लागि आश्रम पनि बनिरहेका छन् । एनजीओ÷आईएनजीओहरू यसमा संलग्न हुनुहुन्छ । भन्दा तीतो सुनिएला । तर कतिपयको परोपकार र समाज सेवा देखावटी छ । पैसा आउन्जेल उहाँहरूले त्यस्ता बेवारिसेलाई आफ्नोमा राख्नुहुन्छ र बजेट आउन छाडेपछि सडकै ल्याएर हुत्याइदिनु हुन्छ । आश्रममा राखिएका कसैको मृत्यु भएमा अन्तिम संस्कार गर्ने काम पनि त्यहीँ आश्रमको हुन्छ । त्यो उहाँहरूको परिवारको सदस्य हो । सुन्दा अचम्म लाग्छ सक्छ । तर काठमाडौंका नाम चलेका आश्रमहरूले नै आश्रय दिएका र पछि मृत्यु भएकाको शव व्यवस्थापन गर्नुहुन्न । 


० तपाईंकै उमेरका किशोर, किशोरीहरू प्रायः यस्ता सामाजिक काममा लागेको देखिँदैन । फजुल काममा उनीहरूको ज्यादा समय व्यतीत हुन्छ । तपाईंले आफ्ना साथीभाइ, समाज र परिवारबाट समाज सेवाको पवित्र कर्ममा लाग्दा कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? 


–मलाई जन्म दिने मेरो बुवा र ममीको निक्कै सपोर्ट छ । ‘राम्रो काम गरिरहेकी छौं । अझै अगाडि बढ छोरी’ भनेर हौसला र माया दिनुहुन्छ । हिजोका दिनमा कुलतमा फसेका साथीको संगतमा लागेर मैले बुवा आमालाई निकै सताएकी थिएँ । मेरा साथीहरू अनावश्यक दुःख देखाएर मसँग पैसा माग्थे । म भने कसैको दुःख देख्नै नसक्ने । बुवाआमालाई आफ्ना साथीका लागि झुट बोलेर रकम दिन जिद्धी गर्थेँ । पैसा नदिए आत्महत्या गर्छु भनेर धम्क्याउथेँ । गलत संगतमा लागेको छोरी अहिले पुण्य कर्ममा लागेको देखेर बुवाममी निक्कै खुसी हुनुहुन्छ । समाज र साथीभाइले पनि मेरो कामको उत्तिकै प्रशंसा गरिरहनु भएको छ । उहाँहरू सबैप्रति म कृतज्ञ छु । 


० अहिलेको पछिल्लो पुस्ता रमाउने भयो । आफ्ना परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, समाजसेवा र आफ्नोपन प्रति पूरै बेमतलबी भयो भन्ने आरोप पनि लाग्ने गर्छ । यस्तै हो ? 


– मेरो पुस्ता तपाईंले भनेजस्तो आफ्नो संस्कार, संस्कृति, परम्पराप्रति पूरै बेमतलबी भयो भन्ने सत्य होइन । धेरै जना परोपकार र समाज सेवामा हुनुहुन्छ । तर जति हुनुपर्दथ्यो त्यतिचाहिँ भएको छैन जस्तो लाग्छ ।  बढी स्वतन्त्रताले पनि अहिलेको पुस्ताले ग्रहण गर्नुपर्ने कुरा गरेन कि जस्तो लाग्छ । प्रविधिको विकास र बजारमा उपलब्ध फिल्मलगायतको भूमिका पनि उत्तिकै छ । बजार र सामाजिक सञ्जालमा उपलब्ध सामग्रीले पनि आफ्नोपनमा भन्दा पराइको विषयमा रमाउनो बनायो कि ? 


० अबको नयाँ पुस्तालाई आफ्नोपनप्रति आकर्षित गर्न के गर्नुपर्ला ? 


– हेर्नुस्, पहिलो पाठशाला भनेको घर नै हो । त्यसैले पहिले त अभिभावकले नै आफ्नो सन्तानलाई राम्रो कुरा सिकाउनु प¥यो । राज्यले पनि नागरिकलाई कस्तो बनाउने भनेर त्यहीँअनुरूपको शिक्षानीति बनाउनु प¥यो । 


० समाज सेवामा सानैदेखि होमिनु भएको छ । कहिलेसम्म सेवा गरिरहने सोच्नु भएको छ ? 


–समाज सेवा त मेरो जीवनको अभिन्न अंग भयोे । यो मेरो नशानशामा छ । जबसम्म यो धर्तीमा मेरो अस्तित्व हुन्छ, तबसम्म म समाज सेवा गरिरहेको हुनेछु । यसबाट म विमुख हुने छैन । अध्ययन पनि गर्नुपर्ने छ । त्यो पनि निरन्तर नै चलिरहन्छ । लकडाउनका कारण अहिले यो प्रभावित भए पनि अवस्था सहज भएपछि ब्याचलर ज्वाइन गर्छु । 


० भावी योजनाहरूचाहिँ के–के छन् तपाईंका, सुनाइदिनुहोस् न ?


–लामो समयदेखि बेवारिसे शव व्यवस्थापन गरिरहेका छौं । अहिले भने बेवारिसे मानिसहरूको व्यवस्थापनतर्फ पनि सोचिरहेका छौं । यसका लागि महालक्ष्मीस्थान नगरपालिका–७, टीकाथली, ललितपुरमा बा–आमा घर आश्रम निर्माण हुँदैछ ।

 

सडकमा जति पनि अलपत्र पर्नुहुन्छ, उहाँहरूको व्यवस्थापनका लागि भनेर हामीले आश्रमको निर्माण थालेका हौं । अहिले हाम्रो संस्थाको शाखा २४ जिल्लामा छ । त्यसलाई विस्तार गरेर ७७ वटै जिल्लामा बा–आमा आश्रम निर्माण गर्ने वृहत् सोच पनि छ ।

 

सोच फराकिलो भए पनि हामीसँग आर्थिक स्रोतको अभाव छ । बुवाले आफ्नै जग्गामा आश्रम निर्माण थाल्नु भए पनि आर्थिक अभावकै कारण यसको आधा काम हुन सकिरहेको छैन । सहयोगी मनहरूले ३ लाख रूपैयाँ सहयोग गर्नु भएको छ । अब ६÷७ लाख भयो भने आश्रम तयार हुन्थ्यो भन्ने बुवाको भनाइ छ । 


० राजनीतिलाई चाहिँ कसरी हेरिरहनु भएको छ ? 


–भन्नलाई दल र नेताहरूले देश र जनताका लागि राजनीति गरेको भन्नु हुन्छ । तर उहाँहरूले जसका लागि राजनीति गरेको छु भन्नु हुन्छ, त्यो वर्गले त केही लाभ पाइरहनु भएकै छैन । त्यसैले यो नेपालको राजनीति म केही बुझ्दिनँ । 


० दल र नेतालाई के भन्न चाहनु हुन्छ ? 


–सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू नेतृत्वको सरकारले लकडाउन र निषेधाज्ञा गरिरहेको छ । लकडाउनले मान्छे भोकभोकै मर्ने अवस्था सिर्जना भइरहेको छ । तर उपयुक्त विकल्प केही पनि तयार गरिएको छैन । सडकमा भएका बेवारिसेको व्यवस्थापन सरकारले गर्नुपर्ने हो । तर भइरहेको छैन । लकडाउनमै एक जना बेवारिसे मानिसले काठमाडौंमा आत्महत्या गर्नु भयो । त्यो माग्नेलाई के को चिन्ता थियो होला र आत्महत्या गर्नु भयो ? यो गम्भीर विषय हो । यसमा सबैले समीक्षा गर्नुपर्छ । 


भोकले मान्छे नमरुन्, बेवारिसे लासको संख्या नथपियोस् भनेर हामीले भोजनको व्यवस्था गरेका छौं । अघिल्लो पटक लकडाउनमा पनि ग¥यौं । निषेधाज्ञा लागेपछि पनि यो जारी छ । राज्यले गर्ने काम व्यक्तिगत रूपमा गरिरहेका छौं । राज्यले  छिट्टै बेवारिसे जीवन बिताइरहेका असहाय नागरिकको दायित्व लिइदेओस्, अभिभावकत्व ग्रहण गरोस् भन्ने मेरो आग्रह छ । 
 

प्रतिकृया दिनुहोस