• शुक्रबार-बैशाख-१४-२०८१

भ्यालीको दानाले किसानको कुखुरा सखाप : कारबाही मागको उजुरीमा सुनुवाइ नै भएन 

 

काठमाडौं । झापाको मेचीनगरस्थित भ्याली एग्रोफिड प्रालिले उत्पादन गरेको कुखुराको दाना गुणस्तरहीन भएको पाइएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा भ्यालीले उत्पादन गरेको दानाको रिपोर्ट गुणस्तरहीन आएको हो । भ्याली एग्रो फिड प्रालि भ्याली ग्रुपले सञ्चालन गरेको हो । यसले कुखुराका चल्लादेखि उत्पादन गर्दै आएको । दाना तथा चल्ला उत्पादनका लागि यसका १४ वटा त प्लान्ट नै छन् । यसको प्लान्ट झापाको मेचीनगर–१३, दुवागढीमा रहेको छ । 


भ्यालीले उत्पादन गरेको दाना ‘पेलेट फिड बी–१ बोइलर स्टार्टर’ को खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको प्रयोगशालामा गुणस्तर परीक्षण गरिएको थियो । भ्याली ग्रुपले नै गराएको उक्त परीक्षणमा सरकारले तोकेको मापदण्ड पूरा नगरेको भेटिएको थियो । सरकारी ल्याबले दिएको रिपोर्टमा बी वान दानामा मापदण्ड पूरा नभएको उल्लेख छ । 


सरकारी ल्याबसँगै भ्यालीले उत्पादन गरेको दानाबारे अन्य  प्रयोगशालामा पनि परीक्षण गरिएका थिए । नेपाल इन्भाइरोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेज प्रालिमा किसान आफैंले गुणस्तर परीक्षण गराएका थिए । जसको परीक्षण रिपोर्टमा बी १ दानामा सिसा (लिड) को मात्रा निकै बढी रहेको उल्लेख छ । दानामा मिसिएको लिडले कुखुरालाई असर गर्छ ।


भ्यालीले कुखुराको दानासँगै गाईको दाना पनि उत्पादन गर्ने गरेको छ । धेरै किसानले भ्यालीको दानामा विश्वास गरेर प्रयोग गर्ने गरेका छन् । तर कुखुराको दानामा जस्तै गाईको दानामा पनि कैफियत भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको ल्याबमा गरिएको परीक्षणमा गाईको दानामा समेत कैफियत भेटिएको हो । खाद्यको परीक्षण रिपोर्टमा गाईको दानामा सरकारले तोकेको मापदण्ड नपुगेको उल्लेख छ ।  


दाना खुवाउँदा हजारौं कुखुरा मरे 


भ्यालीले उत्पादन गरेको कुखुराको दाना विश्वास गरेर कुखुरालाई खुवाउँदा वृद्धि विकासको साटो उल्टो नकारात्मक असर गरेको गुनासो कुखुरापालक व्यवसायीले गरेका छन् । मोरङस्थित पोल्टी फार्मका सञ्चालक डा. सीताराम यादवले भ्यालीको विश्वासमा परेर दाना खुवाउँदा आफ्नो १५ हजारभन्दा बढी कुखुरा मरेको दाबी गरेका छन् । 
बिर्तामोडमा रहेको सरोज भेट्स फर्माबाट खरीद गरी लगेको दाना खुवाउँदा हजारौं कुखुरा मरेको बताइएको छ । 


यादवजस्तै अन्य कुखुरापालक व्यवसायीले पनि भ्यालीको भर परेर दाना खुवाउँदा कुखुराको वृद्धि विकासमा समस्या आएको बताएका छन् । व्यवसायीहरूका भ्यालीको दानाले कुखुराको तौल नबढ्ने समस्या देखिएको छ । दानाकै कारण कुखुरा झोक्राउने र मर्ने गरेको गुनासो पनि कुखुरापालकहरूको छ । 


पीडित किसानहरूले गुणस्तरहीन दानाका कारण आफूले पालेका कुखुरा मरेको तथा वृद्धि विकासमा असर परेको भन्दै दाना उत्पादक कम्पनी भ्यालीमाथि कारबाही गर्न माग गरेका छन् । उनीहरूले दानाका कारण नोक्सान भएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् । 


यसबारे कुराकानी गर्न भ्यालीका सञ्चालक विवेक निरौलासँग सम्पर्क गर्दा स्थापित हुन सकेन । 


बिक्री गर्ने डिलर गरे कारबाही माग 


भ्यालीको दाना विभिन्न डिलरहरूले बिक्री वितरण गर्दै आएका छन् । विर्तामोडस्थित सरोज भेट्स फर्मा भ्यालीमा उत्पादित दाना बिक्री गर्ने विभिन्न डिलरमध्ये एक हो । यो डिलरले भ्यालीको दानाले कुखुरापालकलाई नोक्सानी पुगेको दाबी गर्दै कारबाही तथा क्षतिपूर्तिको माग गरेको छ । फर्माका सञ्चालक सरोज भट्टराईले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई पत्र लेख्दै भ्यालीमाथि कारबाही गर्न तथा कुखुरापालकलाई क्षतिपूर्ति भराउन माग गरेका हुन् । 


गत साउन २१ गते लेखिएको उक्त पत्रमा भ्यालीले उत्पादन गरेको दाना आफूले कुखुरापालकलाई बिक्री गर्दै आएको र कुखुराको उत्पादन सन्तोषजनक नभेटिएको उल्लेख छ । यसबारे विभिन्न समयमा उद्योगलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो पनि उनले गरेका छन् ।

 

दाना उत्पादक कम्पनी भ्याली एग्रो फिड प्रालिले गुनासो सुनुवाइ नगरी गुणस्तरहीन दाना उत्पादन गर्दा किसानले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उनले आवश्यक कारबाही गरी क्षतिपूर्ति दिलाउन माग गरेका छन् । 


त्यस्तै, किसानहरूले पनि विभिन्न निकायलाई न्यायका लागि गुहारेका छन् । कुखुरापालक कृषकहरूका अनुसार उनीहरूले संघीय मन्त्रालयसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, झापा, भेटेरिनरी अस्पताल तथा पशुपंक्षी सेवा विज्ञ केन्द्र झापामा पनि उजुरी गरेका छन् । 


सरकारका तल्लोदेखि उपल्लो निकायसम्म भ्याली फिडले उत्पादन गरेको दानाबारे गुनासो गरे पनि अहिलेसम्म कहीँ कतैबाट सुनुवाइ नभएको पीडित किसानहरूको गुनासो । समयमै मल नल्याएका ठेकेदारको धरौटी जफत गरेर चर्चामा आएका घनश्याम भुसालले सम्हालेको मन्त्रालयले समेत अहिलेसम्म यसबारे सुनुवाइ नगरेको किसानको भनाइ छ ।

 

‘हामीले भ्याली एग्रो फिडले उत्पादन गरेको दाना गुणस्तरहीन रहेको प्रयोगशालाको रिपोर्टसहित केन्द्रमा कृषि मन्त्रालयदेखि त्योभन्दा तलका निकायमा पनि उजुरी दिएका थियौं,’ एक पीडित किसानले भने, ‘न्यायका लागि उजुरी दिए पनि अहिलेसम्म कहीँ कतैबाट सुनुवाइ भएको छैन । मलमा झेल गर्ने ठेकेदारलाई कारबाही गरेका कृषि मन्त्री घनश्याम भुसालले हाम्रो माग सुनुवाइ गर्लान् कि भन्ने विश्वास हामीले लिएका छौं ।’ 


कुखुराको दानामा यसअघि पनि कैफियत देखिएका थिए । कैफियत देखिए पनि विगतमा कारबाही नभएकाले यसपटक पनि त्यसैले निरन्तरता पाउने चिन्ता किसानहरूको छ । राजनीतिक तहमा पहुँच भएका व्यक्ति भ्यालीका सञ्चालक रहेकाले उन्मुक्ति पाउने चिन्ता पनि किसानहरूले व्यक्त गरेका छन् ।
 

प्रतिकृया दिनुहोस