• शनिबार-कार्तिक-१५-२०७७

रबर खेती त दुहुनो गाईजस्तै हो 

 

(नेपालमा वार्षिक अर्बौंको रबर तथा रबरजन्य वस्तुको माग छ । तर मागको २ प्रतिशत मात्र स्वदेशमा उत्पादन हुँदा अर्बौं रूपैयाँ विदेश गइरहेको छ । रबरको बढ्दो मागलाई बुझेर ३२ वर्षअघि नै रबरखेती विज्ञ तिलक भण्डारीले यसको अनुसन्धान थालेका थिए । ९ वर्ष उनले यसकै अनुसन्धानमा बिताए पनि । तर अपेक्षित सहयोग राज्यबाट पाएनन् । त्यसपछि उनले अमेरिकालाई आफ्नो गन्तव्य बनाए । अमेरिका गए पनि उनको ध्यान–चित्त भने रबरखेतीको विस्तार र प्रवद्र्धनमै रहिरह्यो । त्यसैले अमेरिकाको हुँदाखाँदाको स्थापित जीवनबाट फर्केर २ वर्षअघि नेपाल आएका  उनी यसको विकासमा मरिमेटेर लागिरहेका छन् । नेपालमा रबरखेती र यसको सम्भावनाबारे केन्द्रित रहेर उनै भण्डारीसँग यसपटक साँघु प्रतिनिधि सुयोग शर्माले भलाकुसारी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः सम्पादक) 

 


० नेपालमा रबर खेतीको सम्भावना कस्तो छ ? 
–२०४५ मा म गोरखकाली रबर उद्योगमा कार्यरत थिएँ । त्यतिबेला हाम्रो प्रयासमा झापाको शनिश्चरेमा  साँढे ७ बिघा क्षेत्रफलमा पाइलट प्रोजेक्टका रूपमा फार्म स्थापना गरिएको थियो । पछि झापाका अरू स्थानसँगै मोरङ, सुनसरीमा पनि यस्तै फार्म स्थापना गरियो, पाइलट प्रोजेक्टका रूपमा । यी फार्मबाट पहिलोपटक २०५३ सालमा रबर उत्पादन भयो । रबरको गुणस्तर ५ किसिमको हुन्छ । हामीले स्थापना गरेको फर्मबाट सबैभन्दा उत्कृष्ट ‘ए’ ग्रेडको रबर उत्पादन भयो । आर्थिक वर्ष ०६७/६८ मा हाम्रो योगदानको कदर गर्दै नास्टले १४ वैज्ञानिकलाई पुरस्कृत समेत गरेको थियो । यसले नेपालमा रबर खेतीको सम्भावना राम्रो रहेको देखाउँछ । 


० एउटै गोरखकाली रबर उद्योग पनि ३ वर्षदेखि बन्द छ । नेपालमा अहिले रबर खेतीको अवस्थाचाहिँ कस्तो छ त ? 
–नेपालमा संस्थागत रूपमा रबर खेती भएको ३२ वर्ष भयो । त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियन्ता म स्वयं हुँ । यो बीचमा रबर खेती जति हुनुपर्ने हो त्यति भएको छैन । सरकारी तथ्यांकअनुसार, हाल ५ सय ५५ हेक्टर क्षेत्रफलमा मात्र रबर खेती भइरहेको छ । 


० रबर खेतीका निम्ति आवश्यक पर्ने हावापानीचाहिँ कस्तो हो ? 
–तापक्रम, वर्षा, सतह, हावापानी सबैको संयोजन मिलेको हुनुपर्छ, रबरखेतीका लागि । त्यसैले भौगोलिक विविधता भएको नेपालको सबै स्थानमा यो खेती सम्भव छैन । पहिलो त यो खेतीका लागि समुद्री सतहबाट ५०० मिटरको उचाइ उपयुक्त हुन्छ । खेती त ९०० मिटरसम्म पनि गर्न सकिन्छ, नसकिने होइन । तर उच्च स्थानमा खेती हुने रबरको जात अहिलेसम्म नेपालमा भित्रिन सकेको छैन । चीनलगायतका केही देशमा उच्च भागमा लगाउन मिल्ने रबरको जात पाइन्छ । तर अहिलेसम्म नेपालमा यो भित्रिएको छैन । प्रयासचाहिँ भइरहेको छ । 

अर्को कुरा, रबर खेती धान फल्ने खेतमा हुँदैन । पानी नजम्ने भिरालो जग्गामा मात्र यो फस्टाउँछ । एक मिटर खन्दा गेगर र ढुंगा आउने स्थान पनि रबरका लागि प्रतिकूल मानिन्छ । रबरका लागि पानी पर्याप्त चाहिन्छ । वर्षमा १८०० मिलिलिटर भन्दा बढी पानी पर्ने ठाउँ यसका लागि उम्दा राम्रो मानिन्छ । हावाको आद्रता ८० प्रतिशतभन्दा बढी हुनुपर्ने मान्यता छ । तापक्रमको हकमा चाहिँ न्यूनतम १० भन्दा माथि र अधिकतम् ३८ डिग्री सेल्सियसभन्दा तल उपयुक्त हुन्छ । कहिलेकाहीँ यसमा केही तलमाथि पर्दा खास फरक त पर्दैन । 


० भनेपछि नेपालको कुन–कुन जिल्लामा यसको सम्भावना छ ? 
–कृषि मन्त्रालयले केही समयअघि रबर खेतीको अवस्था र सम्भावनाबारे अध्ययन गर्न एउटा कार्यदल गठन गरेको थियो । विगतमा पटक पटक यसबारे सम्भाव्यता अध्ययन भइराखेका छन् ।  त्यो कार्यदलले आफ्नो अध्ययनपछि प्रतिवेदन दिएको छ । उक्त प्रतिवेदनअनुसार, २० हजार हेक्टर अर्थात् लगभग ३० हजार बिघा जग्गा रबर खेतीका लागि उपयुक्त छ, नेपालमा । झापा, सुनसरी, इलामको तल्लो बेल्ट, सप्तरी र उदयपुर उपयुक्त हुने कार्यदलको सिफारिस छ । त्यस्तै, चितवन, मकवानपुर, नवलपुर र गोरखा, लमजुङ र तनहुँको तल्लो भेगमा पनि यो खेती गर्न सकिन्छ । सबै स्थानमा नभए पनि तनहुँको तल्लो बेल्टमा पनि कार्यदलले सम्भावना औंल्याएको छ । 


० यो खेती थोरै जग्गा र ठूलो लगानी गर्न नसक्ने किसानले चाहेमा कति सहज छ ? 
–ठूला, साना, धनी गरीब, सबै किसानका लागि उपयुक्त खेती हो, रबर । १ रोपनी, १ कट्ठा जग्गा भएको किसानले पनि रबरखेती गर्न सक्नुहुन्छ ।  धेरै–धेरै जग्गा भएकाको लागि त यो अझै राम्रो हुन्छ । विदेशमा त एउटै फार्म १ लाख हेक्टरका समेत छन् । नेपालको सन्दर्भमा कुरा गर्दा इलामको दानाबारीमा सबैभन्दा ठूलो १७५ बिघाको रबरखेती फार्म छ । झापामा १०० बिघाको छ । ५०, २०, १० ,५, २, १ बिघा त धेरै ठाउँमा छन् । 


० रबर खेती गर्न सहज, असहज, कस्तो छ ? 
–यो एकदमै सजिलो खेती हो । यसको बिउ हुन्छ, सुरुमा त्यसलाई छरेर बिरुवा उत्पादन गर्ने प्रक्रिया हुन्छ । १ वर्ष नर्सरीमा राखेर त्यसलाई उन्नत तरिकाले कलमी गरिन्छ र ४ देखि ६ फिट अग्लो भएपछि रोप्ने गरिन्छ । यसबाट चोप उत्पादन गर्न भने ६ वर्ष लाग्छ । ४ वर्षसम्म अन्य अन्तर बाली पनि लगाउन सकिन्छ । ६ वर्षपछि भने यसले लगातार २८, २९ वर्षसम्म रबर उत्पादन गरिरहन्छ । वर्षको ९ महिना प्रत्येक दिन बिराएर चोप लिन सक्छौं । यो रबर खेती त दुहुनो गाईजस्तै हो । संसारले यसलाई ह्वाइट गोल्डका रूपमा चिनेको छ । 


० लगानी कति हुन्छ ? 
–अन्तर्राष्ट्रिय र राष्ट्रिय तथ्यांकअनुसार, डेढ बिघा जग्गामा रबरखेती गर्न साढे ३ लाख लाग्छ । यो खर्च रबर उत्पादन हुन लाग्ने ६ वर्षसम्मको हो । ६ वर्षपछि भने यसले राम्रो आम्दानी दिन्छ । मैले अघि नै भनेँ नि दुहुनो गाईजस्तै हो यो । 


० कमाइचाहिँ कति हुन्छ ?
–वार्षिक १ बिघाबाट खर्च कटाएर खुद तीन लाख आम्दानी हुन्छ । 


० सरकारी सहयोग कत्तिको मिलिरहेको छ रबरखेती गर्ने किसानलाई ? 
–सरकारले रबरखेती जोन घोषणा गर्दै त्यसका लागि ३५ लाख रूपैयाँ छुट्याएको छ । अन्यत्र १ करोड ४५ लाख छ । तर किसानहरू पूरै उपेक्षामा छन् । स्कुस र अँगेरीलाई प्रवद्र्धन गर्ने सरकारबाट उनीहरूले ऋण र बाली बीमा पाउन सकेका छैनन् । विशेषज्ञ सेवा त अझै दुरुह छ । 


० यसको मूल्य र बजारबारे पनि बताइदिनुहोस् त 
–नेपालमा सरकारी तबरबाट स्थापना भएको एउटै रबर उद्योग थियो– गोरखकाली रबर उद्योग । तर यो ३ वर्षदेखि बन्द छ । त्यसैले उत्पादित रबर सरकारी निकायले लिने अवस्था छैन । तर निजी क्षेत्रमा रबर उद्योग खुलेकाले यसको बजार ठूलो छ । नेपालमा ५ सयदेखि ६ सयसम्म रबर उद्योग छन् । साढे ३०० त जुत्ता चप्पल फ्याक्टी नै छन् नेपालमा । जुत्ता र चप्पलका लागि यही चाहिन्छ । ३०० भन्दा बढी टायर रिसोलिङ सेन्टर छन् । विशाल ग्रुप छ, ५० करोड लगानीमा खुलेको । चितवनको शक्तिखोरमा २० औं करोडको लगानीमा ठूलो फ्याक्ट्री खुल्दै छ । सम्भवतः अबको २–३ महिनामा यो सञ्चालनमा आउने छ । 


दमकमा पनि टायर फ्याक्ट्री खोल्ने तयारी भइरहेको छ । मैले प्राप्त गरेको जानकारी अनुसार, त्यहाँ उद्योग खोल्न अनुमति लिइसकिएको छ । यसबाहेक अरू थुप्रै फ्याक्ट्री निकट भविष्यमा खुल्दैछन् । रबरबाट ५० औं थरीका सामग्री बन्छन् । त्यसैले वर्षौं वर्षलाई पुग्ने मार्केट अहिले नै हामीसँग छ । नेपालमा एक वर्षमा १० अर्ब ५४ करोड बराबरको त टिउब–टायरकै कारोबार हुन्छ । अझ जुत्ता चप्पल त २० अर्बको कारोबार हुन्छ । अबको दस वर्षमा ५० अर्बको रबरको कारोबार गर्ने ल्याकत नेपाली बजारको हुन्छ । स्वदेशमा उत्पादन गरेको रबरले कति प्रतिशत माग धानेको छ ? त्यसैले नेपालमा रबरखेतीको सम्भावना अथाह छ । यसमा कसैले लघुताभाष नमाने हुन्छ । निर्धक्कसँग अहिलेदेखि नै रबरखेती गर्ने हो भने यसले व्यक्ति र देश दुवैलाई समृद्ध पार्ने छ । 


० भनेपछि रबरमा त हामी पूरै परनिर्भर पो रहेछौं त ? 
–हो, ९८ प्रतिशत रबर अहिले विदेशबाट आयात भइरहेको छ । हाम्रो उत्पादनले देशभित्रको मात्रै २ प्रतिशत माग धानेको छ । अर्बौं, अर्ब बाहिर गइरहेको छ । २५ हजारलाई हामीले रबरजन्य वस्तुको उत्पादनबाट रोजगारी दिन सक्छौं । तर त्यो गुमिरहेको छ । बिघौं बिघा जग्गामा यो लगाउने हो भने भने रोजगारी सिर्जना गर्न सकिन्छ । 


० बहुआयामिक बाली पनि हो भनिन्छ रबर । यसबाट अरू के–के लाभ लिन सकिन्छ ? 
–रबर बहुआयामिक बाली हो । यसबाट मौरी पालन पनि गर्न सकिन्छ । यसको दाना कलर बनाउने कच्चा पदार्थका रूपमा प्रयोग हुने भएकाले त्यसबाट पनि लाभ लिन सकिन्छ । डेढ बिघाको जग्गामा रबर खेतीगर्ने हो भने ३५ वर्षमा ८० लाखको त काठ मात्रै उत्पादन हुन्छ । संसारको इकोनोमी धान्ने पांग्रा हो, रबर । पर्यावरण, आर्थिक हिसाबले पनि राम्रो छ । बीबीसीका अनुसार १० हजार किलोमिटरबाट धुलो आउँछ नेपालमा । त्यसलाई पनि यसले सोस्न सघाउँछ । 


 ० विदेशतिर रबरखेतीको अवस्था कस्तो छ नि ? 
–इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, बर्मा, कम्बोडिया भियतनाम, श्रीलंका, भारत, चीन रबरखेतीका राजा मुलुक हुन् । यिनले विश्वमा खपत हुने ९५ प्रतिशत रबर उत्पादन गर्छन् । थाइल्याण्डको त यो दोस्रो महत्वपूर्ण बाली हो । नेपालीहरूको श्रम गन्तव्य मलेसियाले रबरखेतीकै बलमा परक्यापिटा इन्कम ११ हजार पु¥याउन सफल भएको छ । जबकि हाम्रो परक्यापिटा इन्कम मात्र १०८४ छ । यसबाट पनि हामी समृद्धिलाई जोड्ने खेती रबर हो भनेर बुझ्न सक्छौं । 


० यति धेरै सम्भावना रहेछ रबरको । तर यसको चर्चा खासै सुनिँदैन । यो सरकारको प्राथमिकतामा किन नपरेको होला ? 
–सयौं किसानले खेती गर्नु भएको छ, हजारौं किसान उत्सुक हुनुहुन्छ रबरखेतीप्रति । रबरखेतीको सम्भावनाबारे राज्यको ध्यानाकर्षण गराउन हामीले भगरिथ प्रयत्न ग¥यौं । गरिरहेका छौं । कसलाई भेटेनौं ? कसलाई भनेनौं ? गर्नुपर्ने सबै ग¥यौं । तर देशलाई समृद्धिको दिशामा अघि बढाउने नारा दिइरहेको सरकार अर्बौं उत्पादन गर्न सकिने रबरखेतीलाई पन्छाएर स्कुस र वनमा पाइने अंगेरीलाई प्राथमिकता दिइरहेको छ । फलाम र सुनमा अन्तर छुट्याउन नसकेपछि के लाग्छ र ? 


० बजेटमा त परेको छ नि होइन र ? 
–ढिलै भए पनि बजेटमा चाहिँ परेको छ । तर सरकारको नीति तथा कार्यक्रममा भने समेटिएको छैन । प्रधानमन्त्री, वन मन्त्री राष्टिय योजना आयोगका उपाध्यक्षलाई भेटेका छौं । यसलाई समेट्ने भन्नु भएको छ तर अहिलेसम्म परेको छैन । 


० समृद्धिका लागि वरदान हुने सेतो सुनबारे किन सुनिएन होला ? 
–पुरानो चिन्तनले हामीमा घर गरेको छ । यसमा परिवर्तन आउनु पर्छ । थाइल्यान्ड, मलेसिया कसरी धनी बने ? हामीले अब अरूको उदाहरण लिने होइन, बन्ने हो । विदेशमा हामी देख्छौं, तर एयरपोर्टमा झरेपछि सबै बिर्सिन्छौं । अब हामी सबैले उदाहरणीय बन्नेतिर लाग्नुपर्छ । 

तपाईंलाई रबरखेतीको पायोनियर भनिन्छ । यो खेतीको विस्तार र प्रवद्र्धनमा चाहिँ कसरी जोडिनुभयो ?
 
घर मेरो गोरखा । हाम्रै जिल्लामा गोरखकाली रबर उद्योग स्थापना भयो । रामपुरमा अध्ययन गर्दा रबरबारे अलिअलि अध्ययन गरेको थिएँ । पछि रबरबारे अनुसन्धान गर्न मन लाग्यो । ९ वर्ष अनुसन्धानमा खर्चिएँ । अहिले पनि अनुसन्धान र यसको प्रचारप्रसारमै छु । ६४०० रूपैयाँको जागिर छाडेर २३०० रूपैयाँको जागिर खान गोरखकाली रबर उद्योगमा रबर खेतीको अनुसन्धानकै लागि गएको हुँ । 
  
विकास बोर्डमा पनि तपाईं आबद्ध हुनुहुन्थ्यो होइन ?
 
हो, ०५० मा सरकारले विकास बोर्ड गठन ग¥यो । म त्यसको सदस्य–सचिव थिएँ । तर काम गर्ने माहोल भएन । त्यसपछि अमेरिका गएँ । २१ वर्ष अमेरिकामा बसेँ । त्यहाँ पनि म र अन्य प्रोफेसर, प्राज्ञ, विज्ञ मिलेर रबरसम्बन्धी इन्ष्टिच्युट खोलेका थियौं । २१ वर्ष बसेपछि स्वदेश फर्किएँ । 

अमेरिकामा सेटल भइसकेका मानिस अक्सर नेपाल फर्किंदैनन् । तपाईं फेरि किन आउनु भयो ? 

रबरखेती नेपालमा सुरु गर्ने पहिलो व्यक्ति म नै थिएँ । आफूले सुरु गरेको अभियानको माया सन्तानको जत्तिकै लाग्दो रहेछ । त्यसैले विगतमा पूरा हुन नसकेका आफ्ना अधुरा योजना पूरा गर्न हिम्मत निकालेर २ वर्षअघि नेपाल फर्किएँ । अहिले यसमै काम गरिरहेको छु ।

 
आफैंले चाहिँ लगाउनु भएको छ कि छैन ? 
 
मेरो जन्मथलो गोरखाको पालुङटार हो । मैले आफैंले चाहिँ लगाएको छैन । म यसको अनुसन्धानकर्ता, प्रवद्र्धक राष्ट्रिय÷अन्तर्राष्ट्रिय अभियन्तासँगै भोलियन्टिएर पनि हुँ । रबरको झण्डै १ करोड विरुवा रोप्ने मेरो योजना छ । 

प्रतिकृया दिनुहोस