• मंगलबार-बैशाख-११-२०८१

कोरोनाबाट गयो थप २ पत्रकारको ज्यान

 

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट थप दुई पत्रकारको निधन भएको छ । काभ्रे पोस्ट साप्ताहिकका प्रकाशक एवं प्रधान सम्पादक विष्णु चौलागाईं र हाम्रो सञ्चार डटकमका प्रधान सम्पादक गोपाल शिवाको कोरोनाबाट मृत्यु भएको हो । 

(हाम्रो सञ्चार डटकमका प्रधान सम्पादक गोपाल शिवा)


चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । संक्रमित पत्रकार चौलागाईंको उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । 


चौलागाईं लामो समयदेखि पत्रकारितामा सक्रिय थिए । शिक्षण पेसामा समेत आबद्ध चौलागाईंले स्थानीय समाचारलाई प्राथमिकता दिने गरेका थिए । यही कारण उनले प्रकाशन एवं सम्पादन गर्दै आएको पत्रिका काभ्रेमा चर्चित छ ।


पत्रकार चौलागाईं र  गाेपाल शिवाको निधनप्रति पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलगायतले दुःख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  


योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउने पत्रकारको संख्या ४ पुगेको छ । यसअघि कपिलवस्तुका पत्रकार वनारसी वर्मा र मेटो एफएममा कार्यरत विक्रम शाक्यको पनि कोरोनाबाट मृत्यु भएको छ । 


कोरोना भाइरसबाट अहिलेसम्म ४१० पत्रकार संक्रमित बनेको नेपाल पत्रकार महासंघले जनाएको छ । संक्रमित हुनेमा ८० जना महिला पत्रकार छन् । यीमध्ये अधिकांश संक्रमणमुक्त भइसकेका छन् । 
 

 

प्रतिकृया दिनुहोस