• बिहीबार-बैशाख-६-२०८१

चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशित

 


२०७७ कार्तिक २० गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘चू याँ’ नामक चिनियाँ सांस्कृतिक नाटक पुनः प्रकाशित भएको छ । वि.सं. २०१८ सालमा पहिलो संस्करण प्रकाशित भएको उक्त नाट्यकृति ५८ वर्षपछि दोस्रो संस्करणका रूपमा प्रकाशित भएको हो ।

 

कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशी साहित्यका बहुमूल्य एवम् उत्कृष्ट सृजनाहरूलाई नेपाली भाषामा रूपान्तरण गरी छाप्ने प्रज्ञा–प्रतिष्ठानको नीतिअन्तर्गत ऐतिहासिक र विशिष्ट महत्त्व बोकेको चिनियाँ सांस्कृतिक नाटक ‘चू याँ’ पुनः प्रकाशन गरिएको बताउनुभयो ।


विख्यात चिनियाँ संस्कृतिकर्मी, लेखक, तत्कालीन चिनियाँ एकेडेमीका अध्यक्ष एवम् तत्कालीन चीन सरकारका मन्त्री को–मो–जोद्वारा लिखित ‘चू याँ’ नामक नाटक देवेन्द्रराज अज्र्यालले चिनियाँ भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उक्त नाट्यकृति तत्कालीन नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माका पालामा वि.सं. २०१८ सालमा प्रथम पटक प्रकाशन भएको थियो ।  


चिनियाँ सांस्कृतिक विशिष्टताले भरिपूर्ण उक्त नाटकले राष्ट्रभक्तिको विशिष्ट नमुना प्रस्तुत गरेको तथा वर्तमान सन्दर्भमा पनि नेपाली पाठकहरूका लागि समेत उक्त नाटक उत्तिकै पठनीय र उपयोगी हुने उपकुलपति डा. जगमान गुरुङ विश्वास व्यक्त गर्नुहुन्छ ।  


सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले पाठकहरूको माग एवम् बहुमूल्य र विशिष्ट महत्त्वका पूर्व प्रकाशित कृतिहरूलाई प्रज्ञा–प्रतिष्ठानले पुनः प्रकाशन गर्दै जाने बताउनुभयो ।    
१२४ पृष्ठको ‘चू याँ’को मूल्य १४५ रुपियाँ रहेको छ । उक्त पुस्तक प्रज्ञा भवन, कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सातओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा पाइन्छ । 

प्रतिकृया दिनुहोस