नाम परिवर्तित रोशन पौड्याललाई जब तिहार आउँछ, तब विगतको गल्तीको पश्चातापले रन्थनाउँछ । बीस वर्ष अगाडिको तिहारमा लक्ष्मीपूजाका दिनदेखि सुरु भएका दशाका दिनका सजीव चित्रहरूले दिमागलाई नमीठो स्मृतितर्फ हेलिदिन्छ । भक्कानो त छुट्दैन तर पश्चतापको आगोले डामेको मस्तिष्कले शान्ति र अमनचयन भने पटक्कै महसुस गर्दैन ।
तिहार आएको थियो । अहिलेका जस्ता आयातित पटका र भुईँचम्पा त थिएनन्, किन्तु तिहारको रमझमले सबै लठ्ठै थिएँ । गाउँका बुढाहरू रातभरी कौडा हान्न दौडादौड गर्थे । नौजवानहरू मादल घन्काउँदै देउसी र भैलो रन्काउन प्रत्येकको घरघर डुल्दै मनोरञ्जन लिइरहेका थिए । निकटवर्ती एक मित्रको आग्रहमा गाउँ नजिक रहेको रेस्टुरा नामधारी भट्टी पसलको साँघुरो कोठरीमा गोलबद्द भएर कागजका पत्ताहरू प्याटप्याट आवाजमा फटफट पार्ने र दाम सोहोर्ने अनौठो खेलमा उनी पनि सरिक बने ।
कागजका पत्तीहरूको जादुमयी खेल उनले अघिल्ला वर्षहरू पनि खेल्थे तर रमाइलोको निम्ति । क्षणभरमै आफूसंगको दामले दस गुणा कमाउन थालेपश्चात उनी हौसिए। अनेक जादुमयी खेलको नसाले उनी छक्कै परे । लाग्यो, अब म धनी बन्छु । सम्पत्ति कमाउँछु र आफ्नै दुनिया जमाउँछु । यस्तै सोँचमा हौसिदै उनले हातमा ९.५ सेन्टिमिटर लम्बाई र ३.५ सेन्टीमिटर चौडाईका ५२ पत्ता बाक्ला कागजहरूराखे ।
जुवाका खेल सुरु भयो । तीन बुङ मिसाएर प्रत्येकलाई २१ पत्ति बाँड्दै प्वाइन्टअनुसार हारजीत हुने गरी खेल सुरु गरियो । घरी यसले जित्ने, घरी उसले जित्ने, यस्तै गरी दिन ढल्किदै गयो । रात सुरु भयो तर कागजको जादुमयी फन्कोमा डिभिडी प्लेयरभित्र चलचित्रको चक्काजस्तै घुमिरहेको त्यो खेल रोकिएन । खाना खाने समयसम्म रोशनसंगको पाँच हजार रुपैँया सकिएछ । उनी तर्सिए । रात परिसक्यो । यता पैसा पनि सकियो । तर नाम नै रोशन रहेको उनको मस्तिष्कले भ्रमपूर्ण धिपधिप रोशनी बाल्यो । उनी घर गए । खाना खाए । बिस्तरामा पल्टिए पनि । श्रीमती निदाउनासाथ आफूसंग भएको र श्रीमतीले जम्मा गरी राखेको दाम बट्याएर उनी त्यही भट्टीपट्टी छिरे, जहाँको साहुले प्रत्येक खेल समापन हुनासाथ जितुवाबाट बक्सिस लिंदै बसिरहेको थियो ।
जुवाको खाल जम्दै गयो । रात परेसंगै मित्रहरूले ह्विस्कीको चुस्की त होइन तर घरपाला ठर्राको गिलास तन्क्याउन थाले । सराबले खराब गर्छ भन्दै रक्सीबाट अहिलेसम्म टाढै रहेका उपाध्याय पण्डितका छोराले त्यो दिन छ्याङ्संगै आफ्नो ध्यानलाई एकाकार गरे । जुवाको खाल र मादक पेयको तालले जुवाडेहरू मदमस्त, मदहाेस् । खेल चलिरह्यो । मध्यरात बित्यो । मान्छेलाई उठ्ने बेलाको संकेत दिन तछाडमछाड गर्दै प्राकृतिक आलारम बजाउन थाले भालेहरू पनि जागे। निस्पट्ट अन्धकारले आकाश ढाक्न छोड्दै गयो । ठर्राकाे नसा पनि शरीरबाट अलप हुँदै गयो । सूर्यले पृथ्वीलाई सर्वाङ्ग स्पर्श गर्दासम्म पौड्यलसंग भएको बीस हजारले पनि बाटो तताइसकेको थियो ।
उनी बिहानै घर फर्किए । रित्तो हात ! सबै चीज हारेर !! ठर्राबाट हारेर, तासको जुवाबाट पराजित भएर । बाबुको धूर्त पण्डित्याइँबाट दक्षिणाको रुपमा आर्जेको दानको अन्त्यस्टी गरेर । पसिना पस्किएको पौरखको पाखुरीबाट प्राप्त प्रतिफललाई पिण्ड पारेर । मानौ महान जनयुद्दमा विद्रोहीसंग आत्मसमर्पण गरेर सबै हतियारहरू विपक्षको पोल्टामा पारेका सैनिकहरूजस्तै थियो उनको अनुहार । मलिन, थकित ! कहाँ जानुभएको राति ? श्रीमतीको केरकारको पहिलो वाणले उनको झन तेजोवध गर्दै थियो ।
कहीँ होईन । गाउँतिर, निराश मुद्रामै थिए उनी । निन्याउराे अनुहार पारेर जवाफ दिए । किन तास खेल्न ? बाकसाँ राखेको भुड्को पनि देखेइछैन । माथ्ला घरे दिदीले बैठकबाट ऋन लेइदिन भनेकि थिइन्, सिरानीमुनी राख्या पोइसो खोई ? चट्टान फोड्ने बारुद बनेर पड्कियो उनकी श्रीमतीको क्रोधको ज्वाला । तर यसपटकको हतियारले उनको पुरुषवादी चरित्र ध्वस्त पार्न सकेन । श्रीमतीलाई गोडाको पानी खुवाउने संस्कृतिका कट्टर प्रवर्द्धक सन्तान हुनुको आडम्बरले उनी गम्किए । तास खेलेर सकेँ । वर्षमा एक पटक आएको चाड मान्न परेन ।
यसै रीतिबाट सुरुभयो एउटा घरको विनासको सत्य कथा । त्यसपछि त्यही भयो जुन प्रत्येक जुवाडेहरूको दैनिकी थियो । तिहार गयो । छठ गयो । तर उनी भट्टीपट्टी जाने चलन गएन । ठर्राको नसाको झमझम र तासको लत मरिगए पनि गएन । नसाले निम्त्याएको दशा गएन । घरको खटपट, श्रीमतीसंगको ठाकठुक र प्याटपुटले भने सगरमाथा नै झुक्ने गरी नयाँ उचाइ कायम राख्दै गयो। दिनदिनै रडाको र तमासाले हैकम जमाउदै गयो । दमनचक्रको पुनरावृत्ति हुँदै गयो । विवाहमा श्रीमतीका लागी बनाइदिएका गरगहनाहरू सकिए ।
ससुरालीले दिएका दाइजोका भाँडाकुडा र सम्पति सिद्दिए । तर तास मोह सकिएन । जुवाको नसा कम भएन । गाउँमा योङ कम्युनिस्ट लिगका कार्यकर्ताहरूले जुवाडेलाइ कारबाही गरे । तास कोच्याए । तर लुकीछिपी जङ्गल वा अन्य फरकफरक ठाउँमा अखडा जम्न बन्द भएन । जुवाडे संघको केन्द्रीय भेला भिन्नाभिन्नै ठाउँ र भिन्नाभिन्नै एजेन्डामा चल्थ्यो । कहिले कलब्रेकको एजेन्डा, कहिले म्यारेजको रणनीति, कहिले रोमी यस्तै यस्तै । दिनअनुसार एझेन्डाहरू फेरिए । पाँच रुपैँयाबाट सुरु भएको खालले दुई ओटा सुन्य थपिसकेको थियो ।
वर्वादीका दिनहरूको निरन्तरताले एक दिन उनीसंग भएका सबै सम्पत्ति सकिए । अंशबन्डामा बाबुले दिएको पुर्ख्यौली पाखाेपखेरो पनि सकियो । आफूसंग बचेखुचेको धनले कुलेलम ठोक्यो । स्वास्नीको निमेकमजदूरीबाट आर्जित ज्याला रित्तियो । गोठमा बाँधिएका गाइवस्तुहरूका दाम्ला फुकाइए ।
कथित उच्च खानदानीको आडम्बरी मान प्रतिष्ठाको अन्त्य भयो । परिवारभित्रका खुसीका दिनहरूको दर्दनाक विघटन भयो । पहिले रक्सी खाने उनलाई एक वर्ष नबित्दै रक्सीले खान थाल्यो । तैपनि ३२ वर्षमै नामुद जुवाडे र जड्याहाको रुपमा वरपर परिचय बटुलिसकेका उनको वर्वादीको शृङ्खला चलिरह्यो । घर अन्नको गेडो नहुँदा समेत उनलाई जुवा खेल्न जोईले दामको जोहो नगरी नहुने बाध्यात्मक कुरुपता पनि त्यतिन्जेलसम्म अन्त्य भएन जतिन्जेलसम्म यो प्रताडनाको वर्वादी खप्न नसकेर जिन्दगीको थकाई मार्न उनकी श्रीमतीले आत्महत्याको विकल्प रोज्न बाध्य भइन्।
बिहानै, सवेरै उठ्दा उनकी पत्नी धुरीमा पासो लगाएर यो दुनियाबाट अलप भैसकेकी थिईन् । गाउँलेहरूको होहल्लाले ब्युझिएका उनले आँखै अगाडि अपत्यारीलो दृश्य देखे । आँखा रसाए । हिजोसम्म देखि नसहनने उनको हृदयमा ठूलै भूकम्प गयो । प्रहरीले मुचुल्का उठायो र काजकिरिया सम्पन्न भयो ।
अब भने रोशनका एक्लोपनका दिनहरू सुरु भए । एउटा नामुद जड्याहाले सबै गुमाएर पनि गुमाउन बाँकी जीवनगन्तीका आधा दिनहरू चल्न थाले । तर पाशामा मन फर्किएन । श्रीमतीको आत्महत्याको कारण अरु केही नभएर आफ्नो जड्याहापन र जुवाडे प्रवृत्ति हो भन्ने तथ्यबाट अनविज्ञ रहने छुट न त रोशनलाई नै थियो । न गाउँलेहरू नै यो कुरा इन्कार गर्न सक्थे। त्यसैले रोशन पश्चतापको आगोमा भतभती पोलिदै गयाे । जुवाको नसा र जाँडको दशाले जीवनको सर्वश्व खोसियो । सबैभन्दा ठूलो खुसी उनकी प्यारी खोसिइन् ।
सबै चिज गुमाइसकेपश्चात पनि रोशनसंग गुमाउनुपर्ने अझै केही कुराहरू थिए जो उनले गुमाउन चाहेनन् । यस घटनापश्चात उनले सराब त छोडे तर श्रीमतीका यादहरू छोड्न सकेनन् । जुवाखालको खेलमा त गएनन् । तर श्रीमतीको मायालु मुस्कान जिन्दगीभरी पाउन नसक्ने भएपछि छटपटिन थाले ।
पहिले उनीसंग श्रीमती थिइन् तर श्रीमतीप्रतिको मायाभन्दा सराब र तासका गड्डीहरूप्रतिको आशक्ति बढी थियो । अहिले उनीसंग श्रीमती छैनन् । केबल उनका सम्झना मात्र छन् । आफ्नी स्वास्नीका मृत्युदाता उनी स्वयम् आफै नै हुन् त्यसैले उनलाई आफ्नी श्रीमती सम्झने अधिकार पनि त छैन नि ।
यो ५२ वर्षकाे उमेरसम्म उनी नितान्त निरीह जीवनी बाँचिरहेछन् । बेहोसीले निम्त्याएको वर्वादीको जिन्दगी । सराबले खराब गरेको अर्थहीन जिन्दगी । धितोमा राखिएका खुसीहरू लिलामी गरिएको जिन्दगी । आशाको त्यान्द्रो निभेको जिन्दगी । रोशनीबिहीन रोशनको खरानी भएकाे जिन्दगी !
यसरी एउटा ब्यक्तिको वर्वादीको सुरुवात सामान्य रमाइलोमा खेलिएको तासबाटै भयो । जसलाई हामीले केबल रमाइलोका निम्ति मात्रै भन्दै खेल्दै छौँ, तिनै कुराहरू हाम्रो बानीको रुपमा विकसित भएर हामीलाई नै विनष्ट गर्न सक्छन् ।
हामी आफ्नो वर्वादीको चिहान आफै खनिरहेका हुन सक्छौँ । आफ्नो खुट्टामा जानीजानी बन्चरो चलाइरहेका हुन सक्छौँ । न त जुवा खेलेर कोही धनी भएको छ । न कसैले उन्नतिको पथमा लम्किने मार्ग पहिल्याएको छ । होस पुर्याएर रमाइलो गरौँ । आफै आफ्नो वर्वादीको कारण नबनौँ ।
प्रतिकृया दिनुहोस