• शुक्रबार-बैशाख-१४-२०८१

‘जिरी ओपन फिडे रेटिङ चेस’को उपाधि नेपालीलाई


काठमाडौँ, ६ मङ्सिर : दोलखालको जिरीमा आयोजना गरेको ‘जिरी ओपन फिडे रेटिङ चेस’ प्रतियोगिताको उपाधि तीन पटकका राष्ट्रिय उपाधि विजेता बद्रीलाल नेपालीले हात पारेका छन् । युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा पर्यटकीय नगरी जिरीमा आज सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा ललितपुरका भेट्रान खेलाडी हेराकाजी महर्जनमाथि जीत हात पार्दैै नेपालीले उपाधि प्राप्त गरेका हुन् । 

 

सात खेलमा ६ मा जीत तथा एक बराबरी गरी कूल छ दशमलव पाँच अङ्क बनाएका नेपालीले उपाधिसँगै नगद रु १० हजार प्राप्त गरेका छन् । छैटौँ चरणको खेलमा दोलखाका राजीव कार्कीमाथि सहज जीत निकालेका आशिष फुयाँल सात खेलबाट छ अङ्कका साथ प्रतियोगितामा दोस्रो हुन सफल हुनका साथै रु पाँच हजार प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहन सफल युवराज पौडेलले रु तीन हजार प्राप्त गरेका छन् । 

 

ललितपुरका हिराकाजी महर्जनले भेट्रानतर्फ पहिलो पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै रौतहटका रामचन्द्र दाहाल तथा दोलखाका बाबुराजा महर्जन भेट्रानतर्फ दोस्रो तथा तेस्रो हुन सफल भए । दोलखाका केन्द्रज्योति खड्काले सात खेलबाट चार दशमलव पाँच अङ्कका साथ स्थानीयतर्फ प्रथम हुँदै रु पाँच हजार प्राप्त गरेका छन् । 

 

फिडेको स्विस लिग प्रणालीअन्तर्गत सात चरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ४२ खेलाडीको सहभागिता थियो । कोभिड–१९ को महामारीपछि नेपालमा पहिलोपटक आयोजित फिडे रेटिङ प्रतियोगिताले उत्साहित बनाएको र आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नका लागि बाटो खुलेको जिरी नगरपालिकाका प्रमुख टङ्कबहादुर जिरेलले बताउनुभयो । रासस
 

प्रतिकृया दिनुहोस