• शनिबार-बैशाख-८-२०८१

राष्ट्रिय खेलकुदका लागि खेलाडी प्रशिक्षण अघि बढाइने

 


गण्डकी, ७ मङ्सिर (रासस) । क्युकोशिन कान कराते सङ्घ कास्कीले नवौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी प्रशिक्षणलाई अघि बढाउने भएको छ ।

 

    सङ्घको १०आैं साधारणसभाले कोरोना महामारीका कारण खेलाडी प्रशिक्षण रोकिएको अवस्थालाई दृष्टिगत गर्दै आगामी दिनमा सुरक्षा सजगताका साथ उक्त कार्यलाई अघि बढाउने निर्णय गरेको सचिव सुरेशराज अधिकारीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण लामो समयदेखि खेलकुदका धेरै काम प्रत्यक्ष प्रभावित भएको उहाँले बताउनुभयो । 

 

    साधारणसभाले आगामी दिनमा खेलाडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । साधारणसभाले सङ्घको रिक्त कोषाध्यक्ष पदमा सुजन आचार्य तथा सदस्यमा सुनिल थापा र अर्जुन बरामलाई जिम्मेवारी दिएको छ ।

 

    साधारणसभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय दिन नसकेको बताउनुभयो । राष्ट्रियस्तरमा नै सबैभन्दा बढी पदक ल्याउने खेल मार्सलआर्ट भए पनि यो ओझेलमा परिरहेको उहाँले बताउनुभयो । 

 

    कार्यक्रममा नेपाल क्युकोशिन कानका केन्द्रीय प्रशिक्षक राजेन्द्र सुवेदी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिवि नेपाली, सङ्घका अध्यक्ष बेलबहादुर थापा, उपाध्यक्षद्वय सागरराज गिरी र दानबहादुर क्षेत्री लगायतले कोरोना महामारीले खेल क्षेत्रमा नराम्रोसँग प्रभाव पारेको बताउँदै यसका बाबजुद पनि स्वास्थ्य सुरक्षा सजगताका साथ खेलका गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
–––

प्रतिकृया दिनुहोस