• मंगलबार-बैशाख-४-२०८१

ठेकेदारका कारण सडक निर्माण अलपत्र, स्थानीयवासी आन्दोलित

 


सर्लाही, १२ मङ्सिर (रासस) : जिल्लाको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ । हुलाकी सडक आयोजनाले निर्माण शुरु गरेको काम निर्माण शुरु भएको लामो समय भइसक्दा पनि ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।

 

हालसम्म फुलजोरबाट बयलवाससम्मको चार किलोमिटर र त्यसभन्दा यता छ किलोमिटर गरी अहिलेसम्म जम्मा १० किलोमिटर मात्र सडक कालोपत्र भएको छ । कतै बजार क्षेत्र भएका कारण काम नभएको कतै इनार तथा विद्युत्का पोल रहेका कारण काम हुननसकेको निर्माण ठेक्का पाएको ठेकेदार कम्पनी टुँण्डी आशिष सन्तोषी जेभीका ठेकेदार जीवन कँडेलले बताउनुभयो ।

 

निर्माण शुरु भएको वर्षौँ भइसक्दा पनि ठेकेदारले बेवास्ता गरेका कारण सो क्षेत्रका स्थानीयवासी, यात्रु तथा पैदलयात्री धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । मर्मत तथा निर्माण नहुँदा सो सडकखण्डका विभिन्न भागमा ठुलाठुला खाल्डा परेका कारण सवारी साधन सञ्चालन गर्न समस्या हुने गरेको सवारी चालकहरुको गुनासो छ ।

 

सडकको निर्माण अगाडि बढाउन आफूहरुले पटकपटक सडक डिभिजन कार्यालय तथा हुलाकी सडक आयोजना कार्यालयलाई आग्रह गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पनि आफूहरुले पटकपटक छलफल गरेको तर ठेकेदारले बेवास्ता गरिरहेका कारण थप समस्या आएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले बताउनुभयो ।

 

“यस सडकखण्डअन्तर्गत पर्ने स्थानीय निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित ठेकेदारसँग पटकपटक छलफल भयो, तर हाम्रो कुरा ठेकेदारले सुन्दैनन् । हामीले समन्वयात्मकरूपमा काम गर्ने हो । सङ्घीय सरकारको बजेटमा आफूहरुको हात हुन्न, ठेकेदारले टेर्दैनन्”, नगरप्रमुख देवकोटाले बताउनुभयो ।

 

टुँण्डी आशिष सन्तोषी जेभीले रु ८६ करोडको लागतमा फुलजोरबाट त्रिभुवननगरसम्मको २१ किलोमिटर ठेक्का सकारेको भए पनि अहिले ठेकेदार कम्पनीले फुलजोरबाट भेल्हीसम्मको मात्र काम गर्ने बताएको छ । आउँदो पुस ५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको भए पनि ठेकेदारकै लापरवाहीका कारण पुससम्ममा काम तीन भागको एक भाग पनि नसकिने अवस्था देखिएको छ ।

 

निर्माण सामग्री अभाव र आफैँसमेत कोरोना सङ्क्रमित भएका कारण काम प्रभावित भएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले बताउनुभयो । यता ठेकेदार कँडेलबाट पटकपटक निर्माणलाई निरन्तरता दिने आश्वासन पाएका स्थानीयवासी ठेकेदारको दोस्रो आश्वासन पनि पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

 

उनीहरुले आफूहरुको माग अरु केही नभई समयमै निर्माण सम्पन्न गर्नु भन्ने मात्र रहेको बताएका छन् । ठेकेदार सम्पर्कमा नआउने, समयमै काम शुरु नगर्ने गरेका कारण सडकमा सवारी आवागमन रोकेर आन्दोलन गर्न बाध्य भएको स्थानीय धनकुमारी श्रेष्ठले बताउनुभयो ।

 

स्थानीय सरकारका प्रमुखको पनि फोन नउठाएका कारण आफूहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको मिक्की लामाले बताउनुभयो । “आफ्नो घर अगाडि धुलाम्मे सडक छ, धुलो उडेर बसी साध्य हुँदैन, ठेकदार सम्पर्कमा छैन, निर्माण लामो समयदेखि अलपत्र छ, अन्तिम विकल्प भनेको अब आन्दोलन मात्र हो”, स्थानीय सविना घिमिरेले भन्नुभयो । ठेकेदार कँडेलले भने अब सोमबारसम्ममा सो सडकको काम सकिने बताउनुभएको छ ।
–––

प्रतिकृया दिनुहोस