• बिहीबार-बैशाख-६-२०८१

खेलकुदमा कोरोनाको पीडा : सदस्यसचिव बेपर्वाह !

 

काठमाडौं । कोरोना भाइरसको महामारीबाट सयदेखि डेढसयको हाराहारीमा खेलकर्मीहरू संक्रमित भइसकेका छन् । खेलाडीहरू भन्दा पनि पदाधिकारीलाई यसले बढी पिरोलेको छ । सबैभन्दा बढी फुटबलतर्फ संक्रमित भएका छन् । राष्ट्रिय टिममा परेका नौ खेलाडी संक्रमित भए भने अखिल नेपाल फुटबल संघका अध्यक्षदेखि टिम व्यवस्थापकसम्म संक्रमित भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषदका अनुसार डेढसयसम्म संक्रमित भएका छन् । तर सबैले जानकारी नदिने भएकाले गर्दा यकिन भन्न नसकिने पदाधिकारीहरू बताउँछन् । 

 

विभागीय प्रमुख एवं राखेप बोर्ड सचिव कुलबहादुर थापासहितका परिषदका कर्मचारीहरू पनि संक्रमित भएका छन् । थापाले सबैको तथ्याङ्ग नआएको भए पनि डेढ सयको हाराहारीमा संक्रमित भएको हुन सक्ने बताए । 


फुटबलले भने बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलिसकेको छ । नौ महिनाको विश्रामपछि क्रिकेटले पनि यही सातादेखि अभ्यास थाल्दैछ । एथलेटिक्सको प्रतियोगिता नेपालगञ्जमा भएको छ (शनिबार मंसिर ६ गते) । जसबाट विजेताले टोकियो ओलम्पिकका लागि टिकट काटेका छन् । 


नेपाल ओलम्पिक कमिटीले ओलम्पिकमा सहभागिता जनाउने खेलाडीका लागि भन्दै विशेष पहलका साथ अभ्यासमा खेलाडीहरूलाई लगाएको छ । खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाललाई भने यस विषयमा कुनै पनि रुची नभएको भन्दै परिषदकै पदाधिकारी एवं प्रशिक्षकहरूले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । 


ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले जबर्जस्ती दवाव दिएर खेलकुद अभ्यास रोक्न नहुने भन्दै ओलम्पिककै जोडबलमा खेलाडीहरू अभ्यासरत छन् । तर सिलवाल किन रुचि लिइरहेका छैनन् भन्ने बारेमा केही केही बुझ्न नसकेको स्रोत बताउछ । राखे परिषद बोर्डसमेत बस्न सकेको छैन । कोरोनाका कारण बोर्ड सचिव थापा कार्यालय जान पाएका छैनन् । 


सचिव कार्यालय जान थालेपछि बोर्ड बैठक बसेर एउटा निर्णयमा पुगिने बताइएको छ । तर सदस्यसचिवले कुनै चासो नदिएकाले गर्दा नयाँ योजना ल्याउन अप्ठेरो भएको एक वरिष्ठ कर्मचारीले बताए । उनी भन्छन्, ‘सरकारले सबै खुला गरेको छ । सुरक्षित भएर खेलाडीको अभ्यासदेखि लिएर अबका योजना गराउनु पर्ने थियो । सदस्यसचिवज्यू वास्तै गर्नुहुन्न ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अलपत्र परेको छ । पोखरामा हुने भनेको राष्ट्रिय प्रतियोगिताका लागि सदस्यसचिव सिलवालले भौतिक पूर्वाधारमा समेत जोड दिएका छैनन् । बोर्डका एक सदस्यले भने, ‘अहिले खेलकुद १० वर्ष पछि परेको छ । राजनीति बढी भयो । हामीलाई अगाडि बढ्न दिइँदैन । सदस्यसचिव त गुमनाम हुनुभयो ।’


एक विभागीय प्रमुखका अनुसार सदस्यसचिव सिलवाल परिषदका व्यक्तिहरूबाट टाढा भइरहेका छन् । खेलाडीका गुनासा पनि सुनिरहेका छैनन् । मिडियाकर्मीसँग पनि सम्पर्कमा हुन खोजिरहेका छैनन् । यसको कारणबारे उनी भन्छन्, ‘सायद उहाँलाई गिल्टी फिलिङ भयो होला । एक वर्षसम्म पनि सागको हिसाब दिन सक्नु भएको छैन । गुमनाम जस्तै हुनुभएको छ ।’


सिलवालले गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागको खर्च विवरण समेत दिन सकेका छैनन् । कति रकम खर्च भयो भन्ने जानकारी सबैले पाउनु पर्ने थियो । सामान्यतया यस्ता आयोजनाको खर्च ३५ दिनभित्र पेश गर्नुपर्छ । सिलवालले ९० दिनभित्र जसरी पनि दिन्छु भनेकै हुन् । तर ३६५ दिन हुन लागिसक्यो उनी गुमनाम छन् । 
 

प्रतिकृया दिनुहोस