• शनिबार-बैशाख-८-२०८१

वर्षमान पनि ओलीकै लाइनमा

 

रोल्पा । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न गरेको प्रस्तावको पक्षमा ऊर्जामन्त्री वर्षमान पुन खुलेका छन् । नेतृत्व पुस्तान्तरणबारे नेकपाका दोस्रो पुस्ताका नेता मौनप्रायः देखिरहेका बेला प्रचण्डनिकट मानिने पुन ओलीको कित्तामा उभिएका हुन् ।
 

सोमबार रोल्पाको लाँकुरीमा ३३÷११ केभी सवस्टेशन उद्घाटन गर्न पुगेका उनले युवाहरु सरकार र पार्टी दुवैको नेतृत्व लिन तयार रहेको बताए । तर यसका निम्ति दुवै अध्यक्षले सहमतिमा निर्णय गर्नुपर्ने उनको भनाइ छ । 


‘नेकपाका युवा नेता पार्टी र सरकार दुवैको नेतृत्व लिन तयार छन्,’ पुनले भने, ‘तर त्यसका लागि दुवै अध्यक्षबीच सहमति हुनुपर्छ ।’ सहमतिमा नेतृत्व हस्तान्तरण गरे पार्टीका शीर्ष नेतालाई अभिभावकका रूपमा सम्मान गरेर राख्ने उनले बताए । 


यद्यपि, उनले यो विषय आवेगत र उत्तेजनामा नभई विवेकसम्मत ढंगले गर्नुपर्ने बताए । 


प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेपछि नेकपामा तरंग आएको छ । उनले गरेको प्रस्तावमा प्रचण्ड प्रतिक्रियाविहीन देखिएका छन् भने दोस्रो पुस्ताका नेताले पनि बहस र दबाब बढाउन सकेका छैनन् । 
 

प्रतिकृया दिनुहोस