• शुक्रबार-बैशाख-१४-२०८१

आज बस्ने नेकपा सचिवालय बैठकले के गर्ला ?

 

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । 



मंगलबारका लागि तय बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । अध्यक्षद्वयले एकीकृत प्रतिवेदन पेस गर्नुपर्ने भए पनि पार्टीभित्रको आन्तरिक कलह बल्झिएपछि प्रचण्ड र ओली अलगअलग प्रतिवेदन पेस गरेका छन् । 
 

सचिवालयमा प्रस्तुत दुवै प्रतिवेदनलाई स्थायी र केन्द्रीय समितिमा लैजानुपर्ने प्रचण्ड–माधव नेपालको प्रष्ट लाइन छ । तर ओली पक्ष प्रचण्डले मिथ्या आरोप लगाएकाले त्यसलाई खारेज गरेर अघि बढ्नुपर्ने पक्षमा छ । 


९ सदस्यीय नेकपा सचिवालयमा प्रचण्ड–माधव समूहको बहुमत छ । त्यसैले ओली पक्षको इच्छाविपरीत सचिवालयले दुवै प्रतिवेदन स्थायी र केन्द्रीय समितिमा लैजाने सम्भावना बलियो छ । 


विवादको अस्थायी समाधानका निम्ति एकीकृत प्रतिवेदन तयार गर्ने वा दुवैको प्रतिवेदनलाई महाधिवेशनमा लैजाने अर्को विकल्पमा पनि सचिवालय जान सक्छ । तर प्रचण्ड र माधव पेलेरै अघि बढ्ने मनस्थितिमा देखिएका छन् । बहुमतको बलमा पेलेर अघि बढे घातक परिणाम आउने चेतावनी ओलीले दिइसकेकाले नेकपाको कचिंगल थप बल्झिने देखिन्छ ।  
 

नेकपाले १८ मंसिरमा स्थायी र २५ मंसिरमा केन्द्रीय समिति बैठक आह्वान गरेको छ । 
 

प्रतिकृया दिनुहोस