• बुधबार-बैशाख-२६-२०८१

रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । 

 

विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उहाँले सोमबार सवैलाई आग्रह गर्नु भएको हो । रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उहाँले यसको प्रयोग कहिल्यै, कहिँ, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठिक नभएको दावी गर्नुभयो ।


 
रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उलङ्घन हुने गरेको पनि उहाँले स्मरण गराउनु भएको छ । “कुनैपनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिदैन, हामीले यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,” उहाँले लेख्नुभएको छ । 

 

उहाँले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वभाविक रुपमा लिन नहुनेमा पनि जोड दिनुभयो । राष्ट्रसंघीय प्रमुखले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो ।


उहाँले रासायनिक हतियारबाट पीडित भएकाहरुप्रति पनि विश्व समुदायको नैतिक जिम्मेबारी रहेको तर्फ सवैको ध्यानाकर्षण गराउनुभयो । सन्देश मार्फत उहाँले पीडितहरुप्रति सहानुभूति पनि व्यक्त गर्नुभएको छ । (रासस÷सिन्ह्वा)
 

प्रतिकृया दिनुहोस