• शुक्रबार-चैत-१६-२०८०

भारतसँग राजनीतिक तहको वार्ताको आधार तय भएको छ

 

(अहिले नेपाली राजनीति तरल अवस्थामा रहेको छ । सबै पार्टीमा त्यो अवस्था देखिएको छ । यस्तो बेलामा नेपाल–भारत सम्बन्ध पनि महत्वपूर्ण रहेको छ । भारतबाट प्रतिनिधिहरू आएपछिको अवस्था र नेपाली राजनीतिका बारेमा नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवं भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायसँग कुराकानी गरेका छौं–सम्पादक) 


० नेपाल भारत सम्बन्ध कस्तो हुनुपर्ला ?
–नेपाल र भारतबीचको सम्बन्ध जहिले पनि राम्रो हुनुपर्छ । सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्छ । सम्बन्ध राम्रो बनाउनु पर्छ । 


० भारतीय रअ प्रमुख, सैन्य प्रमुख र विदेश सचिव नेपाल आउँदा सीमाको समस्या समाधान हुने अपेक्षा गर्न सकिन्छ ?
–नेपाल र भारतबीचको सम्बन्धमा देखिने गरेर चिसोपन आएकै हो । हामीले राजनीतिक, कूटनीतिक तहबाट र अझ तल ओर्लेर भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सत्तामा आइसकेपछि त्योभन्दा पहिलेदेखि नेपाल र भारतबीचको प्रशासनिक तहको सम्बन्धलाई राजनीतिक तहमा ल्याउनु भयो । त्यो त्यति फलिभूत भएन कि भन्ने लाग्यो होला । त्यसैले रअ प्रमुख र सैन्य प्रमुखलाई आधार बनाएर अब हामी कूटनीतिक तहमा प्रवेश गरेका छौं । हाम्रा लागि यो प्रतित्युत्पादक भयो ।

 

किनभने कूटनीतिमा मर्यादा ठूलो कुरा हुन्छ । त्यो हामीले उल्लंघन गर्न पुग्यौं । त्यो ध्यान नपुगेको, होस् नपुगेको हो । सैन्य कूटनीति त पहिलेदेखिकै प्रचलनमा थियो । तर जासुसी संगठनको प्रमुखलाई त्यसरी भेट्नु र त्यो पनि रातको समयमा भेट्नु मर्यादाविपरीत नेपालका तर्फबाट हुन गयो । त्यसमा भारतका लागि त फाइदाकै कुरा होला । कूटनीतिमा त कूटनीतिक पाराले यस्ता कुरा गर्न मिल्दैन । कूटनीतिमा सभ्य कुराहरू हुन्छन् । तर त्यो मर्यादाविपरीत भए पनि त्यो सकारात्मक हुन गएको छ । कम्तीमा कूटनीतिक वार्ताको आधार बन्यो । भारतले अहिलेसम्म इन्कार गर्दा गर्दा अहिले आएर पहलका लागि राजी भयो ।

 

भारतीय विदेश सचिव  सिङ्गलाजी भारतको परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेपछि पहिलो चोटी नेपाल आउनु भएको छ र कूटनीतिक तहको वार्ता भएको छ । यो एउटा आधार बनेको छ । अब राजनीतिक तहको वार्ता पनि हुन्छ । अवसर आएको छ । हामी कति परिणाममुखी हुन सक्छौं त्यो चाहिँ आफ्नो कौशलतामा भर पर्छ । हामी सजग हुनुपर्छ । 


० नयाँ आयामका लागि सचिवस्तरीय वार्ता आइसब्रेक बन्न सक्ला ?
कूटनीतिमा कति रमाइलो हुन्छ भन्दा कुनै पनि नरमाइलो कुरा हुन सक्दैन । कुन कुन विषयमा वार्ता गर्ने भनेर पहिले नै एजेन्डाहरू तय हुन्छन् । कतिसम्म वार्ता गर्ने भन्ने पनि पहिले तय भएको हुन्छ । यसको जसरी पनि समाधान निकाल्छु भन्ने हुँदैन । तर पछि त्यही स्थिति अलिकति अगाडि बढ्छ । जस्तो कि सीमा विवादका कुराहरूमा कुरा उठ्ने तर जस्ताको तस्तै कुरालाई पछाडि सार्ने काम भएको छ । त्यस्तो गर्दागर्दै यहाँसम्म आयौं । अब त्यस्तो नहोस् । जसरी सीमा विवादको बारेमा राष्ट्र एक ठाउँमा उभियो त्यो एकतालाई अब सरकारले कसरी अगाडि लैजान्छ भन्ने अग्निपरीक्षामा छ । अरु पनि समस्या छन् । मलखादकै समस्या छ । किसानले मल नपाएर हाहाकार छ ।

 

एउटा उदाहरण दिउँ  पेट्रोलियम पदार्थ भारतमा भन्दा नेपालमा सस्तो पाइन्छ । किनकि प्रवन्धन भयो व्यवस्थापन भयो । भारतसँग सम्झौता भयो । अहिले निर्वाध रुपमा जनताले उपभोग गरिरहेका छन् । त्यस्तै मलखादलाई पनि गर्न सकिन्छ । तर मलखादमा सरकारले कमिशनको मोह छोड्ने कि नछोड्ने । मोह छोडे १२ महिना नै सरकारी दाममा मल भनेर किसानलाई दिन सकिन्छ । त्यो इच्छाशक्ति नेपालको हुनुप¥यो । नेपालको उत्पादन भारतमा लैजानका लागि नेपाल र भारतका उद्योग क्षेत्रका मान्छेहरू नै बसेर समझदारी गरेर अगाडि बढे त्यो पनि असम्भव छैन । त्यस्तै पानीका प्रवन्धका कुरा छन् । धेरै कुरा छन् भारतसँग जोडिएका कुरा । यी कुराहरूलाई बिर्सेर नेपालको दुर्भाग्य के भने कम्युनिष्टमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद भनेर विरोध गर्ने, पढाउने र हौवा फैलाउने गर्नाले धेरै कुराको फरक प¥यो । 

 

० चाह्यो भने यो सरकारले सक्छ ?
–अझै पनि चाह्यो भने यो सरकारले चाहेको गर्न सक्छ । किन भने यो त बलियो सरकार थियो । जनताको धेरै अपेक्षा थियो । उहाँहरूको पार्टीभित्रको विवादले गर्दा भने सरकारले फेरि सरकारले सुअवसर गुमाउँदैछ । भारतमा र नेपालमा पनि बलियो सरकार भएका बेलामा धेरै कुरा गर्न सकिन्छ । राष्ट्र र जनहितमा काम गर्ने वातावरण बनाउनु पर्छ । कुनै व्यक्तिका लहडले गर्दा वर्वादीतिर लाग्नु हुँदैन । प्राथमिकतामा राष्ट्रिय संकटआएका बेलामा पार्टीभित्रको आन्तरिक किचलोमा नफसौं । 


० त्यतिबेला एमालेलाई मिलाउन भूमिका खेल्नुभयो, अहिले फेरि त्यस्तै परिस्थिति आएको हल्ला छ । सम्भव छ ?
–त्यो सम्भव देख्दिन । जनताको म्यान्डेट नेपाली कांग्रेसलाई प्रतिपक्षको भूमिकामै हो । तर समय कम छ । पाँच वर्षसम्म यही सरकारले नै पार्टीको आन्तरिक किचलो समाधान गरेर चलाओस् । तर व्यक्तिको आफ्नो आफ्नो नेचर हुन्छ । प्रधानमन्त्री पनि ठट्यौलो हुनुहुन्छ । हाम्रो सभापति पनि ठट्यौलो पाराको हुनुहुन्छ । मैले सहयोग गर्नुपर्छ भने के भन्ने ठट्टा चल्यो होला । दुवै नेतामा त्यो प्रवृत्ति छ । त्यतिबेला देउवाजी कांग्रेस लोकतान्त्रिकबाट प्रधानमन्त्री हुँदा प्रतिपक्षीमा माधव कमरेडको भूमिका, झलनाथजीको भूमिका, वामदेवजीको र केपी ओलीको भूमिका प्रभाव अनि अपरिहार्य थियो ।

सबैसँग समन्वय गरेर तत्कालीन एमाले प्रजातान्त्रिकको सरकारमा आएर गिरिजाबाबुको साथ छाडेर आएको सत्य हो । अहिले पनि देशको राजनीति अत्यन्त तरल अवस्थामा छ । यसमा नेताहरूले मम भनेर स्मरण गरेर अब प्राथमिकता देशलाई बनाऔं, प्राथमिकता जनताको समस्यालाई बनाऔं भनेर भन्नुहुन्न भने स्थिति राम्रो हुनेवाला छैन । जहाँसम्म कांग्रेसको कुरा छ गणेशमानजीले आफूले पाएको प्रधानमन्त्री पद म हैन कृष्णप्रसादजी भनेको, आफ्नो बहुमत हुँदाहुँदै किसुनजीले छोडेको त्यस्तो पार्टी कांग्रेसको आदर्श र राजनीति आज कहाँ पुग्यो ।

सत्ताका लागि आज व्यक्तिले पार्टी विधान भन्दा पनि म म र म नै हो भनेर देवत्वकरण गर्ने प्रयास भएको छ त्यो चाहिँ नराम्रो भइदियो । यो कुरा नेताहरूमा जति छिटो स्मरण हुन गयो त्यति राम्रो । हामी साक्षी हौं उहाँहरू पात्र हो । कोही दिवंगत हुनुभयो बचेकाले ‘मम’ भनेर स्मरण गर्ने हो भने समाधान छ निकास छ । समस्या छन् भने समाधान छ । समाधानका लागि अत्यन्त वस्तुपरक इच्छाशक्ति, दृढता, साहस सकारात्मक दिशामा हुनुप¥यो । 

कन्स्पिरेसी थ्योरीमा व्यक्तिलाई यस्तोसम्म आशा र प्रभावमा पारिन्छ कि यही नै सत्य हो भन्ने हुन जान्छ । तर त्यो होइन । अहिले पनि समय छ, गंभीर बनौ । 

 

० शक्तिमा भएपछि देउवाले पनि कांग्रेसभित्र बेथिति ल्याउनु भयो नि ?
–हो । मैले शेरबहादुर देउवाजीलाई पनि भेटेर भनेको छु । हिजो तपाईले यति पीडापाउनु भयो । आज तपाई पीडा दिने ठाउँमा हुनुहुन्छ । आफ्नो पार्टीभित्रको विवाद छिनोफानो गर्नुस् । समय नकुर्नुस् । महाधिवेशन पनि नकुर्नुस् छिटो गर्नुस् भन्ने मेरो आग्रह हो । ंत्यो अनुसारले काम भइरहेको छैन । 


० राजनीतिक दुर्घटना भयो भने ओली सरकारसँग कांग्रेसको सत्ता साझेदारी के होला ?
–देशको राजनीति तरल छ । समयचक्र यति बलबान रहेछ । त्यो नहोस् । यदि भयो भने त्यो बेलामा कांग्रेसको भूमिका छुट्टै हुनेछ । नयाँ किसिमको पोलराइजेसन हुन सक्छ । जुन तरङ्गमा विश्व राजनीति छ त्यो तरङ्गबाट नेपाल बच्न सक्दैन । अहिलेका लागि जनताको म्यान्डेट भनेको प्रतिपक्षीमा कांग्रेस खरो उत्रिन सकेन भन्ने छ । त्यसमा लाग्नुपर्दछ । संसद अधिवेशन बोलाउन बाध्य पार्नुपर्छ । आफ्नो अधिवेशन छिटो गर्नुपर्दछ । अरु कुरा त नकार्न सकिन्न । 


० प्रमुख सबै पार्टीहरू फुटकै स्थितिमा छन् । यस्तोमा भारतीय विदेश सचिवको नेपाल यात्रा र चिनियाँ रक्षामन्त्रीको नेपाल यात्राले के सन्देश दिन्छ ?
–राजनीतिक तरङ्गलाई व्यक्तिगत भन्दा पनि राष्ट्रको सर्वोपरिलाई कसरी बचाउने भन्ने ध्यान नेताहरूमा आयो भने दुर्घटना हुँदैन । बल्लबल्ल अनन्त संक्रमणलाई चिरेर संविधानसभाबाट संविधान बनाएर जनताले अहिले बलियो सरकार दिएका छन् । यदि अब पनि जनताका भावना समेट्न सकिँदैन भने यो व्यवस्था पनि नरहन सक्छ । यस्तो अवस्थामा म र मेरो स्वार्थ भनेर नलागौं । गहिरो सोच, विश्लेषण र इच्छाशक्ति नेताहरूले अपनाउनै पर्छ । हाम्रो कारणले देशको सौन्दर्य नजाओस् भन्न चाहन्छु । सतही कुरा गरेर जाने हो भने दुर्घटना हुन्छ । 


० अन्तिममा, कांग्रेसको महाधिवेशनका लागि नेताहरू किन तयार छैनन् होला ?
–त्यो नेतृत्वको ठूलो कमजोरी हो । यदि समयमै कांग्रेसको महाधिवेशन एक वर्षअघि नै भएको भए अन्तर्राष्ट्रिय राजनीतिमा कांग्रेसको छवि राम्रो हुने थियो । समयमै गर्नुपर्दथ्यो । अहिले पनि गर्न सके हुन्थ्यो । अमेरिका, भारतमा आम चुनाव भएको छ हामीले महामारीको नाममा टार्दै गएका छौं । हामीले आफ्नो कमजोरी देखाइरहेका छौं ।पार्टीलाई जीवन दिन कांग्रेसकोमहाधिवेशन छिटोभन्दा छिटो हुनै पर्छ÷ छिटो होस्, नेताहरूको चेत खुलोस् ।
 

प्रतिकृया दिनुहोस