• शुक्रबार-चैत-१६-२०८०

कट्टेलले नेकपाको आधिकारिकता पाए भने ....!

 

काठमाडौं । विभाजनपछि केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल दुवै समूह नेकपाको आधिकारिकता दाबी गरिरहेका छन् । निर्वाचन आयोगलाई अहिले चुनाव गर्नभन्दा यो मामला टुंग्याउन बढी सकस परिरहेको देखिन्छ । तर  २ वर्ष अघि नै अदालतमा पुगेको नेकपा विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला भएको अवस्थामा परिस्थिति कतातिर मोडिएला ? २ वर्षसम्म छायामा परेको यो मुद्दाले अहिले एकाएक ध्यान खिचेको छ । 


ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अस्तित्वमा हुँदाहुँदै तत्कालीन एमाले र माओवादी केन्द्र एक गरेर नेकपा बनाइएको थियो । जसमा सुरुदेखि नै कट्टेलले आपत्ति जनाउँदै आएका छन् । निर्वाचन आयोगमा पहिल्यै आफ्नो दल दर्ता रहेकाले नेकपाको आधिकारिकता आफूसँग हुनुपर्ने उनको जिकिर छ । यही दाबी लिएर उनी निर्वाचन आयोग पुगेका थिए । तर त्यहाँबाट आधिकारिकता प्राप्त नभएपछि कट्टेल २०७५  मंसिर २१ गते सर्वोच्च अदालत गएका थिए । रिटमा उनले निर्वाचन आयोगमा पहिल्यै दर्ता भएकाले आधिकारिकता आफूले पाउनुपर्ने माग गरेका छन् । 


कट्टेलले दायर गरेको मुद्दाको पेसी भोलि अर्थात् ०७७ माघ ६ गते मंगलबारका लागि तोकिएको छ । यसअघि ०७७ पुस १४ मा यो मुद्दाको पेसी थियो । उक्त दिन मुक्ति प्रधानहरू पेसी सार्न गए पनि कट्टेलकै कारण सुनुवाइ हुने अवस्था थिएन । कट्टेलका अनुसार उनका वकिल मातृशोकमा परेर भोजपुर लागेपछि कागजात डेरामा थुनिएको थियो । निर्वाचन आयोगबाट नमिलेको न्याय अब सर्वोच्चले दिने आश कट्टेलले गरेका छन् । ‘निर्वाचन आयोगले अन्यायपूर्वक आधिकारिकताबारे निर्णय लिए पनि सर्वोच्चबाट न्याय मिल्ने आशा लिएको छु,’ कट्टेलले साँघुसँग भने । 

ऋषिले आधिकारिकता पाए के होला ?

सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई आधिकारिक भएको फैसला सुनाएको अवस्थामा तत्कालीन एमाले र माओवादी एकीकृत भएर बनेको नेकपाको वैधानिकता समाप्त हुनेछ । यस्तो अवस्थामा अहिले दुवै पक्षले गरेको वैधानिकताको दाबी त खारेज  हुने नै छ, दुवै समूह एकतापूर्व अवस्थामा फर्किने छन् । 

एकतापूर्वको बिन्दुमा पुगेको अवस्थामा स्वभाविक रूपमा तत्कालीन एमाले र माओवादी केन्द्र व्युँतने छन् । एमाले र माओवादी केन्द्र जीवित रहेको अवस्थामा केपी ओलीसँग नेकपा एमालेसँगै सूर्य चिह्न र प्रचण्डसँग माओवादी केन्द्र र उनको यसअघिको चुनाव चिह्नको स्वामित्व सुरक्षित रहनेछ । 


 

प्रतिकृया दिनुहोस