• सोमबार-जेठ-५-२०८२

सैनिक नियमावली संशोधन हुँदै, सिपाहीको पेन्सन अब १६ वर्षमा 


काठमाडौं । नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने भएको छ । नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन प्रस्ताव गर्दै फलोअर्स र सिपाहीको पेन्सनबारे नयाँ व्यवस्था गर्न लागेको हो । 

सिपाहीजस्तै अन्य दर्जाको पनि पेन्सन अवधि परिमार्जन गर्न नेपाली सेनाले नियमावलीमा संशोधन गरेर रक्षा मन्त्रालय पठाएको छ । सेनाले तेस्रो पटक संशोधन गर्न लागिएको   नियमावली सेहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्ष गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, सुवेदार,  प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दालाई सेवा प्रवेशको सत्र वर्षमा अवकाश दिन सिफारिस गरिएको छ । 

नेपाली सेनाका सिपाहीको पेन्सन अवधि बीचमा १६ वर्ष भए पनि पछि संशोधन गरिएको थियो । यसमा लामो समयदेखि सिपाहीहरूले गुनासो गर्दै आएका थिए । नियमावली संशोधन गरेर तल्लो तहमा जागिर खाने सेनाको मन जित्ने प्रयास यसपटक प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका छन् । 

संशोधनका लागि रक्षा पठाइएको नियमावलीमा ०६० साल वैशाख  २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएकाको हकमा यो नियम लागू गर्न भनिएको छ । 


नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालले सैनिक सेवा नियमावली संशोधनका लागि रक्षा मन्त्रालय पठाइएको जानकारी दिए । स्रोतका अनुसार, रक्षाले यसबारे कानूनी राय लिन कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियमावली पठाएकोमा उसले त्यसलाई सहमति दिएको छ । अर्थमा पनि उक्त नियमावली पठाइएको बताइएको छ । 

सबैतिरबाट सहमति प्राप्त भएपछि रक्षाले त्यसलाई मन्त्रिपरिषद्मा लगेर पेस गर्नेछ । नेपाली सेनाबाट गएका सबैजसो प्रस्ताव मन्त्रिपरिषदबाट अक्षरशः पालना हुने प्रचलन रहेकाले सैनिक नियमावली त्यहाँबाट पारित हुने निश्चित छ । औपचारिकता पूरा गर्नुपर्ने भएकाले केही समय बिलम्व भएको रक्षा मन्त्रालय स्रोतले बतायो । 


साँघु साप्ताहिक र  साँघुन्यूज डटकमले  १६ वर्षे पेनसन अवधिको माग निरन्तर उठाउँदै  आएको थियो । 

प्रतिकृया दिनुहोस