• शुक्रबार-बैशाख-७-२०८१

सैनिक प्रवक्तालाई प्रश्न–पिट्नेलाई क्षमा दिएर सूचना दिनेको जागिर किन खाएको ? 

काठमाडौं । कंगोस्थित शान्ति मिसनमा गएको नेपाली सेनाको कुटपिट प्रकरण केही समयदेखि चर्चामा छ । सैनिक अदालतले पिट्ने तीन अधिकृतलाई सामान्य कारबाही गरेर सूचना दिनेलाई भने जागिरबाट बर्खास्त गरेको समाचार प्रकाशितपछि नेपाली सेनाको आलोचना भइरहेको छ । 


तर नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्याल कंगो घटना र सैनिक अदालतको फैसलाबारे प्रकाशित समाचारको तथ्यमा केही त्रुटि रहेको बताउँछन् । 


उनले कंगो घटना र सैनिक अदालतले गरेको फैसलाबारे यसरी सुनाएः 

सैनिक अदालतले ९ जनालाई कारबाही गरेको हो । यसमा ३ किसिमका मान्छे छन् । पहिलो, मादक पदार्थ सेवन गरेर सेनाको चेन अफ कमाण्ड नमान्ने । अर्को, पिट्ने र तेस्रो नेपाली सेनाको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिता उल्लंघन गरेर फौजभित्रको आन्तरिक कुरा बाहिर ल्याउने । 


गत असोजमा कंगोमा पिटाइ खाने सिपाहीले मादक पदार्थ सेवन गरेर चेन अफ कमाण्ड पालना नगरेको अनुसन्धानको क्रममा खुलेको छ । तपाईंहरूको नजरमा उनी पीडित भए पनि हाम्रो नजरमा अनुशासनहीन हुन् । उनीसहित केहीलाई नसिहत दिइएको छ । 


त्यस्तै, होहल्ला गरेकालाई पिट्ने तीन अधिकृतको १ वर्ष बढुवा रोक्का गरिएको छ । उनीहरू योङ छन् । तिनलाई सुध्रने मौका दिनुपर्ने भएकाले त्यसो गरिएको हो । 


एक सैनिक जवानलाई सैनिक अदालतले बर्खास्तको फैसला सुनाउँदै ६ महिना जेल सजाय सुनाएको छ । उनी कंगो घटनासँग कुनै साइनो नभएका व्यक्ति हुन् ।  झगडा गर्ने, पिटाइ खाने  कुनै पनि  घटनामा संलग्न भएका  जवान होइनन् ।  तर, जागिर नै गुमाए । 


नेपाली सेनामा कुनै गुनासो भए त्यसलाई राख्ने आफ्नै तौर तरिका छ । कप्तानले कुटेपछि कर्णेललाई रिपोर्ट गर्नुपर्छ । कर्णेलबाट सुनुवाइ नभएपछि उनीमाथिको कन्टिनेन्ट कमाण्डरलाई रिपोर्ट गर्न सकिन्छ । कमाण्डरबाट पनि गुनासो सुनुवाइ नभए रातो र सेतो ढ्वाङमा लिखित उजुरी दिन सकिन्छ । यी कुनै पनि विकल्प प्रयोग नगरी बाहिर सार्वजनिक गर्न मिल्दैन । 


नेपाली सेनाको समाजिक सञ्जाल प्रयोसम्बन्धी आफ्नै आचारसंहिता पनि छ । सैनिक संगठनलाई अनुशासित बनाउन हामीले यो जारी गरेका हौं । आचारसंहितामा फौजभित्रका कुरा सामाजिक सञ्जालमा सर्कुलेट गर्न नपाइने उल्लेख छ । फौजभित्र केही नगरी सामाजिक सञ्जालमा सर्कुलेट गर्दा  भड्काउन खोजेजस्तो हुन्छ । यस्ता गतिविधिलाई हामीले बेलैमा निरुत्साहित गरेनौं भने भोलिका दिनमा सेनामा अनुशासन कायम गर्न सकिँदैन । त्यसैले त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न बर्खास्त र जेल सजाय सुनाइएको हो । 
 

 

प्रतिकृया दिनुहोस