• शुक्रबार-बैशाख-७-२०८१

प्रहरीको नीति नलाग्ने घुमुवाको मस्ती !

 

वीरगंज । नेपाल प्रहरीमा सादा पोशाकमा घुमुवा परिचालन गरी अतिरिक्त आम्दानी गर्ने क्रम तराईका जिल्लाहरूमा घट्ने होइन, बढिरहेको छ । बेलाबेलामा घुमुवा हटाएर शुद्धिकरण गर्ने कुरा प्रहरीमा उठ्ने गर्दछ । तर त्यो त्यत्तिकै सेलाएर जाने गर्दछ । भीमबहादुर रावल गृहमन्त्री हुँदा तराईका जिल्लामा घुमुवाका कारण सशस्त्र समूहहरू फस्टाएको निष्कर्षका साथ लामो समयदेखि घुमुवा रहेका प्रहरीलाई डाँडाकाँडा सरुवा गरियो । कतिपयलाई दरबन्दी रहेकै ठाउँमा फिर्ता गरियो । त्यसपछि सशस्त्र समूहका गतिविधिमा कमि आयो । 


घुमुवाहरूले सशस्त्र समूहहरूलाई प्रहरीको सबै सूचना दिने गरेकाले उनीहरूले व्यापारीलाई धम्क्याउने, असुल्ने र हत्यासमेत गर्ने काम गर्दै आएका थिए । 
 घुमुवाको सरुवापछि सशस्त्र समूहले सूचना पाउन छाडे, त्यसपछि उनीहरूविरुद्ध प्रहरी कारवाही प्रभावकारी बन्यो । फलस्वरुप तराईबाट सशस्त्र समूह कमजोर बन्दै समाप्त भयो । नेपाल प्रहरीमा विज्ञान शर्मा डीआईजी हुँदा पनि लामो समयसम्म कार्यरत घुमुवाहरूलाई सरुवा गरियो । त्यसपछि बेलाबेलामा घुमुवा हटाउने कुरा उठ्छ, तर त्यो लागु हुन सकेको छैन । अहिले २ नम्बर प्रदेशमा घुमुवाहरूको गतिविधि पुनः बढेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतोले सबै सेटिङ गरी घुमुवा खटाउँदै असुल्दै आएका छन् । 


प्रहरीमा एउटा सरूवा नीति छ जुन निरीहहरूलाई मात्र लाग्छ । हुने खानेलाई लाग्दैन । यसको ज्वलन्त उदाहरण वीरगंजका केही घुमुवाहरूको कुराले पुष्टि गर्छ । तस्बिरमा देखिएका मध्ये खैरो ज्याकेट लगाएका अनि अगाडि ग्लास भएका घुमुवा सिपाही हुन्, लालबाबु साह । उनी पर्सा प्रहरीको क्राइम टोलीमा बसेको तीन बर्ष भयो । जबकि प्रदेश प्रहरी कार्यालयले तीन बर्ष पुगेकाको सरूवा गर्यो तर उनी परेनन् । उनको प्रदेश प्रहरीमा राम्रो सेटिङ छ भन्ने कुरा यसले पुष्टि गर्दछ । क्राइमा रहँदा तस्करहरूसँग भेटेको र रकम उठाएको धेरै उजुरी परेपछि एसपी गंगा पन्तले उनलाई क्राईमबाट हटाएर प्रहरी चौकी सेरवा पठाइन् । त्यसैगरी तस्बिरमा उभिएर वियर हाल्दै गरेका घुमुवा हुन सिपाही नवीन पाल । उनको दरबन्दी महानगरीय प्रहरी पहरा गण हो । तर उनी विगत दुई बर्ष भन्दा अघि देखि वीरगंज प्रहरीको क्राइममा छन् । जबकि काजको नीति अनुसार ६ महिना भन्दा बढी बस्न पाइँदैन । उनलाई यो नियम लागू हँुदैन ।  


 पहिले क्राइमका विवादित निरीक्षक राजेश दत्तसँग बसेका पाल पछिल्लो समय सई प्रकाश राउतको पालामा रहँदा रकम उठाएको उजुरी परेपछि गंगा पन्तले नै उनलाई क्राइमबाट हटाएर वप्रका विर्ता पठाएकी थिइन् । यसरी हटाइएका विवादित घुमुवा पन्तको सरूवासँगै फेरि जिल्लामा आएर क्राइममा बस्न लागिपरेका छन् । अब एसपी बेल बहादुर पाण्डेले यी विवादित प्रहरीलाई च्याप्छन् कि च्याप्दैनन् त्यो भने भोलिका दिनमा देखिने छ । 


महतो र घुमुवाको साँठगाँठ
प्रदेश प्रहरीका प्रशासन प्रमुख डीएसपी ज्ञानकुमार महतो अति विवादित मानिन्छन् । उनी इन्स्पेक्टर हुँदा कीर्तिपुरमा कार्यरत थियो । कीर्तिपुरमा हुँदा उनले असुली गरेरै घडेरी जोडेको आरोप छ । कीर्तिपुरबाट उनको सरुवा जिल्ला ट्राफिक कार्यालय धनुषामा भयो । वीरगंजपछिको लाइसेन्स्मा कमाई हुने ठाउँ हो धनुषा । 


१६ महिनासम्म धनुषामा बसेका उनी त्यसपछि सरुवा भए । धनुषामा महानगरीय ट्राफिक महाशाखाबाट मधुसुदन सिलवालको सरुवा भयो, तर महतोले मधेसका विभिन्न व्यक्ति लगाएर सिलवाललाई जान नदिने वातावरण बनाए र थप १ वर्ष धनुषा ट्राफिकमा लाइसेन्स्मा घुस खाएर बसे । 


 तत्कालीन अख्तियारका आयुक्त राजनारायण पाठकसम्म पहुँच पु¥याएर उनी थप १ वर्ष धनुषा ट्राफिकमा बस्दा जनकपुर यातायातका प्रमुख तीर्थराज खनाल थिए । खनाल र महतोको सेटिङमा खुलेआम लाइसेन्स् विक्री भयो । लिखित परीक्षादेखि प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएकालाई लाइसेन्स् दिइयो । मोटरसाइकलको १० हजार र हल्का सवारीको २५ हजारसम्ममा दलाल राखेर लाइसेन्स् विक्री गरियो खनाल र महतोले करोडौं घुस लिएको विषयमा अख्तियारमा उजुरी परे । तर राजनारायण पाठकलाई भेटी बुझाएर उनीहरूलाई मुद्दा चलाइएन् । जनकपुर ट्राफिकमा महतो र खनालविरुद्ध मुद्दा दायर गर्न पर्ने उजुरी पर्दा पनि पाठकले उनीहरूबाट लाभ लिई जोगाएको आरोप लागेको थियो । 


  धनुषा ट्राफिकपछि उनको सरुवा इलाका प्रहरी कार्यालय  रौतहटको गरुडामा भयो । उनी इञ्चार्ज भएको गरुडामा हिरासतमा यातनाका कारण एक व्यक्तिको मृत्यु भयो । त्यस प्रकरणमा उनलाई निलम्बन गर्नुपर्नेमा जोगाइयो । रौतहटका एसपी रविराज खड्का तानिए । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइयो । इन्स्पेक्टर र कनिष्ठ अधिकृतहरू निलम्बन भए, तर महतोलाई उन्मुक्ति दिइयो । तिनै महतो हाल २ नम्बर प्रदेश प्रहरीको घुमुवा खटनपटन गर्ने हर्ताकर्ता छन् । २ नम्बर प्रदेशका डीआईजी धिरजप्रताप सिंहले महतोको असुली धन्दाबारे थाहा नपाएका हुन् कि उनको समेत संलग्नता छ, त्यो भने प्रहरीले बुझ्न सकेका छैनन् । 

प्रतिकृया दिनुहोस