• शनिबार-बैशाख-८-२०८१

सार्वजनिक यातायातमा हुने महिला हिंसा कसरी प्रतिवाद गर्ने ?

 

काठमाडौं उपत्यकाभित्र व्यस्त सडकमा गुड्ने बस तथा माइक्रो बसहरूमा गुन्द्रुक खाँदेजस्तै यात्रु कोचिनु अनौठो कुरा होइन । सार्वजनिक यातायातभित्र महिलाले खेप्नुपरिरहेको पीडा पनि यस प्रकारको महिला हिंसाको अर्को पाटो हो । यसतर्फ खासै ध्यान गएको देखिँदैन । महिला हिंसाविरुद्धको यस्ता घटना तपाई हाम्रै आँखा अघि भैरहेका हुन्छन् । तर यस्ता हिंसातर्फ सम्बन्धित पक्षले वास्ता गरेन भने हिंसा गर्नेले प्रोत्साहन पाइरहनेछन् । तसर्थ सार्वजनिक यातायात महिला हिंसाका अखडा बन्नेछन् । 


त्यसकारण महिलामाथि हुने हिंसा निर्मूल पार्न सार्वजनिक यातायातलाई महिलामैत्री बनाइनुपर्छ । सार्वजनिक यातायातमा महिलामाथि हिंसा हुने गरेको घटना काठमाडौं उपत्यकामा मात्रै होइन सर्वत्रै छ । उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजनिक बस तथा माइक्रोबसमा यात्रा गरेका महिलामाथि हिंसा हुने गरेका घटनाहरू सार्वजनिक भैरहेका नै हुन्छन् । 


सार्वजनिक यातायातलाई महिला मैत्री बनाउने उद्देश्यले केही राम्रा प्रयासहरू नभएका हैनन् तर कार्यान्वयनमा समस्या सधैँ हुने गरेको छ । त्यसमा पनि असारे विकास जस्तो बेलामौकामा हुने प्रयासले दिगो समाधान गर्न नसक्नु ठूलो कुरा होइन । कुनै महिलामाथि कुनै ठाउँमा यौनजन्यहिंसा भएमा निर्धक्कसँग उजुरी गर्ने वातावरण अझै सहज बनिसकेको छैन । सार्वजनिक यातायातमा हुने महिला हिंसा तथा दुव्र्यवहारका घटना धेरैका लागि खासै चासोको विषय बन्दैन । त्यसो त यस्तो दुव्र्यवहारमा पर्ने महिला स्वयम्ले पनि प्रतिवादमा उत्रिने वा कानुनी कारबाहीका लागि उजुरी दिने आँट हत्पत्ति गर्दैनन् । 


कस्तो प्रकृतिका हुन्छन त ?
सार्वजनिक यातायातमा महिला हिंसा ? 

 महिलायात्रीको शरीरमा टाँसिने, महिलाले डण्डी समातेको हातमाथि आफ्नो हात खप्टिने, छातीमा धक्का दिने, संवेदनशील अंगमा छुने, अनुहारमा क्वारक्वार्ती हेर्ने, अश्लील बोल्ने वा त्यस्तो हाउभाउ देखाउने जस्ता हर्कतलाई सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसा मान्न सकिन्छ । 


त्यस्तै सार्वजनिक यातायातमा महिला तथा बालबालिकाहरू माथि हुने यौनजन्य दुव्र्यवहार, यौनजन्य आशयले महिला तथा बालबालिकाको अङ्गमा छुने वा छुने प्रयास गर्ने, अश्लील तथा यौनजन्य आशय प्रदर्शन गर्ने, यौनजन्य आशयले जिस्काउने तथा हैरानी दिन लगायतका कार्यहरू नै सार्वजनिक यातायातमा हुने महिला हिंसा हुन । 


 यस्ता गतिविधि कानुनद्वारा बर्जित छ । कानुनले यस्ता क्रियाकलापलाई अपराध भनेता पनि कतिपयलाई सो सम्बन्धमा कानूनी ज्ञान नहुनु र कतिपय पीडितले डर, सामाजिक प्रतिष्ठा, लाज वा असहजताको गर्दा यस्ता घटनालाई गुपचुप नै राखेर अपराधिलाई बढ्वा दिइरहेका हुन्छन् । यसले महिलाहरू नजानिँदो गरी हिंसाको सिकार बन्छन् भन्ने प्रस्ट हुन्छ । त्यसो गर्ने पुरुषलाई केही भनिहाल्ने आँट पनि कसैले गर्न सक्दैनन् गरी हालेपनि आफ्नो कुरा सुनेर अरुले आफूलाई हेर्ने दृष्टिकोण नकरात्मक हुन्छ कि भन्ने मनोविज्ञानले गर्दा महिलाहरू निरन्तर हिंसाको सिकार बन्न बाध्य छन् । 


कसरी प्रतिवाद गर्ने ? 
नेपालको संविधानको धारा ३८ (३) मा महिलामाथि कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भन्ने अधिकारको सुनिश्चता गरिएको छ । 


कसैले सामान्य अवस्थामै (भिडभाड नहुँदा नै) तपाइको हातमाथि आफ्नो हात राख्छ भने आफूले कडा भएर हात हुत्याइदिने । तपाइको कुम्भमा कसैले हात राख्छ भने आफ्नो खुट्टाले उसको खुट्टामा दुख्ने गरी हिर्काउने अनि कराएमा किन यस्तो हर्कत गरेको भनेर भन्ने । कसैले एकोहोरो गोप्य अङ्गमा हेरेमा उसको आँखामा आँखा जुधाएर उसको नजिक गएर भुँइमा थुकिदिने । कसैले अश्लील शब्द प्रयोग गरेर बोल्छ, छेडखान गर्छ भने यस्तो छाडा शब्द नबोल्न भन्ने फेरि बोलेमा सबैलाई भनेर यस्ता यात्रुलाई यातायातबाट तत्काल झार्न लगाउने । एकजना महिला माथि हिंसा भैरहेको छ भने अन्य महिलाले पनि उसको आवाजमा साथ दिने, घटनाको मूकदर्शक बनेर नबस्ने । नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्ने वा म्यासेज गरेर तत्कालै खबर गर्ने । 


कानुनले महिलामाथि हातपात गर्ने, गालीगलौज गर्ने वा त्यस्तै कुनै शारीरिक प्रताडना कार्यलाई मात्र होइन महिलालाई दिइने कुनै किसिमको मानसिक एवं सामाजिक पीडाहरूलाई महिलामाथिको हिंसाका रूपमा लिएको छ । महिलामाथि गलत मनसायले हेर्नु वा यौनभाव झल्कने गरी अनावश्यक बोल्ने काम पनि हिंसाअन्तर्गत पर्छ । तसर्थ अब हरेक महिलाले आफूमाथि हुने हिंसालाई निर्धक्कको साथ प्रतिवाद गर्न जरुरी छ । जबसम्म पीडितले घटना लुकाउन्छन् तबसम्म हिंसा भैरहने पहिले आफूले प्रतिवाद गर्नसक्नु पर्छ ।

 

अनि अन्य महिला वा पुरुषले पनि यस्ता हिंसाजन्य गतिविधि भएको पाइएमा त्यस्ता व्यक्तिलाई निरुत्साहित गर्न सघाउनु पर्छ । पीडित महिलाको पक्षमा आवाज उठाएर उनको साहस र हिम्मतलाई प्रश्रय दिनसके मात्र पनि महिलालाई आफूमाथि हुने हिंसाको विरुद्ध बोल्न र आवाज उठाउन हौसला मिल्दछ । तसर्थ महिलामाथि सार्वजनिक यातायातमा हुने हिंसालाई रोक्न पहिला महिला स्वयम्ले आफूमाथि भएको हिंसाको प्रतिवादमा खरो रूपमा उत्रने हिम्मत हार्नु हुँदैन ।  
 

प्रतिकृया दिनुहोस