• शुक्रबार-बैशाख-७-२०८१

राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । 

    

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफका लागि रविना गोलेले एउटा गोल गरिन् । पुलिस क्लबले एपीएफका लागि एउटा आत्मघाती गोल गरेको थियो । पुलिस क्लबका लागि भने एक मात्र गोल अमृता जैशीले गरिन् । 
 

मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरपछिको खेलको ६९ औँ मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आत्मघाती गोल गरेकी थिइन् । खेलको ७५ औँ मिनेटमा पुलिसका लागि जैशीले गोल गरिन् । यस्तै खेलको ८६ औँ मिनेटमा एपीएफका लागि गोलेले गोल गरिन् । जितसँगै लिगमा एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ उपाधि नजिक पुगेको छ । एपीएफले हालसम्म १० खेलमा ३० अङ्क जोडेको छ भने पुलिसले १० खेलमा १४ अङ्क जोडेको छ । पुलिस लिगको चौथो स्थानमा छ । 


एन्फा मैदानमा भएको दोस्रो खेलमा विराटनगरले वालिङलाई हरायो । विराटनगरका लागि विदेशी खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् । उनले खेलको ३५ औँ मिनेटमा फ्रिकिकमा गोल गरिन् । मध्यान्तरपछिको खेलमा भने विराटनगरले वालिङविरुद्धको खेलमा दबावमा खेलेको थियो । उसले गोल गर्न सकेन । जितपछि विराटनगर १६ अङ्कका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ । 
 

प्रतिकृया दिनुहोस