• बिहीबार-बैशाख-१३-२०८१

केही नेताको सत्ता महत्वाकाङ्क्षाले पार्टी खण्डहर : परराष्ट्रमन्त्री

 

काठमाडाैं ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता र पदको महत्वकाङ्क्षाका कारण लोभलाग्दो पार्टी एउटा खण्डहरजस्तो बनेको बताएका छन् । उनले पार्टीलाई गुटहरुको संयुक्त मोर्चाभन्दा माथि उठाउन नसकेका कारण नेकपा धमिराले खाएको खाग जस्तै हुने अवस्थामा पुगेको बताए । 


नेकपा जिल्ला कमिटी गुल्मीले २०७७ फागुन १० गते  तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले केही नेताहरुको घेराबन्दीका कारण मुलुकको राष्ट्रिय राजनीति बलियो बन्न नदिएको तर्क गरे । उनले यस्तो प्रकारको घेराबन्दीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा हासिल गरेका केही मूल्यहरुलाई समाप्त पार्न खोजेको बताए । 

“मुलुकले थालेका समृद्धिका अभियानहरुलाई निरन्तर अगाडि बढाउने कि ? फेरि मुलुकलाई आन्दोलनका नाममा अन्तहीन एउटा अस्थिरतामा लैजाने ? स्थिरता कि, अस्थिरता ?”, मन्त्री ज्ञवालीले प्रश्न गरे । 
 

उनले वर्तमान अवस्थामा मुलुकले खोजेको संसद्को स्थिरता नभई सरकार र नीतिको स्थिरता भएको बताए । सरकार स्थिर भएमा नीति स्थिर हुने, नीति स्थिर भएमा निर्णयहरु स्थिर हुने र निर्णय स्थिर भएमा मुलुकको विकासले एउटा गति लिने उनले बताए ।

विद्यमान कानून नियम, संसारका प्रचलन र अभ्यासबाट मुलुक अब ताजा जनादेशमा जान थालेको भन्दै मन्त्री ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब सूर्य चिह्नसहित चुनावमा होमिने कार्यकर्तामाझ स्पष्ट पारे । उनले पार्टीभित्रको विचौलिया राजनीति र घेराबन्दीलाई तोड्दै कार्यकर्तालाई चुनावी तयारीमा लाग्नसमेत निर्देशन दिए । 
 

प्रतिकृया दिनुहोस