• शुक्रबार-चैत-१६-२०८०

ईश्वर पोखरेलले भने– सर्वोच्चबाट जस्तो फैसला आए पनि मान्छौं


काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार्य हुने बताएका छन् । 


प्रतिनिधिसभा विघटनमाथिको फैसलालाई प्रभावित पार्न नेकपाका दुवै पक्षबाट न्यायलयमाथि टीकाटिप्पणी भइरहेका बेला पोखरेलले यस्तो बताएका हुन् । उनले एक कदम अघि बढेर सर्वोच्चको फैसला अस्वीकार गर्नु अलोकतान्त्रिक हुने टिप्पणीसमेत गरे । 


‘सर्वोच्च अदालतले गर्ने फैसला सबैका निम्ति स्वीकार्य हुनुपर्छ । कसैले त्यसलाई मान्दैन भने त्यो अलोकतान्त्रिक हुन्छ,’ पार्टीनिकट प्रेस संगठन, चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले मंगलबार भने । 


संसद् विघटनलाई प्रतिगमन भनेर प्रतिपक्षले गरेको टिप्पणीप्रति पनि उनले असन्तुष्टि पोखे । संसद् विघटन गरेर निर्वाचनमा जाने निर्णय गरिएकाले त्यो लोकतान्त्रिक भएको उनको तर्क छ । 
 

उनले सबै दललाई निर्वाचनमा जुट्न पनि आग्रह गरे । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ मा निर्वाचन मिति घोषणा गरेको थियो । विघटनबारे फैसला आइनसके पनि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । मंगलबार मात्रै उसले निर्वाचनका लागि आवश्यक सामग्री खरीदका लागि प्रक्रिया थालेको छ । 


पोखरेलले नेकपाको आधिकारिक समूह ओली पक्ष भएकाले त्यसलाई आयोगले मान्यता दिने दाबी गरे । 


नेकपा विभाजनपछि दुवै पक्षले आधिकारिकता दाबी गरे पनि अहिलेसम्म यो विषय टुंगिएको छैन । यसप्रति प्रचण्ड–माधव नेपाल समूहले आपत्ति जनाएका छन् । 

प्रतिकृया दिनुहोस