• शनिबार-बैशाख-८-२०८१

कांग्रेस अझै गतिशील ढंगले अगाडि बढेको छैन

 

(प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस यतिबेला पार्टीको १४ औं महाधिवेशनमा होमिएको छ । संविधानका सबै विकल्प पार गरेर अन्तिम घडीमा महाधिवेशन २०७८ भदौमा गर्ने भएपछि कांग्रेसको नेतृत्व निर्विकल्प मार्गमा हिँडेको हो । यही चटोरोले राष्ट्रिय राजनीतिका लागि सडकमा पनि देखिन छाडेको छ । चुनावमा कसरी जाला भन्ने प्रश्न पनि खडा भएको छ । यिनै विषयमा आधारित रहेर कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेसँग कुराकानी गरेका छौं–सम्पादक) 


० ढिलै भएपनि कांग्रेसको महाधिवेशन त हुने भयो हैन ?
–हामीले गर्नुपर्ने त पछुतो हो । तर पछुतो गरेर यतिखेर समाधानमा पुगिँदैन । २०७४ सालको निर्वाचनमा हामी पराजित भएपछि सत्ता चलाउनु पर्ने थिएन । मात्र संगठनको आन्तरिक जीवनमा ध्यान दिन सकेको भए गएको २०७६ सालको फागुनमा नै हाम्रो महाधिवेशन गर्न सक्थ्यौं । त्यो समय चुकेपछि पश्चात्ताप गरेर समाधानमा पुगिन्न । त्यसैले अहिलेको कार्यतालिका सर्वसम्मत रुपमा निर्णयमा पुगेका छौं । सबैको प्रतिवद्धता के छ भने यसमा कुनै पनि हिसाबले दायाँबायाँ हुन दिने छैनौं । क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने लगायतका डेटलाइनहरू जे छन् त्यसमा संशोधन हुन नसक्ने गरी प्रारम्भदेखि नै सचेततापूर्वक दृढताका साथ काम गर्नुपर्छ भन्नेमा केन्द्रीय समिति सिङ्गै पुगेको कारणले हाम्रा मातहतका निकायमा पनि यही खालको बुझाई र प्रतिवद्धता भएकाले २०७८ भदौ ७ को मिति अब चुक्दैन भन्नेमा विश्वस्त छौं । 


० यहाँसम्म आउनुमा सभापति देउवाको मात्र दोष हो कि तपाइँहरूका नेताहरू शशांक, पौडेल, सिटौला पक्ष पनि दोषी छन् त ?
–हामीले पार्टी सभापति, वरिष्ठ नेता अथवा महामन्त्री, कुनै पदासिन व्यक्ति विशेषलाई आरोप प्रत्यारोप गरेर अकर्मण्यताको भारी बोकाएर कोही पनि उम्किन सक्दैनौं । नेतृत्वलाई आरोपित गर्नुभन्दा एकजुट भएर महाधिवेशन सम्पन्न गर्ने कुराको मुख्य कमाण्डर पार्टी सभापति नै हुनुहुन्छ । उहाँ महाधिवेशन सम्पन्न गर्ने कुरामा अगाडि बढ्नु हुन्छ हामी सबैले साथ दिन्छौं सहयोग गर्छौं भन्ने वातावरणमा जानुपर्छ । यो महाधिवेशन सम्पन्न गर्ने विषयमा आरोप–प्रत्यारोप, लोकप्रियता–अलोकप्रियताको प्रतिस्पर्धा गर्ने, अहिले नै चुनाव भइहाल्छ कि भने जसरी त्योभन्दा म राम्रो र म अब्बल भन्ने दिशातिर गयौं भने महाधिवेशन प्रभावित हुन्छ ।

सबै जना क्रियाशील सदस्यता नविकरण वितरणको जुन देशभरि चटारो छ त्यसैअनुसारकांग्रेस अझै गतिशील ढङ्गले अगाडि बढेको छैन । जिल्लालाई सोध्दा निर्वाचन क्षेत्रमा र निर्वाचन क्षेत्रमा सोध्दा पालिकाहरूले दिएका छैनन् र पालिकालाई सोध्दा वडाले दिएको छैन । यस्तो अवस्था भएको बेलामा सबै एकाकार भएर कुन ठाउँमा काम अड्किएको छ त्यसमा पुगेर समाधान गर्नुपर्छ । हाम्रो क्रियाशील सदस्यताको अन्तिम सूची आइसकेपछि जब महाधिवेशनको  दिशामा पुग्छौं त्यहीं प्रतिस्पर्धा गरौंला । यसो भयोभने हामी आफ्नो कर्तव्य पूरा गर्छौं जस्तो लाग्छ । 


० यो अवस्था किन सिर्जना भयो ?
–हिजो हामीले १४ औं महाधिवेशनका लागि गर्नुपर्ने काम बेलामा गरेनौं । अब पछुतो र पश्चात्तापलाई संकल्प गरेर जुनसुकै मूल्यमान्यतामा पनि महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरेर जानुपर्छ । त्यसै कारणले पनि हामीले विरोध प्रदर्शनका कार्यक्रमलाई पार्टीको महाधिवेशनको कामलाई प्रभावित नहुने गरी गर्ने भन्ने कारणसम्म पुग्नुको कारण त्यही हो । अब हाम्रो अर्जुनदृष्टि महाधिवेशन सम्पन्न गर्ने कार्यदिशातिर जान्छ । 


० सडक कि चुनाव भनेर अल्झेर पार्टीको महाधिवेशनको कर्तव्यवोध नभएको त हैन ?
–कार्यतालिका प्रकाशनको सिलसिलामा नै ठूलो अभ्यास भएको थियो । त्यसका लागि टिम बनेको थियो । त्यो टिमले होमवर्क गरेर सर्वसम्मत प्रस्ताव ल्याएको थियो । त्यसलाई केही संशोधन गरेर पारित सर्वसम्मत पारित भयो । त्यसमा धेरै खिचातानी केही थिएन । राजनीतिक विषय त्यत्तिकै महत्वपूर्ण भएकाले त्यतातिर हामीहरू विभाजित हुनु स्वभाविकै थियो । अहिले अन्योलको भूमरीमा फसेका कारणले पनि केही नेताहरूले समयानुभावका कारणले कुरा राख्नु भएको हो । अहिलेको अराजकतावाद सच्याउनु पर्छ भन्नुको मतलब संसद पुनस्र्थापना नै हो भन्ने एउटा कोणबाट हो । अर्को कोणबाट अदालतले टुङ्गो दिएको छैन । न चुनावमा जानुपर्ने परिस्थिति हुन्छ कि । विगतमा पनि हामी यो चुनाव हुँदैन भन्दाभन्दै, चुनावमा जानु हुन्न भन्दाभन्दै कतिपय अवस्थामा चुनावमा जानुपर्ने परिस्थिति भएको थियो । त्यसैले दुई किसिमका कुरा आएर पनि केही अलमल भएकोहो । केन्द्रीय समितिको निर्णय के हो भने महाधिवेशनलाई उच्चतम प्राथमिकता दिने, महाधिवेशनका कार्यतालिकालाई प्रभावित हुन नदिने तर हामीले जुन असंवैधानिक कदम प्रधानमन्त्रीबाट चालिएको छ त्यसको विरुद्धमा प्रस्तुत भइरहने निचोडमा पुगेका छौं । 


० सभापति त आन्दोलनमा जान पैसा छैन भनेर पन्छिन खोज्नुभएको छ नि ?
–यो मुख्यगरी लाक्षणिक तरिकाले भन्नुभएको हो जस्तो लाग्छ । गएका दिनहरूमा जसरी नेकपाका दुई पक्षबाट प्रदर्शन भए ती प्रदर्शनहरू निकै खर्चिला र भड्किला भए । टाढाटाढाका जिल्लाबाट गाडी रिजर्भ गरेर जनता काठमाडौंमा उतारियो । एउटा व्यक्तिका लागि न्यूनतम पनि पाँच हजार खर्च भएको छ । कतिपय सहभागीले पैसा पनि दिएको कुरा गरे । राज्यको दोहन वा विभिन्न ठाउँमा चन्दा आतंक सिर्जना गरिएको कुरा होस् वा सहयोग लिइएको कुरा होस् । त्यसले गर्दा राजनीति गलत दिशातिर गयो, राजनीति खर्चमुखी भयो भनेर उहाँले लाक्षणिक रुपमा भन्नुभएको होला भन्ने लाग्छ मलाई । हामीले ठिक एजेन्डा लिएर मूल्य, मान्यता र नैतिकतालाई जोगाउन सक्यौं भने पैसामात्र सबैथोक हैन । हिजो पनि हामीले ठूलाठूला आन्दोलन गरेका थियौं । जनसहभागीता जुटाएका थियौं ।


० सभापतिले सक्रिय कार्यकर्तालाई पनि आउँदैनन् सडकमा भनेर गाली गर्नुहुन्छ नि ?
–हामीकहाँ राजनीति खण्डित छ । २००७ सालमा प्रजातन्त्र आयो २०१७ सालमा खण्डित भयो । २०४६ सालमा प्रजातन्त्र आयो फेरि २०५९ सालमा गएर खण्डित भयो । २०७२ सालमा निकै ठुलो मेहनतले लोकतान्त्रिक संविधान ल्यायौं । यतिखेर केपी ओलीका कारणले खण्डित हुन्छ कि भन्ने आतंक बढेर गयो । चार चार वर्षमा महाधिवेशन हुनुपर्ने, क्रियाशील सदस्यता प्रत्येक वर्ष वितरण गर्ने र नविकरण गर्ने जुन विधानको परम्परा छ त्यो अनुसार गर्ने, विधानमा भएका नियुक्ति, भेला, काम, प्रशिक्षणलाई निरन्तरता दिने हो भने सुधारको बाटो लिएर जान्छ र लोकतन्त्र राष्ट्रिय र बाह्य राजनीतिमा बलियो भएर जान्छ । अहिलेको समस्या के हो भने बेलाबेलामा खण्डित हुन थाल्यो । हामीले भनेका बेलामा क्रियाशील सदस्यता वितरण गर्न सक्दैनौं । संरचनालाई भनेका बेलामा गठन गर्न सक्दैनौं । कार्यकर्तालाई भनेका बेलामा प्रशिक्षित गर्न सक्दैनौं । नेता र नेतृत्वले नैतिक मूल्य र मान्यतालाई व्यक्तिगत मनोगत स्वार्थका कारण अगाडि बढाउन सकेनौं । वैधानिक सर्वोच्चतालाई स्वीकार गरेर सिद्धान्तमा नभई व्यवहारमा प्रस्तुत भए लोकतन्त्र परिस्कृत भएर जान्छ । 


० कांग्रेसमा आत्मआलोचना भन्ने हुँदैन ?
–विसंगति सबैतिर बढेको छ । केन्द्रको नेताले जस्तै तल मातहतको नेताले पनि त्यस्तै कार्यशैली देखाउन खोज्छ । विकृति बढेकै देखिन्छ । द्वन्द्व केन्द्रमा छ भने तल गाउँहरूमा पनि छ । केन्द्रको नेता भनेको एक प्रकारले शिखरमा बसेको, सबै खालको हण्डर खाएको, योग्यताले माथिल्लो तहमा पुगेको व्यक्तित्व हो । उसले एकताको सन्देश पनि दिन सक्नुपर्छ । गुटको राजनीतिलाई न्यूनिकरण गर्ने सन्देश दिनुपर्छ । मुहानबाट सफा पानी बगेपछि मात्रै तल चुहानमा सफा पानीको परिकल्पना गर्न सकिन्छ भनेजस्तै केन्द्रको नेताले ठीक बाटो लियो भने त्यसको सकारात्मक तरङ्ग तलसम्म जान्छ । त्यसैले सुधार सबैतिर हुनुपर्छ । तर शुरुआतचाहिँ माथिबाट हुनुपर्छ । सुधार गर्ने कुरामा सभापति, वरिष्ठ नेता, महामन्त्री, केन्द्रीय सदस्यहरूले नैतिक आचरण, मूल्यमान्यताको राजनीति गर्नुपर्छ । लोकतन्त्रले खोजेको परिपाटी र पद्धति पनि यही नै हो । 


० कांग्रेसको १४ औं महाधिवेशनमा युवा नेतृत्व आउने सम्भावना कत्तिको छ ?
–युवा नेतृत्व विस्तारै १२ औं महाधिवेशनबाटै विस्तारित हुँदै आएको छ । जुन बेला ७५ प्रतिशत पदमा चुनावबाट नेतृत्व चयन गर्ने पद्धतिमा गएपछि भएको हो । अहिले ८० प्रतिशत चुनावबाट नेतृत्व चयन गर्ने आउँछ । अहिले पदाधिकारीको संख्या पनि बढेको छ । त्यो हिसाबले युवाको उपस्थिति अझ राम्रो भएर जान्छ । १२ औं मा भन्दा १३ औं राम्रो र १३ औं भन्दा चौधौं राम्रो भएर जाने नै भयो ।  


० अदालतले ताजा जनादेशमा जानका लागि फैसला गरे चुनावका लागि कांग्रेस तयार छ ?
–यसलाई दुईवटा खण्डमा हेर्नुप¥यो । अहिले हामी संसद विघटनको विरोध गर्ने चरणमा मात्रै छौं । अर्को खण्डमा चाहिँ अदालतको फैसला आइसकेपछि फेरि पार्टीले दृष्टिकोण बनाउँछ । अहिलेसम्म अदालतले संविधानलाई नै टेकेर फैसला गर्छ भन्नेमा हामी विश्वस्त छौं । त्यही किसिमले नै हामी प्रस्तुत भएका छौं । अदालतको फैसलापछि फेरि पार्टीले नयाँ धारणा बनाउनु पर्ने भयो भने त्यसपछि फेरि निर्णयमा पुग्छ । 

प्रतिकृया दिनुहोस