• शुक्रबार-बैशाख-७-२०८१

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

 

काठमाडाैं, फागुन १३ गते । नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ ।


सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । 


बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । 


नेता महतले भने, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन् । अहिले पनि नेकपा एउटै छ । नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उहाँहरुको पार्टी भोलि कसरी अघि बढ्छ । एकै रहन्छ वा अर्को परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन ।”


 कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ताव आएको छ नि भन्ने प्रश्न उनले अहिले त्यसको कुनै अर्थ नरहेको जवाफ दिए । 


सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघट्न सम्बन्धमा परेका विभिन्न रिटको सुनवाइ गर्दै पुनःस्थापना गर्ने फैसला गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । 
 

प्रतिकृया दिनुहोस