• शनिबार-बैशाख-८-२०८१

तेस्रो चरणको भूपू सैनिक सम्मेलन सम्पन्न 

 

काठमाडाैं, चैत २५ गते ।  प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । 

 

काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी  उपत्यका पृतनामा आज आयोजित भूपू सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू सैनिकको वीरता र समर्पणको सङ्गठनले कदर गर्ने  विश्वास दिलाए । प्रत्येक सेनापतिको कार्यकालमा कम्तीमा एक पटक प्रदेशगत रुपमा सेनाले भूपू सैनिक सम्मेलन गर्दैै आएको छ ।
No description available.

उनले भने, “भूपू सैनिक, एकल महिला र अरु हिताधिकारीको आर्थिक र सामाजिक रुपमा जीवनस्तर उकास्न कल्याणकारी कार्यक्रममा सेवाग्राहीको थप पहुँच विस्तारको प्रयत्न भइरहेको छ ।”
 

सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई कोभिड–१९ खोप प्रदान गर्ने कार्यको शुरुआत भइसकेको पनि उनले जानकारी दिए । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा सेनाको व्यवस्थापनमा  भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नारामा सेनाले सम्मेलन गर्दै आएको छ ।

  

सो अवसरमा तीन जिल्लामा बसोबास गर्ने मध्ये ज्येष्ठ भूतपूर्व सैनिक १०० वर्षीय नरबहादुर बस्नेत र १०४ वर्षीया एकल महिला गङ्गादेवी थापामगरलाई सम्मान गरियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने सात जना आमाबुबालाई सम्मान गरियो । कल्याणकारी कोषले सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल दत्तुप्रसाद तिमिल्सिना र भूपू सैनिक राजन खत्रीकी श्रीमतीलाई सम्मान गरेको थियो ।


 त्यस अवसरमा फरक क्षमता भएका र अशक्त चार जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरियो । लघुवित्त कार्यक्रमअन्तर्गत सहुलियत ब्याजदरमा कर्जा लिएर उद्योग व्यवसाय सञ्चालन गर्न चाहने महिलालाई सेनाले उद्यमशील कर्जाको चेक पनि हस्तान्तरण गर्यो ।


समारोहमा बलाधिकृतरथी प्रभुराम शर्माले लडाइँ, बढाइँ, जिम्मेवारी र शान्ति सेनामा खटिदाका सहयात्रीसँग सुखदुख बढ्न सकियोस् भन्ने उद्देश्यका खातिर विशिष्टकृत परम्पराका रुपमा भूपू सैनिक सम्मेलन गरिँदै आएको बताए । पूर्वरथी बालानन्द शर्माले भूपू सैनिकका चाहना, पीरमर्का, सुझाव र प्रस्तावलाई सीमित स्रोत साधनका अलवा सङ्गठनले विस्तार गरेका कल्याणकारी कार्यक्रम सह्रानीय रहेको बताए । 

 

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी निर्देशक गौरव तण्डुलले कोषले महिला उद्यमीका लागि ज्यादै न्यून ब्याजदरमा कर्जा प्रवाह गरेकाले त्यसबाट लाभ लिन हिताधिकारीलाई सुझाव दिए । नेपाल राष्टिय भूपू सैनिक सङ्घका सभापति दीगम्बर शम्शेर राणाले कल्याणकारी कार्यक्रममार्फत भूपू सैनिक र एकल महिलाको जीवनस्तर उकास्न ठूलो योगदान पुगेको धारणा राखे । 
 

प्रतिकृया दिनुहोस