• शुक्रबार-बैशाख-७-२०८१

भारतमा एकै दिन ९७ हजार संक्रमित, ब्राजिलमा ४ हजार बढीको ज्यान गयो 

 

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । 


सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।  


भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । 


तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् । 


भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए । 


ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको  छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो । 


ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।


ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।


देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताए । 
 

देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाइ छ । कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ । 


राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिकमा उथलपुथलको भएको थियो । गत हप्ता  बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए ।  


त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरुले राजिनामा गरेपछि नयाँ कमाण्डरहरु फेरिएका थिए । 
 

 

प्रतिकृया दिनुहोस