• शुक्रबार-चैत-१६-२०८०

धमाधम सार्वजनिक हुँदै पत्रकार महासंघको नतिजा, कहाँ को विजयी ? 

काठमाडौं । बुधबार पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट सम्पन्न नेपाल पत्रकार महासंघको नतिजा बाहिरिने क्रम सुरु भएको छ । केही जिल्लाको अन्तिम परिणाम आइसकेको छ भने कतिपय स्थापनामा मतगणना जारी छ । 


प्राप्त परिणाममा प्रेस युनियन अगुवाइको विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । निर्मला शर्माले लिड गरेको समूहले पनि विभिन्न स्थानमा जित निकालेको छ । तर पोखरेल नेतृत्वको प्यानलको दाँजोमा कमजोर देखिएको छ । 

 

झापा


नेपाल पत्रकार महासंघ झापामा पोखरेल नेतृत्वको प्यानल हाबी भएको छ । प्राप्त समाचारअनुसार त्यहाँ एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले अध्यक्षसहितको २० पदमध्ये १६ पदमा विजय हासिल गरेको छ । 


 प्रेस युनियनका गिरीले १५५ मत ल्याए भने उनका प्रतिद्वन्द्वी प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत मात्र पाए । 


नुवाकोट 

नुवाकोटमा कपिलदेव खनाल विजयी भएका छन् ।  पोखरेलको प्यानलबाट खडा भएका खनालले सरकारनिकट प्यानलबाट खडा भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि पनि जित निकालेका हुन् । 


दैैलेख

दैलेखमा प्रेस चौतारी (माधव नेपाल समूह) का यज्ञराज थापा विजयी भए । थापाले ५५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी केपी समूहको चौतारीका पुरुषोत्तम थापा (पुस्कर) ३२ मतमा खुम्चिए । 

 थापा स्वर्गीय पत्रकार डेकेन्द्र थापाका भाइ हुन् ।

पर्वत 

 नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा प्रेस चौतारीका सन्तोष थापा विजयी भएका छन् । बुधबार राति सम्पन्न अन्तिम मतपरिणाममा थापा आफ्ना निकटतम प्रतिद्वन्द्वी अगन्धर तिवारी भन्दा २ मतको अन्तरमा विजयी भएका हुन् । थापाले २८ मत प्राप्त गर्दा तिवारीले २६ मत हासिल गरे । 

काभ्रे 

महासंघ, काभ्रेमा बद्रीराज तिमल्सिना निर्वाचित भएका छन् । उनी पोखरेलको प्यानलबाट मैदानमा उत्रिएका थिए । 

ललितपुर 

नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् ।


यसैगरी, दार्चुलामा कृष्ण धामी अध्यक्षमा निर्वाचित भएका छन् । बझाङको अध्यक्षमा शैलेन्द्र रोकायाको प्यानल विजयी भएको छ । दोलखामा नेपाल प्रेस युनियनका दीपशंकर चौलागाईं निर्वाचित भए भने डोटीमा नेपाल प्रेस युनियनका मोहन शाहीको प्यानलले एकछत्र जित निकाल्यो । बर्दियामा यादव आचार्यको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ । 
 

बिहीबार बिहानसम्म प्रदेश एसोसिएटबाट विकास कार्की र कृति भट्टराई केन्द्रीय कार्यसमितिमा विजयी भएका छन् । अध्यक्षमा बैकुण्ठ पराजुली बुधबार नै विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस